विद्यालयहरुमा बैकल्पिक शिक्षण सिकाई सुरु - JamarkoOnline

विद्यालयहरुमा बैकल्पिक शिक्षण सिकाई सुरु

..भूपेन्द्रराज तिम्सिना..
पथरीशनिश्चरे, ११ असोज
मोरङको पथरी शनिश्चरे क्षेत्रका विद्यालयहरुले बैकल्पिक विधिबाट शिक्षण सिकाई क्रियाकलाप सुरु गरेका छन् ।
नगरपालिकाले दूर तथा खुला शिक्षा लगायतका बैकल्पिक सिकाई विधि अन्तर्गत ५ प्रकारका विकल्पमध्येबाट सिकाई अघि बढाउन सूचना गरेपछि सिकाइ क्रियाकलाप अघि बढाउन थालिएको छ । जसमा वडा नम्वर १० चौकीडाँडास्थित जालपा सिंहदेवी आधारभूत विद्यालयले विद्यार्थीलाई २ चरणमा विभाजन गरी असार ७ गतेबाट सिकाई सहजिकरण थालेको छ ।
विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठकले स्वास्थ्य सावधानी अपनाएर दैनिक २ चरणमा शिक्षण सिकाई क्रियाकलाप अघि बढाउने निर्णय अनुरुप सिकाई थालिएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले जनाए । नगरको परिपत्र अनुरुप कोरोना भाइरसबाट बच्ने सावधानीका रुपमा विद्यार्थीले मास्क लगाएर साबुनपानीले हात धुने, सेनिटाइजर प्रयोग गरेर कक्षा कोठामा मापदण्ड अनुरुप भौतिक दूरी कायम गरी सिकाई अघि बढाइने उनले उल्लेख गरे ।
कक्षा १ देखि ५ सम्मका लागि विहान साढे ९ देखि साढे १२ बजेसम्म र कक्षा ६, ७ र ८ कक्षाका विद्यार्थीका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म सिकाई अघि बढाएको छ । स्वास्थ्य सावधानी अपनाउन सचेत गराउँदै मास्क लगाएर विद्यार्थी घरबाट पठाउन विद्यालयले अभिभावकहरुसँग अनुरोध गरेको छ । २ सय विद्यार्थी रहेको जालपामा ९ वटा कक्षा भएपनि ६ जनामात्र शिक्षक उपलब्ध रहेको, दरवन्दी मिलानको सुविधामा नपरेको र नगरबाट प्राप्त अनुदान समेत रोकिएकाले विद्यालय सञ्चालनमै समस्या भइरहेको विद्यालयले जनाएको छ ।
कोरोना कहरका कारण ६ महिनासम्म पठनपाठन हुन नसकेपछि शिक्षा मन्त्रालयले निर्देशिका तयार गरी पठनपाठनका केही विषयवस्तु र पाठहरु कटौती गरेर ५ वटा बैकल्पिक विधिमध्येबाट सिकाई अघि बढाउन परिपत्र गरेको छ ।
यसैबीच, नगरका अन्य अधिकांश विद्यालयहरुले पनि बैठक राखेर आफुहरुलाई उपयुक्त बैकल्पिक विधि अपनाएर सिकाई थाल्ने क्रम आजबाट सुरु गरेका छन् । वडा नम्वर ९ को सिंहवाहिनी माविले आइतबारबाट स्वास्थ्य सतर्कता अपनाउँदै सिकाई गर्ने निर्णय गरेको छ । कक्षा १, ३, ५, ७ र ९ लाई आइतबार, मंगलबार, बिहिबार र कक्षा २, ४, ६, ८ र १० लाई सोमबार, बुधबार, शुक्रबार आवश्यक स्वास्थ्य सतर्कता अपनाएर विहान १० बजेबाट नै सिकाई अघि बढाइने निर्णय भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंक भण्डारीले जनाए ।
