जालपामा भोलीबाट दुई चरणमा शिक्षण सिकाई - JamarkoOnline

जालपामा भोलीबाट दुई चरणमा शिक्षण सिकाई

पथरीशनिश्चरे, ६ असोज..
मोरङको पथरी शनिश्चरे १० चौकीडाँडास्थित जालपा सिंहदेवी आधारभूत विद्यालयले विद्यार्थीलाई २ चरणमा विभाजन गरी सिकाई सहजिकरण गर्ने भएको छ ।
विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको आजको संयुक्त बैठकले भोलीबाट स्वास्थ्य सावधानी अपनाएर दैनिक २ चरणमा शिक्षण सिकाई क्रियाकलाप अघि बढाउने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले जनाए ।
नगरको परिपत्र अनुरुप कोरोना भाइरसबाट बच्ने सावधानीका रुपमा विद्यार्थीले मास्क लगाएर साबुनपानीले हात धुने, सेनिटाइजर प्रयोग गरेर कक्षा कोठामा मापदण्ड अनुरुप भौतिक दूरी कायम गरी सिकाई अघि बढाइने उहाँले उल्लेख गर्नुभयो । कक्षा १ देखि ५ सम्मका लागि विहान साढे ९ देखि साढे १२ बजेसम्म र कक्षा ६, ७ र ८ कक्षाका विद्यार्थीका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म सिकाई अघि बढाइने भएको हो । स्वास्थ्य सावधानी अपनाउन सचेत गराउँदै मास्क लगाएर विद्यार्थी घरबाट पठाउन विद्यालयले अभिभावकहरुसँग अनुरोध गरेको छ ।
२ सय विद्यार्थी रहेको जालपामा ९ वटा कक्षा भएपनि ६ जनामात्र शिक्षक उपलब्ध रहेको, दरवन्दी मिलानको सुविधामा नपरेको र नगरबाट प्राप्त अनुदान समेत रोकिएकाले विद्यालय सञ्चालनमै समस्या भइरहेको विद्यालयले जनाएको छ ।
कोरोना कहरका कारण ६ महिनासम्म पठनपाठन हुन नसकेपछि शिक्षा मन्त्रालयले निर्देशिका तयार गरी पठनपाठनका केही विषयवस्तु र पाठहरु कटौती गरेर ५ वटा बैकल्पिक विधिमध्येबाट सिकाई अघि बढाउन परिपत्र गरेको छ ।
यसैबीच, नगरका अन्य विद्यालयहरुले पनि बैठक राखेर आफुहरुलाई उपयुक्त बैकल्पिक विधि अपनाएर सिकाई थाल्ने भएका छन् । १० नम्वर वडाकै हिरक माविले शुक्रबार विद्यालय व्यवस्थापन समितिको बैठक राख्ने भएको समिति अध्यक्ष जीवन खतिवडाले जनाए ।
नगरको शिक्षा शाखाले ‘बैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाई सहजिकरण निर्देशिका २०७७’ अनुसार आफ्नो परिवेश अनुकुल सिक्ने वातावरण सृजना गरी दूर तथा खुला शिक्षा लगायतका बैकल्पिक सिकाई विधि अघि बढाउन उपयुक्त हुने राय नगरमा पेश गरेको थियो । सामुदायिक र संस्थागत विद्यालयका प्रतिनिधिहरुसँगको सो बैठकमा नगर शिक्षा समितिले निर्धारण गरेका स्वास्थ्यका न्यूनतम मापदण्ड पुरा गर्ने गरी विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, समाजसेवीहरुको सहभागितामा छलफल गराई शिक्षणका कार्ययोजना तय गर्ने निर्णय भएको थियो । जसअनुरुप, विहान र दिउँसो गरी २ चरणको सिकाई, जोर विजोर दिनमा जोर विजोर कक्षा सिकाई, लगातार २,३ दिन सिकाई केन्द्रबाट सिकाई र उत्तिनै दिन गृहकार्य दिने, अनलाईन सिकाई सहजिकरण र भौतिक दूरी कायम गरी समूहगत रुपमा प्रत्यक्ष सिकाई जस्ता उपयुक्त विधि अपनाउन सकिने उल्लेख भएको छ । उल्लेखित विकल्पहरुमध्येबाट सिकाई सहजिकरण गर्ने तथा सोको अनुगमन् तथा सुपरिवेक्षण नगरपालिकाबाट हुने गरी आवश्यक निर्णयका लागि नगर शिक्षा समिति समक्ष निर्णय पेश भएको थियो ।

सम्बन्धित खवर