वर्तमान अप्रिय नबनोस - JamarkoOnline

वर्तमान अप्रिय नबनोस

यतिबेला सरकार र सरकारको नेतृत्व गर्दैगरेको दल बदनाम र असफल हुनु सिङ्गो लोकतन्त्र असफल हुनु हो र गणतन्त्र र सङ्घीयता बदनाम हुनु हो। लोकतन्त्र,गणतन्त्र र सङ्घींयता बदनाम र विफल हुनु राष्ट्रियता, स्वाभिमान र सार्वभौमिकता कमजोर हुनु हो। संयमित र दुरदर्शीताले मात्र एकतालाई बलियो बनाउन सकिन्छ। तपाईं दुई चार जना नेतृत्वका कारण लाजले ईतिहास नझुकोस। वर्तमान अप्रिय नबनोस

तारा पराजुली

‘अब त मन्चमा उक्लिएर चुनावी गीत गाउन पनि गलै अवरुद्ध होला जस्तो लाग्छ, शब्दै लर्बराउँछन जस्तो लाग्छ, ट्युनिङ छुट्ला जस्तो लाग्छ। कति धेरै सोचियो। आखिर गलत सावित होला भन्ने डर बढ्न थालेको छ।’ केही दिनअघि मेरो कार्यकक्षमा आइपुगेका चर्चित गायक तुलसी पराजुलीले एक प्रसङ्गमा यसो भनिरहँदा उनको दुखाइले खुब हिर्कायो मलाई। नेपालको वर्तमान राष्ट्रिय राजनीतिको बाछिटाले निथ्रुक्क भिजेर यो चिसो चिन्ता जाहेर गरेका हुन गायकले पक्कै पनि। जनताले आशा गरेको सर्वाधिक जवाफदेही र जिम्मेवारी वहन गर्ला भनेर दुईतिहाइको नजिक सम्मानित मत र अधिक प्रेमले हुर्किएको शक्तिशाली दल ढलमल हुँदा शुभेच्छुकहरुको मुटुको बेग बढ्नु, शंकाको आयतन बेस्सरी फैलिनु, विश्वासको घेरा खुम्चिनु स्वभाविक हो भन्ने लागेर चुपचाप सुनिरहें मात्र। तर मैले पनि निकै ठूलो हिम्मत बटुल्नु परेको थियो। चुपचाप यी वाक्यांशहरु सुनिरहनलाई।

अङ्ग्रेज दार्शनिक जोनलकले कुनै प्रसङ्गमा भनेका छन : नयाँ विचारहरुलाई सदैव शंकाले हेरिन्छ र विरोध गरिन्छ, यसको लागि कुनै कारण चाहिदैन किनकि नयाँ विचारहरु सबैका साझा हुदैनन।अहिले नेकपाभित्र देखिएको अमिल्दो तस्वीर उक्त विचारसँग मेल खाने तस्वीर हो। देशका प्रधानमन्त्री राष्ट्र निर्माणमा थुप्रै नवीन भिजनहरु लिएर उदाएका छन्। काम गर्ने सहज वातावरणको अभावले परिवर्तनको अभियान र समृद्धिको सपना अल्झनमा परिरहन्छन घरीघरी। वास्तवमा एकाध अध्ययन, अनुभव र अवलोकनको कसीभित्र निर्वाद उदाएका यस्ता विचारहरु व्यवहारतः लागू गर्न सके युग उजाल्ने रणनीतिका रुपमा विकास गर्न सकिन्छ। तर हाम्रो सोच उति फराकिलो हुन अझ हामी अग्रगामी हुन बाँकी रहेछ भन्ने तथ्यहरु घटनाक्रमहरुले पुष्टि गरिसकेका छन।

के एकताको निर्णय कमजोर थियो त ?