वडा नम्वर १ को पञ्चायत माविले असोज ४ बाट भर्नाका रुपमा विद्यार्थी अभिलेखिकरण थालेको छ । कोरोनाका बारेमा संघीय सरकारको परिवर्तिन हुनसक्ने निर्णयलाई पर्खेर सहज परिस्थिती भएमा असोज १५ बाट उपयुक्त बैकल्पिक विधिमा सिकाई थालिने प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बताए ।
वडा नम्वर ९ को मेरि गोल्डले ९ र १० को तथा २ नम्वरको रेडस्टारले पनि सिकाई थालिसकेको छ । बाँकी संस्थागत विद्यालयहरुले पनि स्वास्थ्य सावधानी अपनाए अवको आइतबार बैकल्पिक विधिबाट सिकाई थाल्ने तयारी भइरहेको प्याब्सनका नगर अध्यक्ष उपेन्द्र कँडेलले बताए । उनी प्रिन्सिपल रहेको भूपू सैनिक बोर्डिङले आइतबारबाट २ चरणमा सिकाइ थाल्ने निर्णय भए अनुरुप सिकाई थालेको छ । त्यहाँ कक्षा ६ देखि १० सम्मलाई विहान साढे ६ देखि १० बजेसम्म र अन्य कक्षालाई साढे १० बाट १ बजेसम्म शिक्षण सिकाइ गरिने छ । घरबाट गाडीले विद्यार्थी उठाउँदाकै अवस्थामा ज्वरो मापन गर्ने, अभिभावकले अनिवार्य खानेपानी घरबाटै पठाउनु पर्ने तथा खानेकुरा ल्याउन र विद्यालयमा खान नपाउने नियम राखिएको छ । अन्य संस्थागत तथा सामुदायिक विद्यालयहरुले पनि क्रमशः सिकाई अघि बढाउने योजना गरिरहेका छन् । बढी जोखिम हुने भएर विद्यालयहरुले बालतहका कक्षाहरु भनें हाल सञ्चालन नगर्ने भएका छन् ।
नगरको पथरी क्याम्पसमा क्वारेन्टिन रहेकाले सो क्याम्पसको सिकाई अघि बढाउने विषयमा हाल कुनै योजना नबनेको क्याम्पस प्रमुख चेतन पौडेलले बताए ।
नगरको शिक्षा शाखाले ‘बैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाई सहजिकरण निर्देशिका २०७७’ अनुसार आफ्नो परिवेश अनुकुल सिक्ने वातावरण सृजना गरी दूर तथा खुला शिक्षा लगायतका बैकल्पिक सिकाई विधि अघि बढाउन उपयुक्त हुने राय नगरमा पेश गरेको थियो । सामुदायिक र संस्थागत विद्यालयका प्रतिनिधिहरुसँगको सो बैठकमा नगर शिक्षा समितिले निर्धारण गरेका स्वास्थ्यका न्यूनतम मापदण्ड पुरा गर्ने गरी विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, समाजसेवीहरुको सहभागितामा छलफल गराई शिक्षणका कार्ययोजना तय गर्ने निर्णय भएको थियो । जसअनुरुप, विहान र दिउँसो गरी २ चरणको सिकाई, जोर विजोर दिनमा जोर विजोर कक्षा सिकाई, लगातार २,३ दिन सिकाई केन्द्रबाट सिकाई र उत्तिनै दिन गृहकार्य दिने, अनलाईन सिकाई सहजिकरण र भौतिक दूरी कायम गरी समूहगत रुपमा प्रत्यक्ष सिकाई जस्ता उपयुक्त विधि अपनाउन सकिने उल्लेख भएको छ । उल्लेखित विकल्पहरुमध्येबाट सिकाई सहजिकरण गर्ने तथा सोको अनुगमन् तथा सुपरिवेक्षण नगरपालिकाबाट हुने गरी आवश्यक निर्णयका लागि नगर शिक्षा समिति समक्ष निर्णय पेश भएको थियो ।

सम्बन्धित खवर