कोरोना कहर ः कृषिमा असर - JamarkoOnline

कोरोना कहर ः कृषिमा असर

 

 

..अल्का ढकाल..

भोलि अनिश्चित छ र यसलाइ किटान गर्न पनि सकिदैन । कसले सोचेकोथ्यो र हामी मानव पिंजडाको चराजस्तै घरभित्र बन्दि भएर बस्नुपर्छ भनेर ? कम्मरमा बाँधेको नाम्लो, थाप्लोमा राख्न नपाएर घाँटीमा बाँध्न बाध्य भएको छ मानिस । गर्भवती महिलाले एक छाक टार्न नसकेर आत्महत्या गरिन् । रोगले भन्दा भोकले आकुलव्याकुल पारेको छ । कोरोनाको महामारीले सबै क्षेत्रलाई असर त पुर्याएको छ नै, यसको असर कृषिमा भने विकराल छ । कृषि मुलश्च जिवन भनेझैं कृषि रहे न हामी पनि रहन्छौँ । कृषिले नेपालको कुलग्राह्यस्थ उत्पादनमा २६.५ प्रतिशत टेवा पुर्याएको छ । विडम्बना कोरोना कहरले कृषि अर्थतन्त्रसंगै देशको अर्थतन्त्रमा पनि ठूलो प्रभाव पारेको छ, जसले गर्दा हजारौं ग्रामीण जनजीवनको दैनिकी कष्टकर भएको छ ।
लकडाउनको सुरुवातसंगै देशका अधिकांश तराई, भित्री मधेस तथा तल्लो पहाडी भेगमा गहुँबाली, मकैबाली, उखुबाली भित्र्याउने समय भएको थियो । कृषि सामाग्री तथा जनशक्तिको अभावले गर्दा किसानहरुले समयमा बाली भित्र्याउन सकेनन्, जस्ले कृषि फसलमा ठूलो अस्थिरता आएको थियोे । महामारीले विशेषतः सामग्रीको बिक्री वितरणमा असर पारेको थियो । ढुवानीको समस्याले वैशाख, जेष्ठको समयमा शहरी तथा ठूला हाटबजारहरुमा कृषि कमिडिटिको (वस्तु )अभाव भएको थियो । धेरै माग र थोरै पूर्तीको कारणले वागवानी कमोडिटिहरुमा ठूलो मूल्य अस्थिरता देखिएको थियो । अर्कोतर्फ हेर्ने हो भनें, ग्रामीण हाटबजारहरुमा ती वस्तुहरुको धेरै आपूर्ति र थोरै माग देखिएको थियोे जसले गर्दा शहरी बजार र ग्रामीण बजारमा वस्तुको मुल्यमा ठूलो अन्तर थियोे । समग्रमा ढुवानी सेवाको अभावसँगै कोरोनाको निहुँमा पैसामुखी दलालले कृषि वस्तुहरुको आपूर्ति श्रृङ्खला मै अधोगति तिर लम्कियो ।
खाद्यान्न बाली साथसाथै अन्य क्षेत्रहरु जस्तैः दुग्ध उन्पादन,मत्स्य पालन, कुखुरा पालन र पशुपालनमा पनि महामारीले असर पुर्याएको छ । दुधको बजार सुनिश्चित नभएको भन्दै कपिलवस्तुका किसानहरुले सडकमा दूध पोखेर बिरोध गरेका थिए । महामारीकै बीच कुखुराको मुल्यमा भारी गिरावट आएपछि कृषकले आफुले लगानी गरेको मुल्य समेत उठाउन सकेनन् । आपूर्ति श्रृङ्गखलामा आएको अवरोधले ठूला किसान भन्दा साना तथा मझौला किसानलाई मर्कामा परेको छ । नाशवान वाग्वानी बाली जस्तैः तरकारी, फलफुल र पुष्प हजारौं मेट्रिकटन नष्ट भएको थियो । मोरङका कृषक शम्भु चौधरीले आफ्नो बगानको केरा अरुबेला बेच्ने मुल्यभन्दा ५० प्रतिशत कम मुल्यमा पनि बेच्न सकेनन् । बर्द्घाट नगरपालिका नवलपरासीका कृषकले पनि सब्जीखेतीबाट ठूलो हानी बेहोर्नु पर्यो । यी त प्रतिनिधिमुलक घटना मात्रै हुन्, यस्ता घटना देशभरी हजारौं छन्, जसले गर्दा कृषि कर्मप्रति ग्रामीण किसानहरुमा नैरश्यता छाएको छ ।
असारको सुरुवातसंगै मनसुन पनि सुरु भयो । मनसुनको सुरुवातसंगै कृषिमा आधारित देशको अर्थतन्त्रले नयाँ मुहार फेर्ने गर्छ । मानो रोपेर मुरी उब्जाउने यस समयमा कृषकका आशाका किरणहरु उदाएका थिए । यसपाली एकरुपताका साथ उचित समयमा पर्याप्त वर्षा हुन पुग्यो । बिडम्बना, बिउबिजन र मलको अभावले किसानहरुले धानबाली तथा तरकारी समयमा लगाउन पाएनन् । अभावले गर्दा भनौं या कालोबजारीले मल र बिउको पहुँचमा भएका किसानहरु पनि चर्को मुल्यमा खरिद गर्न बाध्य भए । जसोतसो गरेर धान त रोप्न तयार भए तर मलको अभाव भयो । भरतपुर महानगरपालिका वडा न .५ नवचन्द्रमा कृषि सहकारी सन्स्थाले मल बाड्ने भनेकाले विहान उज्यालो हुँदासम्म सहकारी अगाडि झन्डै एक हजार भन्दा बढी किसान संक्रमणको बेवास्ता गर्दै मलकालागि उभिएका थिए । यति गर्दा पनि अधिकांस किसानले मल पाएनन् । मोरङतिर पनि त्यस्तै भयो । बल्लतल्ल मल पाएपनि महँगोमा किन्नुपर्यो । थाहा छैन, सरकार पीडक हो कि व्यवस्थापन संयन्त्र पीडक ? तर पीडित चाँही रातदिन छाती चर्काएर हलो जोत्ने ती किसान नै हुन् ।
औद्योगिकरण् विना आर्थिक उन्नति असम्भव छ । कोरोना महामारीले कृषि उद्योगहरुलाई यसरी संकट सृजना गरेको छ । कच्चापदार्थको अभावले वा महँगो कच्चा पदार्थले साना तथा मझौला कृषि उद्योगहरु संकटमा परेका छन् । जस्ले गर्दा देशको कृषि अर्थतन्त्र पछाडी धकेलिएको छ ।
बरु अरु क्षेत्रमा लकडाउन भएर प्रत्यक्ष असर परेपनि, कृषि क्षेत्रलाई तुलात्मक रुपले कम असर पार्यो । अन्ततः कोरोनाले सबैलाई कृषि सामान्य पेशा मात्र होइन, यो त आम मानिसको साससँग जोडिएको नितान्त जिउने आधार हो भन्ने भान गराएको छ । आम मानिसको कृषि कर्म र किसानहरुप्रति हेर्ने दृष्टिकोणमा नै परिवर्तन आएको छ । कोरोनाकै कारणले आम मानिसमा आएको यस् सकारात्मक सोचलाइ निरन्तरता दिदै कृषि क्षेत्रको सम्बर्द्धन र प्रबर्द्धनमा स्थानीयदेखि केन्द्रीययतहसम्मको सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण हुन जरुरी देखिन्छ ।
ः पथरीशनिश्चरे १०, मोरङ

सम्बन्धित खवर