नेकपाका दुई साहसी पाइलट भनिएका दुई अध्यक्षबीच पछिल्लो समय लिखितरुपमै आरोप प्रत्यारोप र सवाल जवाफ पेश भएपछि पार्टीभित्रको आन्तरिक कलह सतहबाहिरसम्म फैलिएको छ।आपसी मतभेद संघर्ष र तिक्तता उच्च उत्कर्षमा छ। पार्टीमा विकसित पछिल्लो राजनैतिक परिदृश्यले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच विवाद कसिलो धुव्रीकरण देखिएको छ। समाजवाद निर्माणको अभियानको पुर्वार्धमा अहिले देशको राजनीतिक क्षेत्रमा निकै ठूलो परिवर्तन भएको छ। संगै समाजको आधारभूत स्थितिमा परिवर्तन अपरिहार्य छ। यस्तो धरातलमा पार्टीले सर्वोपरि मात्रात्मक विकासको साथसाथै गुणात्मक परिवर्तनको क्रान्तिकारी कार्यक्रम निर्धारित गर्नुपर्ने अभिभारा छ। यी कार्यक्रमले मात्रै देशको वस्तुगत स्थिति र प्रगतिशील परिवर्तनको तस्वीर प्रतिविम्बित गर्नुपर्छ र गर्छन।

पछिल्लो अन्तर्संघर्ष पेचिलो बन्दै गएको प्रस्ट संकेत देखिन थालेका छन। अध्यक्षद्वयले आफू निकट नेता कार्यकर्तासँगको भेटमा पार्टी एकता गम्भीर अवस्थामा रहेको बताउन थालेका छन। पार्टीको महत्वपूर्ण भूमिकामा रहेका नेता कार्यकर्ताहरुको जोडदार माग छ, पार्टी एकता दुर्दशा थिएन ताकी, यति चाँडै दुर्घटना गराइहाल्ने कमजोर निर्णय होइन। सारा देशवासीले नेकपाको सरकार अझै पचासौँ बर्ष टिकोस भन्ने अपेक्षाले नै दुई तिहाइको नजिक मत दिएका हुन्।

प्रश्नहरुको घेराभित्र नेकपा

नेकपा विवादको हालको चुरो कुरा पनि यति मात्र हो कि, विधिको शाषन, विधानको सर्वोच्चता र आन्तरिक समन्वय कायम नहुँदा इतिहासमै शानसहितको जनमत प्राप्त गरेको सबैभन्दा ठूलो र शक्तिशाली बहुमतको निकै अग्लो विरासत नजिक नेतृत्व गरेको पार्टी घरीघरी पहिरो मास्तिरको हरियो पिपल जस्तो बनाइंदै छ किन त ? कतिपय विश्लेषक शुभचिन्तकहरुको ठम्याइ छ, पार्टी एकता नै गलत थियो।आम मतदाता शुभचिन्तकहरुको साझा चिन्ता छ, हाम्रो अभिमत गलत ब्याख्या नहोस। कोरोना भाइरसले नागरिक त्रसित छन । मुलुकको अर्थतन्त्र धराशायी बनेको बेला आर्थिक समृद्धिका बाटोहरु खोजिनु पर्ने बेला कोरोना महामारीका कारण हजारौं युवाहरु वैदेशिक रोजगारीबाट फर्केर रोजीरोटीको अभाव बोकेर भौतारिरहनुपरेको छ। उनीहरुलाई देशभित्रै रोजगारी सिर्जना गर्न औद्योग कलकारखानाहरु निर्माण गर्न विलम्ब भइसकेको छ।

