पथरीशनिश्चरेमा आजबाट ‘फुड बैंक’ सुरु, देश विदेशबाट सहयोग - JamarkoOnline

पथरीशनिश्चरेमा आजबाट ‘फुड बैंक’ सुरु, देश विदेशबाट सहयोग

पथरीशनिश्चरे, १२ भदौ…
कोरोना भाइरसको संक्रमणबाट जोगिन जारी बन्दाबन्दी (लकडाउन) का समयमा आर्थिक रुपले अति विपन्न परिवारको खाद्यान्न राहतका लागि मोरङको पथरीशनिश्चरेमा सुरु भएको ‘फुड बैंक’ बाट आज १ सय ८५ परिवारले खाद्यान्न लगेका छन् ।
गरिमा अनलाइन टेलिभिजन, हाम्रो फाउण्डेशन, भूटानी शिविर व्यवस्थापन समिति, प्रतिभा समाज सुधार युवा क्लब र टिचर क्लब पथरीशनिश्चरेको व्यवस्थापनमा ‘फुड बैंक’ स्थापना गरिएको हो । १० नम्बर वडा कार्यालय अगाडि बैंकका रुपमा खाद्यान्न सामग्रीको स्टल राखेर अति आवश्यक पर्नेहरुका लागि आजबाट खाद्यान्न वितरण सुरु भएको छ ।
पथरीशनिश्चरे नगर प्रमुख यमुना विष्ट वास्तोलाले खाद्यान्न प्रदान गरेर बैंकको सुरुवात गरिन् । नगरमा यसखाले अभियान सञ्चालनमा युवाहरुको सक्रियताप्रति उहाँले प्रसंसा गरिन् । १० नम्वर कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयँल आचार्यले वडा कार्यालयको समेत सहयोगमा अतिआवश्यक परेकाहरुका लागि राहत प्रदान गर्न सहयोग जुटाउने अभियानले वडा सहित समस्यामा परेका समग्र मानिसहरुमा ठूलो सहयोग पुग्ने बताइन् । शिविर व्यवस्थापन समितिका राम बानियाँले कार्यक्रमको औचित्य प्रकाश पार्दै सहयोगका लागि आव्हान गरे ।
लकडाउनका कारण समस्यामा परेका नगरभित्र वा नगर बाहिरका आर्थिक रुपले अति विपन्न, असहाय, असक्त परिवारलाई प्रति परिवार ५ किलोग्राम चामल, आधा केजी दाल, आधा लिटर खाने तेल र नून सहितको प्याकेट उपलब्ध गराउन सुरु गरिएको छ ।
‘हामी छौं त केवल एक अर्काका लागि छौं’, ‘सकिन्छ मुठी खोलौं, सकिदैन लिएर जाउँ’ भन्ने नाराका साथ अभियानमा युवाहरु जुटेका छन् । यसखाले सहयोगको अभियानका लागि विभिन्न पक्षबाट सहयोग जुट्ने क्रम बढेको अभियानका संयोजक प्रदीपकुमार राईले बताए । उनले भने ‘सक्नेले सहयोग गर्ने र नसक्नेले सहयोग लिएर जाने अवधारणामा यो बेला साँच्चै नै चुल्हो बल्न समस्या भएकालाई हामीले सहयोग पुर्याउने काम थालेका हौं ।’ उनले जुटेको सहयोग र वितरण भएको खाद्यान्नको विवरण स्पष्ट रुपमा सञ्चारमाध्यमबाट प्रकाशन प्रसारण गर्दै सम्पूर्ण गतिविधि दुरुुस्त रुपमा सार्वजनिक गर्ने बताए ।
यसखाले बैंकको अभियानका लागि विभिन्न पक्षबाट सहयोग जुट्ने क्रम बढेको छ । जसमा, भूटानी शरणार्थी शिविर व्यवस्थापन समिति पथरीशनिश्चरेले ५ सय केजी चामल, ५० केजी दाल र ५० लिटर खानेतेल उपलब्ध गराएको छ । १० नम्वरका वडाध्यक्ष सागर राई, इश्वर फार्मेसीका इश्वरी सापकोटा, समाजसेवी नाम्येहङ राई, नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य र वल्र्डलिंकका राजन तिम्सिनाले १,१ सय केजी चामल प्रदान गरेका छन् । त्यसैगरी, ७ नम्वर वडासदस्य काँशीराज राई, शिक्षक भुवन पिठाकोटे, जेसीजका प्रदिप फूयाँल तथा सञ्जय राईबाट ५०,५० केजी चामल प्रदान भएको छ । क्यापरोज मन्टेश्वरीकी शर्मिला वाइवाले ५० केजी चामल र २० केजी दाल, पथरी जेसीजकी लक्ष्मी भट्टराईले ५० केजी चामल र ५० वटा साबुन प्राप्त भएको उल्लेख छ । लेटाङस्थित जाँतेकी सपना राईले ५० केजी चामल र १० लिटर तेल उपलब्ध गराएकी छन् ।
त्यस्तै हालसम्म सहयोग गर्नेहरुमा, अमेरिकामा रहेका अशोक राईले १० हजार, जापानमा रहेका गणेश पिठाकोटे मगर र श्रीमती इन्दिरा पिठाकोटे मगरले १ सय केजी चामल उपलब्ध गराएका छन् । क्यानाडाका मनिष सम्वाहाम्फेबाट १ सय केजी चामल, १ काटन तेल र ५ केजी दाल, पारुहाङ ग्रिलका रविन राईबाट १ सय केजी चामल, जापानका मिनिधिङ थक्लुङबाट ५० केजी चामल उपलब्ध भएको छ । १० नम्बर वडाको शाशिष चर्चले १ सय केजी चामल, मगर लाफा नामक संस्थाले १ सय केजी चामल उपलब्ध गराएको छ । पथरीशनिश्चरेका प्राविधिक कृष्ण कोइराला र दीपक आचार्यले १ सय १ सय केजी चामल उपलब्ध गराएका छन् । सरोबर विल्डर्सका सरोज दहालबाट २ सय केजी चामल, प्रहरी जवान राकेश झाबाट १ सय ११ केजी चामल, होटल व्यवसायी प्रेम तामाङबाट १ सय केजी चामल उपलब्ध भएको छ ।
यसका साथै उर्लाबारीस्थित कृषालय एग्रोग्रेट प्रालिले सो अभियानमा खट्नेहरुका लागि ३ सय थान मास्क उपलब्ध गराएको छ । कोरोनाको जोखिमबाट बच्ने सन्दर्भमा १० नम्वर वडा कार्यालयले वडास्थित ‘प्रहरीको साथी म’ लाई शुक्रबार निःशुल्क बिमा गरिदिएको छ । साथै ‘फुड बैंक’को व्यवस्थापनमा पनि सघाएको छ ।
जिल्लाको कानेपोखरी गाउँपालिकामा पनि आजबाट फुड बैंक सुरु भएको छ ।

सम्बन्धित खवर