पथरीशनिश्चरेमा कोरोना बढ्दो, उपप्रमुख सहित ३८ मा संक्रमण - JamarkoOnline

पथरीशनिश्चरेमा कोरोना बढ्दो, उपप्रमुख सहित ३८ मा संक्रमण

पथरीशनिश्चरे, ७ कार्तिक..
मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख सहित नगरका जनप्रतिनिधि, नगर कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकार सहित पछिल्लो पटक ३८ जनामा कोरोना भाइरस देखिएको छ ।
कोशी अस्पताल विराटनगरमा ७ दिन अघि पठाइएको स्वाबको आज आएको रिपोर्टमा पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, नगर प्रहरी र पत्रकार सहित समुदायका ३८ जनामा कोरोना पोजेटिभ देखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । पछिल्लो पटक १ सय १५ जनाको स्वाबको नमूनामध्ये ३८ जनामा पोजेटिभ देखिएको हो । सोही बेला पठाएको स्वाबको प्रदेश प्रयोगशालामा गरिएको ५० जनाको परीक्षणमा जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मी सहित ९ जनामा पोजेटिभ देखिएको रिपोर्ट यसअघि नै आएको थियो ।
आजको रिपोर्टमा वडा नम्वर १ मा १४ पुरुष र ४ महिला, २ मा ३ पुरुष, ३ मा १ महिला १ पुरुष, ४ मा ४ पुरुष, ५ मा १ महिला, ७ मा १ महिला एक पुरुष, ९ मा ३ महिला १ पुरुष र १० मा २ पुरुष र १ महिलामा संक्रमण देखिएको हो । जसमा कानेपोखरी ठेगाना लेखाएका एक पुरुषमा पनि कोरोना देखिएको छ ।
जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मी सहितमा कोरोना देखिएपछि असोज ३० देखि नगरपालिका, वडा कार्यालय तथा नगर अस्पताल, शनिश्चरे स्वास्थ्य चौकी र १ नम्वर वडाको आधारभूत स्वास्थ्य केन्द्रको सेवा समेत बन्दकै अवस्थामा रहँदा दशैं विदा सुरु भएको छ ।
नगरमा कोरोना संक्रमण दिनदिनै बढेपछि नगर प्रमुख दिलीपकुमार राईले दशैंतिहार, छैट लगायतका चाडपर्वका बेला झनै बढी स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा अनुरोध गरेका छन् । कोरोनाको बढ्दो संक्रमणका कारण भीडभाड नगरी परम्परा धान्ने हिसावले मात्र चाडपर्व मनाउनु पर्ने वाध्यता रहेको सुझाएका छन् । अत्यन्तै स्वास्थ्य सावधानी अपनाएर आफुपनि बच्न र अरुलाई पनि बचाउन उनको आग्रह छ । दशैंको विदाको समयमा कोरोना जाँचको अवस्था समेत असहज हुने हुँदा भौतिक दूरी कायम गर्दै अनिवार्य रुपमा मास्क लगाउने, साबुनपानीले हात धुने र सेनिटाइजर लगाएर स्वास्थ्य सतर्कता अपनाउन थप आग्रह गरेका छन् ।
नगरले स्वाब संकलन गरी गरिएको परीक्षणमा १ सय बढीमा कोरोना देखिएको छ भनें व्यक्तिगत हिसाबले नीजि अस्पतालमा गएर परीक्षण गर्नेहरुमा पनि २ दर्जनको संख्यामा कोरोना पुष्टि भएको छ ।
कोरोनाकै कारण वडा नम्वर १ का अस्पताल सञ्चालक रामकाजी थापाको निधन भएको छ ।
पथरी बहुमुखी क्याम्पसका प्रमुख चेतन पौडेल, पथरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पर्शुराम कार्की, पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, लायन्स क्लब अफ पथरीका अध्यक्ष रोशन बुढाथोकी, राष्ट्यि युवा संघका केन्द्रीय सदस्य विजय डाँगी, इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीपकुमार गिरी सहितलाई कोरोना संक्रमण भएको छ । त्यस्तै, पथरी नगर अस्पतालका दुवैजना डाक्टर सहितका स्वास्थ्यकर्मी समेत संक्रमित हुन पुगेका छन् ।

सम्बन्धित खवर