नागरिकहरुलाई स्वस्थ जीवन यापनका दीर्घकालीन उपायहरु खोजिनुपर्ने समय, कृषकहरुलाई बीउमलको चिन्ताबाट मुक्त बनाउने विधि खोज्ने समय, हत्या, हिंसा बलात्कार, अनियमितता, भ्रष्टाचार निर्मूल गरी सरकारले अघि सारेका समृद्ध नेपाल, सुखी नेपालीको मुल मर्म पूरा गर्न कम्मर कसेर लाग्ने बेला पदीय लालचले ओतप्रोत भइ सरकारविरुद्ध लाग्नु सुन्दै अचम्म लाग्ने काम भइरहँदा आमरूपमा प्रश्न उठ्नु अनौठो कुरा होइन। अझ धेरै प्रश्न र खवरदारी हुनु आवश्यक छ। सरकारलाई स्वतस्फूर्त काम गर्ने वातावरण बने अझ पनि काम गर्ने समय छ।

सरकार जनमुखी काम गरिरहेको छ तर पार्टीभित्रैबाट असफल बनाउने प्रयत्न किन ?

वर्तमान सरकार जनमुखी काम गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले गरेका युगान्तकारी परिवर्तनहरु देशकै गौरव हुन, सँगै पार्टीको लागि भोलि जनताको घर आँगन पुग्नको लागि तागत र शक्ति पनि त हुन्। यो पार्टी संगठनकै गरिमा होइन र ? छोटो समयमै प्रधानमन्त्री ओलीको नेतृत्वमा गठन भएका तीन तहका सरकारले गरेका थुप्रै जनमुखी जन उत्तरदायी कामहरुको सम्मान गर्दै सरकारलाई थप प्रगतिशील र सिर्जनशील बनाउन पार्टीले सहयोग गर्नुपर्छ। राष्ट्रियता, राष्ट्रिय अखण्डता र स्वाभिमानका लागि नझुक्ने साहसीपन, पछिल्लो समय सिमानामा राखिएको बिओपीले प्रधानमन्त्री ओलीको मात्र होइन, सिङ्गो देशको बहादुरीको प्रमाणपत्र प्रस्तुत गरिरहेको छ। भारतद्वारा अतिक्रमित भुमि हाम्रो हो भनेर यो सरकारले प्रष्ट नक्सा नै सार्वजनिक गर्ने काम गरेको छ। यस कार्यले देशको अनि पार्टीको उचाईलाई माथि उठाएको छ।

चिनियाँ राष्ट्रपतिको गरिमामय नेपाल भ्रमण, नेपालको पुनःनिर्माणमा उत्साहजनक फड्को, जनताको आवश्यकतालाई मध्यनजर गर्दै पेट्रोलियम पाइपलाइनको सुरुवात, इतिहासमै पहिलो पटक रेलमार्ग, अफ्ट्यारोमा परेका नागरिकहरुका लागि सामाजिक सुरक्षा कार्यक्रम, पृथकतावादी राजनीति निस्तेज, छिमेकी रास्ट्रसँग सन्तुलनको निरन्तर प्रयासः नेपाली भूमि रक्षार्थ कतै कठोर कतै साहसिक आवाज बोल्ने,आर्थिक, सामाजिक, सांस्कृतिक आदि क्षेत्रहरूको विकास प्रसंशायोग्य कार्यहरु हुन। यति हुँदाहुँदै पनि बारम्बार उल्झन सिर्जना भइरहे। यहाँनेर मुख्य समस्या विचार शुन्यता, कमजोर चेतना र व्यवहार हो। त्यसमाथि एकल उपयोगितावाद र पदीय हस्तक्षेप थप चुनौती बनिरहँदा विकास र समृद्धिका अभियान विमर्शको सेकेन्डरी पोजिशनमा पारिनु कतिसम्मको मुर्खता हो ? यो गुटगत मनोबिज्ञान, अहमको चिन्तन र अभ्यास खास समस्या हो भन्दा अन्यथा नहोला। त्यसैले विश्लेषण निष्पक्ष र वस्तुनिष्ठ गरेर समस्या समाधान गर्न सकारात्मक आलोचना र रचनात्मक सहयोग आवश्यक भएको छ।

