बैकल्पिक शिक्षण विधिको ५ विकल्पमा छलफल - JamarkoOnline

बैकल्पिक शिक्षण विधिको ५ विकल्पमा छलफल

पथरीशनिश्चरे, १ असोज.
कोरोना भाइरसको जोखिमका कारण बन्द रहेका शैक्षिक संस्थाहरुलाई दूर तथा खुला लगायतका बैकल्पिक शिक्षण विधिबाट सिकाई अघि बढाउने विषयमा मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका शैक्षिक संस्थाहरुबीच छलफल थालिएको छ ।
नगरपालिकाको शिक्षा शाखामार्फत नगरका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, बालविकास केन्द्रका सहयोगी कार्यकर्ता, सामाजिक विकास समितिका पदाधिकारीबीच पहिलो चरणमा छलफल गराइएको छ । जहाँ ५ वटा बैकल्पिक शिक्षण विधिमध्ये आआफ्नो अवस्था अनुकुल छानेर सिकाई गर्ने विषयमा छलफल भएको छ ।
छलफलमा, तत्काल शैक्षिक संस्था खुला सञ्चालन गर्न जोखिम हुने भएकाले सरकारले तय गरेको ‘बैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाई सहजिकरण निर्देशिका २०७७’ अनुसार आफ्नो परिवेश अनुकुल सिक्ने वातावरण सृजना गरी दूर तथा खुला शिक्षा लगायतका बैकल्पिक सिकाई विधि अघि बढाउन उपयुक्त हुने सुझाव आएको छ ।
नगर शिक्षा समितिले निर्धारण गरेका स्वास्थ्यका न्यूनतम मापदण्ड पुरा गर्ने गरी विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, समाजसेवीहरुको सहभागितामा छलफल गराई शिक्षणका कार्ययोजना तय गर्नुपर्ने सुझाव आएको शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्लेले जनाए । छलफलमा नगर प्रमुख दिलीपकुमार राई पनि उपस्थित रहेका थिए । उनले चालु शैक्षिक शत्रलाई कसरी विद्यार्थीको अधिकतम हित अनुकुल सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा शिक्षा क्षेत्रका अगुवाहरुले योजना बनाउनु पर्ने धारणा राखे ।
छलफलका क्रममा, विहान र दिउँसो गरी २ चरणको सिकाई, जोर विजोर दिनमा जोर विजोर कक्षा सिकाई, लगातार २,३ दिन सिकाई केन्द्रबाट सिकाई र उत्तिनै दिन गृहकार्य दिने, अनलाईन सिकाई सहजिकरण र भौतिक दूरी कायम गरी समूहगत रुपमा प्रत्यक्ष सिकाई जस्ता उपयुक्त विधि अपनाउन सकिने उल्लेख भएको छ ।
उल्लेखित विकल्पहरुमध्येबाट सिकाई सहजिकरण गर्ने तथा सोको अनुगमन् तथा सुपरिवेक्षण नगरपालिकाबाट हुने गरी आवश्यक निर्णयका लागि नगर शिक्षा समिति समक्ष अनुरोध गर्ने छलफलले निर्णय गरेको छ ।

सम्बन्धित खवर