मुक्ति दहाल मुत्यु प्रकरण ः सहमति तत्काल कार्यान्वयन गर्न नेकपाको माग - JamarkoOnline

मुक्ति दहाल मुत्यु प्रकरण ः सहमति तत्काल कार्यान्वयन गर्न नेकपाको माग

उर्लाबारी, २५ असोज
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उर्लाबारी नगर कमिटीले उर्लाबारी – ५ का मुक्तिनाथ दाहालको आत्महत्या घटनाको विषयमा असोज २० गते भएको सहमतिलाई तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।
नगर कमिटी अध्यक्ष उमाकान्त गौतम र सचिव तोर्ण श्रेष्ठद्वारा आज हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानविनको माग समेत गर्दै प्रतिष्ठान र पीडित परिवारबीच भएको सहमति कार्यान्वयन गर्न जोड दिइएको छ ।
मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले झापाको दमक नगरपालिका – ४ ताराबारीमा संचालन गरेको बहुप्राविधिक शिक्षालयमा कार्यरत लेखा तथा प्रशासन अधिकृत, एवम् नेकपा उर्लाबारी नगर कमिटी सदस्य दाहालले गत असोज १९ गते शिक्षालयको कक्षाकोठाभित्रै आत्महत्या गरेका थिए ।
पार्टीको वडा नं. ५ का इन्चार्ज समेत रहेका दाहालले गरेको आत्महत्याका विषयमा असोज २० गते पार्टीका केन्द्रीय तथा जिल्ला नेता प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालसहित पदाधिकारी, स्थानीय सरकार, प्रदेश सरकारका प्रतिनिधि, नागरिक समाजका साथै पिडीत परिवार समेत बसेर गरिएको सहमतीलाई तत्काल कार्यान्वयन गर्न नेकपा उर्लाबारीले माग गरेको हो ।
छानविन समिति..

दाहालको गत असोज १९ गते शिक्षालयभित्रै झुण्डिएर देहत्याग भएको विषयमा छानविन गर्न निबर्तमान राष्ट्रिय सभा सदस्य हरिचरण शिवाकोटीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको हो । समितिको सदस्यमा उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीसहित सुमित्रा भण्डारी, नारायण वस्ती, खोमप्रसाद बगाले, सोम निरौला र भोला दाहाल रहनुभएको छ । भिडियो जुममार्फत भएको बैठकपछि गठित सो समितिले १५ दिनभित्र छानबिन कार्य सम्पन्न गरी प्रतिवेदन कार्यसमितिमा पेश गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानको कार्यसमितिले बैठकले घटनाको सत्यतथ्य कारण पत्ता लगाउन समिति निर्माण गर्दै घटनाको छानबिन पक्रिया पुरा नभएसम्मका लागि कार्यकारी निर्देशक विनोद अर्याललाई कार्यालयको कामकारबाही नगर्न निर्देशन दिएको प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । बैठकले दाहालको देहत्यागको वास्तविक सत्यतथ्य पत्ता लगाउन र उनको परिवारलाई न्याय दिलाउन प्रहरी प्रशासनलाई सहयोग गर्न प्रतिष्ठान कार्यसमिति र प्रतिष्ठान परिवार प्रतिबद्धताका साथ लाग्ने निर्णय भएको छ ।
साथै बैठकले मृतक दाहालकी श्रीमती शान्ता अधिकारी दाहाललाई प्रतिष्ठानको सेवामा स्थायीत्व गर्न तथा छोराहरु इशान र श्रेयन दाहालको स्नातकोत्तर तहसम्मको अध्ययनलाई निरन्तरता दिन प्रतिष्ठानले अभिभावकत्व ग्रहण गर्ने निर्णय समेत गरेको छ ।
प्रतिष्ठानको स्थापनाकालदेखि कार्यरत इमान्दार, मेहनती तथा सृजनशील व्यक्तित्वका रुपमा परिचित ४८ वर्षीय दहालको निधन कार्यकारी निर्देशक अर्यालको अनाहकको दवावपूर्ण व्यवहारले भएको जिकिर गर्दै परिवार, छरछिमेकी तथा विद्यार्थीहरुले कडा रुपमा प्रश्न उठाएपछि छानविन समिति बनेको हो ।

सम्बन्धित खवर