एउटै जहाजमा सवार यात्रुहरु आफैँले जहाज हल्लाएर दुर्घटना निम्त्याइरहँदा एकपटक त सोच्नुपर्ने हो आफू कति सुरक्षित छु भनेर। यात्रामा आपसी संवेनशीलता र साझा गन्तव्यबारे विमर्श गर्नुपर्ने हो। नाविकले सुरक्षित हाँकिरहेको जहाज अफ्ट्यारोमा पारेर कसरी सहज होला यात्रा ? आम कार्यकर्ताको संघर्ष र त्यागले एउटा उचाईमा पुगेको पार्टीलाई एकताको मालाभित्र उनेर थप अग्रगामी यात्रा तय गर्न अबेर भइसकेको छ। पार्टी एकताको उद्देश्य, मर्म र भावनालाई जबर्जस्त कुल्चिएर कहिँ पुगिंदैन भनेर बुझ्न ढिलाइ गर्नुहुन्न। वृहत् ऎतिहासिक महत्व बोकेको एकता महाधिवेशनमा सामेल हुनै नपाई हिजोको दुरगामी सहमति नाघेर आफू विजयी अरुलाई पराजित गर्ने खेल एकताको भावना विरुद्धको कुरुप खेल सावित हुनेछ। यसकारण पनि आपसी विमतिहरु विवाद र तिक्तताहरु भुलेर एकताको लागि लामबद्ध हुन आवश्यक छ। अविराम पार्टीलाई काँधमा बोकेर हिंड्ने कार्यकर्ता र शुभचिन्तकहरुको एकमात्र चाहना एकतावद्ध, गतिशील र अनुशासित पार्टी निर्माण हो। यदि कसैका कारण पार्टी फुट्नुमात्र होइन, चोइटियो मात्र भने पनि आम कार्यकर्ता पङ्क्तिमा राजनैतिक वेचयन र विचलन समेत उत्पन्न हुनेछ।

बिचलित मनोविज्ञानले भोलिको पार्टी संरचना र आकार कस्तो होला ?

आमरुपमा केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा ‘थुप्रै सम्भावनाका द्वारहरु निर्माण गरेको छ।चुनौती नै चुनौती बीच पनि परिवर्तनका रुपहरु देखिन थालेका छन। विश्वस्तरीय प्रतिवेदनहरुले पछिल्ला वर्षहरुमा नेपालले आर्थिक र सामाजिक विकासको क्षेत्रमा उल्लेख्य सुधार र प्रगति गरेका तथ्यहरु देखाएका छन्। सन् २०१९ र २०२० मा संयुक्त राष्ट्र संघ, विश्व वैंक लगायतका अन्तराष्ट्रिय संस्था र सम्बन्धित निकायहरुले सार्वजनिक गरेका प्रतिवेदनहरुले नेपालले आर्थिक सामाजिक विकासको क्षेत्रमा क्रमश सुधार गरिरहेको दस्तावेज र तथ्यहरु बाहिर ल्याएका छन्। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को गहकिलो भार बोकेर पनि सरकार जिम्मेवारीबाट एक कदम पछि परेको छैन। वातावरण सहज भए नागरिकले देख्ने र अनुभुत गर्ने गरी अझ व्यापक रुपमा विकासको शृङ्खला देखिन सक्थ्यो।तर भइरहेका थुप्रै कामहरुको पनि सकारात्मक सन्देश प्रवाह हुन नसक्दा सरकारले गरेका धेरै राम्रा कामहरु नकामको गर्तभित्र हराइरहेका छन।

जिउंदो विगत फर्केर हेरौँ

लामो बाटो फर्कनुपर्दैन। विगत ३० बर्ष सर्सर्ती फर्केर हेरौँ। अहिले सरकारलाई छिर्के लगाउँने जिम्मेवार सहकर्मीहरु भित्रै पनि कसैले ३० बर्ष कसैले १५र२० बीसौं बर्ष एकछत्र कतै पार्टी प्रमुख कतै सरकार प्रमुखको अभ्यास गरिसक्नुभएको छ। यी महत्त्वपूर्ण समयमा आफ्नो अगुवाइमा केकति काम भए आफैँलाई प्रश्न सोधेर उत्तर खोजे पुगिहाल्छ।

