मोरङ ३ का प्रमुख मुद्धा हल गर्न युवा संघको दवाव - JamarkoOnline

मोरङ ३ का प्रमुख मुद्धा हल गर्न युवा संघको दवाव

पथरीशनिश्चरे, २७ भदौ …

राष्ट्रिय युवा संघ नेपालले मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा निर्वाचनताका प्राथमिकिकरण गरिएका प्रमुख मुद्धाहरु हल गर्नका लागि पार्टी तथा सरकारी निकायमा ध्यानाकर्षण सहितको दवाव दिने भएको छ ।
युवा संघको जिल्ला समितिको पहलमा पथरीशनिश्चरेमा आयोजित अन्तरक्रिया कार्यक्रममा संघका केन्द्रीय सदस्य रविन थापा, जिल्ला अध्यक्ष नविन पौडेल सहितले गत निर्वाचनताका प्राथमिकीकरण गरिएका मुद्धाहरुको विषय उठाएका थिए । ती मुद्धाहरु हल गर्न सवै पक्ष सक्रिय भएर लाग्नुपर्ने भन्दै सम्वन्धित पक्षको ध्यानाकर्षण गराउन दवावमुलक योजना बनाउनु संघको जोड रहेको उनीहरुले धारणा राखे ।
निर्वाचनताका उठाइएका क्षेत्रका प्रमुख मुद्धामा, सुकुम्वासी सहितको अव्यवस्थित बसोबासको समस्या, पथरीशनिश्चरे शिविरमा बहुसाँस्कृतिक संग्रहालय निर्माण, खोला तटवन्ध, पूर्वाञ्चल विश्वविद्याललाई गोठगाउँमा स्थापित गर्ने र बाहुनीको पेट्रोलखानी अन्वेषण गर्नुपर्ने रहेका छन् ।
संघले नेकपाका प्रदेशतहसम्मका नेताहरु र पथरीशनिश्चरे नगरका प्रमुख र उपप्रमुखकामाझ ती विषयहरु स्मरण गराउँदै अवको डेढ वर्षको कार्यअवधिमा नेकपाको सरकारले पुरा गर्ने पहलमा लाग्न पार्टीले समेत सरकारको ध्यानाकर्षण गराउन पर्नेमा जोड दियो ।
कार्यक्रममा, संविधानसभा सदस्य चण्डीप्रसाद राईले संग्रहालय निर्माणको प्रादेशिक गौरबको योजना बनेको बेला त्यसलाई विफल बनाउन लाग्नेहरु रहेको समेत बताए । उनले शिविर सहित पूर्वपश्चिम मुख्य सडकको उत्तरतर्फको जंगलको करीव ८ सय विगाहा जग्गा आफुलाई बाबुले अंश दिएको व्यहोरा उल्लेख गर्दै कुलनाथ निङलेखुले जिल्ला अदालतमा हालेको मुद्धामा निङलेखुले हारेको बताए । तर निङलेखुले पुनरावेदन गरेको अवस्था रहेकोले संग्रहालयको प्रक्रिया विचाराधिन जस्तो बनेको उल्लेख गरे । ठाडो जंगल रहेको क्षेत्रमा त्यसप्रकारको दावी गरेर भूमाफियामार्फतको चलखेललाई अन्त्य गर्न सवै लाग्नुपर्ने उनको धारणा छ । उनले आफ्नो संयोजकत्वमा प्रदेश सरकारले बनाएको संग्रहालयको पूर्व सम्भाव्यता अध्ययन समितिले डेढ वर्ष अघि प्रतिवेदन बुझाएको स्मरण गराए ।
अन्तरक्रियामा, नेकपाका प्रदेश सदस्य युवराज वास्कोटाले पथरीशनिश्चरेमा संग्रहालय वन्ने ठाउँमा शिविर क्षेत्रका टहराहरुलाई व्यवस्थित रुपले एकातर्फ मात्र बनाउने व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । बसोबासको समस्या सहितका प्रमुख समस्याहरु समाधानमा सवै तहका सरकारसँगको समन्वयमा योजना बनाएर अघि बढ्न ढिलो भइसकेको पनि धारणा राखेका छन् । नगरपालिका कार्यालय भवनको प्रसंग समेत उनले उठाए ।
नेकपाका भगतचन्द्र थपलिया, दिननाथ तिम्सिना, मोहन तुम्वापो सहितले दोहोरो स्वामित्व सहितको बसोबासको समस्या समाधान गर्न पहिलो प्राथमिकता बनाएर जिल्ला तहमा विशेष आयोग बन्नुपर्नेमा जोड दिए । त्यसपछि अन्य ४ वटा विषयमा पनि सांसद भानुभक्त ढकाल सहित सरकार लाग्नुपर्ने बताए ।
पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले बसोबासको समस्या समाधानमा जिल्ला तहमा आयोग बनिहाल्नुपर्ने, संग्रहालय निर्माणमा मन्त्रालयको अवधारणा र कन्सल्टेन्सीको डिजाइनमा एकरुपता हुनुपर्ने धारणा राख्दै नगरपालिकाले ती मुद्धामा समन्वय गरिरहेको र सवै पक्षको समन्वय आवश्यक रहेको बताए । तटवन्धका लागि बक्राहामा ३ अर्व बढीको योजना बनेको, डाँस, चिसाङ सहितको तटवन्धका योजना संघबाट परेको जनाए ।

सम्बन्धित खवर