कोरोनाले भोलीबाट नगरपालिका, शिक्षण संस्था समेत बन्द - JamarkoOnline

कोरोनाले भोलीबाट नगरपालिका, शिक्षण संस्था समेत बन्द

पथरीशनिश्चरे, १७ असोज…
मोरङको पथरी नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा समेत गरी समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएपछि तत्कालका लागि नगरपालिका कार्यालय र त्यसका मातहतका कार्यालय बन्द हुने भएका छन् ।
नगर कार्यपालिका र कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको आजको संयुक्त बैठकले भोलीबाट नगरपालिका र वडा कार्यालयका अतिआवश्यकीय काम बाहेक सम्पूर्ण प्रशासनिक सेवा अर्काे सूचना नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।
पछिल्लो पटक नगरका एक जनप्रतिनिधि, एक कर्मचारी र नगर अस्पतालका दुई स्वास्थ्यकर्मी सहितमा कोरोना देखिएको र उनीहरु तथा उनीहरुसँग सम्पर्क हुनेहरुको भोली कोरोना स्वाब संकलन गरी त्यसको पीसीआर रिपोर्टको अवस्था अनुरुप कार्यालय सञ्चालन सम्बन्धी निर्णय हुने उनले बताए । जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मी, सहित समुदायस्तरका समेत गरी ९ जनामा कोरोना देखिएको छ । त्यसरी कोरोना संक्रमण बढेपछि भोलीदेखि नगरपालिका कार्यालय, त्यस मातहतका विषगत कार्यालय, वडा कार्यालयहरु तत्कालका लागि बन्द रहने छन् । नगर अस्पताल र त्यस मातहतका स्वास्थ्य निकायमा समेत दैनिक नियमित औषधि खाने विरामीका लागि औषधि वितरणको व्यवस्थापन मिलाउँदै जाँच तथा उपचार सेवा बन्द गरिने निर्णय भएको छ ।
यसका साथै शैक्षिक संस्थाहरुको भर्ना वा अभिलेखिकरण कार्य स्वास्थ्य सतर्कता अपनाएर सञ्चालन गर्ने र त्यो बाहेक विद्यार्थी सहभागि गराई प्रत्यक्ष पठनपाठनका कुनै पनि गतिविधि नगर्ने पनि निर्णय गरिएको छ । साप्ताहिक हाट बजार पनि अर्काे सूचना नभएसम्मका लागि बन्द गरिने छ । यस प्रकारको निर्णय विपरित कार्य भएमा नगरपालिका र प्रहरी कार्यालयले कारबाही समेत गर्ने निर्णय भएको छ ।
नगर प्रमुख एवम् समन्वय समिति संयोजक दिलीपकुमार राईको अध्यक्षताको सो बैठकले अत्यावश्यक काममा बाहिर निस्कनु पर्दा मास्क, सेनिटाइजरको प्रयोग गरी भौतिक दूरी कायम गरी स्वास्थ्य सतकर्ता अपनाउन समेत नगरवासीमा अनुरोध गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खवर