कार्यसम्पादन र आत्ममूल्याङ्कनको समीक्षा आवश्यक

हाल पार्टीमा कार्यकारी दायित्व बोकेका अध्यक्षले पूर्णरुपमा पार्टी संगठन क्रियाशील बनाइरहने काममा चुक्नुहुन्न।सँगसँगै सरकार संचालनमा सहयोग पुर्याउन कन्जुस्याइँ गर्नुहुन्न। पार्टीमा पहिलो पोजिशनमा रहेका अध्यक्ष एवम् सरकार हाँकिरहेका प्रधानमन्त्रीलाई असफल बनाउँदा पार्टी सफल र पूर्ण रहिरहन्छ भन्ने हठ नै बालहठ हो। आफूलाई आफैले मुल्यांकनको कसिमा राखेर हेर्न मिल्दैन र ? ठूलो दलको सारथि भएका कारण जिम्मेवारी र अवसरहरु समानुपातिक हुनुपर्छ, कहिलेकाही सत्तामा नबस्दा पनि विचलित भइहाल्नुहुन्न भन्ने राजनैतिक संस्कार दिने हाम्रो स्कुलिङ कहाँनेर फेल भयो ? यतिबेला नागरिकहरुमा लोकतन्त्र, गणतन्त्र ,सङघीयताप्रतिको नकारात्मक मनोवैज्ञानिक हटाउन सकिएन भने समृद्धिको यात्रा अधुरो हुन जान्छ। यति बुझ्दाबुझ्दै पनि बेमौसमी शैलीमा निरन्तर सत्तामा पुग्ने लडाइमात्र लडिरहँदा भोलि जनताको घरआंगन पुग्ने एजेन्डा के हुने ? सधैँ सबैतिर मैमात्र छाइरहुँ भन्ने तानाबुना बुनेर पार्टीमा गुटबन्दीलाई प्रश्रय दिइरहने अनि अर्को पक्षलाई किनारा लगाइरहने प्रवृत्ति लोकतन्त्रको मर्म विपरीत हुन हुनजान्छ।

यतिबेला स्थायी कमिटीको बैठकले कार्यकारी अध्यक्षलाई ऐतिहासिक महाधिवेशन सम्पन्न गर्न महत्त्वपूर्ण जिम्मा दिएको छ। यही ठाउँमा उभिएर भन्ने हो भने चैत महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने महाधिवेशनका लागि थुप्रै तयारीहरु भइसक्नुपर्ने हो। तर कार्यकारी अध्यक्षबाट न संगठन निर्माणको कुनै अभियानको थालनी भएको जानकारी छ न त असक्तता नै पेश गरिएको छ। यता पार्टी काम गर्ने क्यापेवल कार्यकर्ताहरु जिम्मेवारीबिहीन छन। यसबाट आम कार्यकर्ताले के बुझ्ने ?

अबको विकल्प

संसारमा फुटको ईतिहास कहिँ सफल देखिन्नं। हिजोका दिनमा सरकार र पार्टी सञ्चालनमा जताततै टुटफुट र गुटैगुटको दुस्साहसका कारण स्पष्ट बहुमत ल्याई कुनै समय देशकै सर्वाधिक ठूलो दल मानिएको दल आज प्रमुख प्रतिपक्षीको भुमिकामा चित्त बुझाएर बस्नुपरेको दृश्य हेर्न पर पुग्नुपर्दैन। यी अभ्यासहरु पनि शिक्षा हुन सक्छन। लाखौंलाख कार्यकर्ता, शुभेच्छुक शुभचिन्तकहरुको रगत पसिना र त्यागको आर्जन हो अहिलेको नेकपा। त्यसकारण समृद्धिको सपना बोकेको प्यारो पार्टीलाई आफू अनुकूल नहुने बित्तिकै फुटको छुट कोही कसैलाई छैन। इतिहासमा हामीले थुप्रै फुटका शृङ्खलाहरु हेरेका छौँ। फुटको परिणाम दुनियाँमा सफल भएको न इतिहास छ न वर्तमान न भविष्य नै हुनेछ। एकताको सुन्दर माला चुटाइ टुक्राटुक्रा पार्ने अधिकारीका रूपमा कसैले आफूलाई उभ्याउनु मुर्खता मात्र होईन समाप्ति पनि हो। वैचारिक एकता, निष्ठागत सिद्धान्त,बलियो संगठन जनचाहना र जनभावना सुहाउँदो परिवर्तन र समृद्धि अहिलेको माग र आवश्यकता हो। पछिल्लो समय प्रस्तावका रूपमा आएका दुई अध्यक्षहरुका प्रस्तावले सकारात्मक नकारात्मक दुबै चर्चा बटुलेको छ।प्रस्ताव र दस्तावेजहरु सार्वजनिक महत्वका विषयवस्तुहरु हुन। यस्ता दस्तावेज घनिभूत छलफल बहसबाट आउनुपर्ने हो।

व्यक्तिगत कुण्ठा र मनोग्रन्थीभन्दा माथि उठेर आएका दस्तावेजहरु मात्र संगठनको हितमा हुन्छन। जसको अध्ययन आठलाख भन्दा बढी पार्टी सदस्यहरुले मात्र गर्दैनन् आम नागरिकका पठन सामग्री पनि हुन। तसर्थ आम नागरिकको स्तरलाई ख्याल गरी प्रस्ताव आउँदा यसको महत्त्व पृथक र वजनदार हुन्छ। आम कार्यकर्ताको अपेक्षा यो छ कि,आउने दिनमा कार्यकारी अध्यक्षको प्रस्तावमा पार्टीको संरचनात्मक स्वरुप,सांगठनिक तस्वीर र संगठन निर्माणका निम्ति गरिएका प्रयत्न, परिणाम र चुनौतीसहितको फेहरिस्त आओस। निर्वाचनताका जनतासँग गरिएका प्रतिबद्धता र सर्वाङ्गीण महत्व बोकेका केकति विकास र परिवर्तनका योजना कार्यनयन सरकारले गर्यो, पार्टी र सरकारवीचको समन्वय सहकार्य कस्तो रह्यो र रहनुपर्छ ? चुनौतीसहितका फेहरिस्त पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीवाट आउन। निरन्तर सकारात्मक संवाद लचकता र जनताप्रतिको उत्तरदायी चिन्तन,लगाव र सक्रियताबाट मात्र विकास र परिवर्तन सम्भव छ। मुलुकको समृद्धिको यो ऐतिहासिक जिम्मेवारी छाडेर बीचैमा भाग्ने छुट कसैलाई छैन।

यतिबेला सरकार र सरकारको नेतृत्व गर्दैगरेको दल बदनाम र असफल हुनु सिङ्गो लोकतन्त्र असफल हुनु हो र गणतन्त्र र सङ्घीयता बदनाम हुनु हो। लोकतन्त्र,गणतन्त्र र सङ्घींयता बदनाम र विफल हुनु राष्ट्रियता, स्वाभिमान र सार्वभौमिकता कमजोर हुनु हो। संयमित र दुरदर्शीताले मात्र एकतालाई बलियो बनाउन सकिन्छ। तपाईं दुई चार जना नेतृत्वका कारण लाजले ईतिहास नझुकोस। वर्तमान अप्रिय नबनोस। अझै एउटा आशाको उज्यालो बाँचिरहेको छ।

(लेखक पराजुली बेलबारी नगरपालिका मोरङकी उपमेयर हुनुहुन्छ।)

साभार ः जनता टाइम्स

सम्बन्धित खवर