पथरीशनिश्चरेमा पनि भोलीबाट ‘फुड बैंक’ खुल्ने - JamarkoOnline

पथरीशनिश्चरेमा पनि भोलीबाट ‘फुड बैंक’ खुल्ने

पथरीशनिश्चरे, ११ भदौ..
कोरोना भाइरसको संक्रमणबाट जोगिन जारी बन्दाबन्दी (लकडाउन) का समयमा आर्थिक रुपले अति विपन्न परिवारको खाद्यान्न राहतका लागि मोरङको पथरीशनिश्चरेमा पनि ‘फुड बैंक’ स्थापना गरिएको छ ।
गरिमा अनलाइन टेलिभिजन, हाम्रो फाउण्डेशन, भूटानी शिविर व्यवस्थापन समिति, प्रतिभा समाज सुधार युवा क्लब र टिचर क्लब पथरीशनिश्चरेको व्यवस्थापनमा ‘फुड बैंक’ स्थापना गरिएको हो । भोलीदेखि खाद्यान्न सहयोग प्रदान गर्नका लागि वडा नम्वर १० स्थित वडा कार्यालय अगाडि बैंकका रुपमा खाद्यान्न सामग्री राख्ने ठाउँ (स्टल) आज निर्माण भएको छ ।
लकडाउनका कारण समस्यामा परेका नगरभित्र वा नगर बाहिरका आर्थिक रुपले अति विपन्न, असहाय, असक्त परिवारलाई प्रति परिवार ५ किलोग्राम चामल, आधा केजी दाल, आधा लिटर खाने तेल र नून सहितको प्याकेट उपलब्ध गराइने छ ।

‘हामी छौं त केवल एक अर्काका लागि छौं’, ‘सकिन्छ मुठी खोलौं, सकिदैन लिएर जाउँ’ भन्ने नाराका साथ अभियानमा युवाहरु जुटेका छन् । यसखाले सहयोगको अभियानका लागि विभिन्न पक्षबाट सहयोग जुट्ने क्रम बढेको राहत प्रदान गर्ने काम थालिने अभियानका एक सदस्य गरिमा अनलाइनका सुमन कुरुङवाङले बताए । उनले भने ‘सक्नेले सहयोग गर्ने र नसक्नेले सहयोग लिएर जाने अवधारणामा यो बेला साँच्चै नै चुल्हो बल्न समस्या भएकालाई हामीले सहयोग पुर्याउने काम थालेका हौं ।’ उनले जुटेको सहयोग र वितरण भएको खाद्यान्नको विवरण स्पष्ट रुपमा सञ्चारमाध्यमबाट प्रकाशन प्रसारण गर्दै सम्पूर्ण गतिविधि दुरुुस्त रुपमा सार्वजनिक गर्ने बताए ।
यसखाले बैंकको अभियानका लागि विभिन्न पक्षबाट सहयोग जुट्ने क्रम बढेको छ । जसमा, भूटानी शरणार्थी शिविर व्यवस्थापन समिति पथरीशनिश्चरेले ५ सय केजी चामल, ५० केजी दाल र ५० लिटर खानेतेल उपलब्ध गराएको छ । १० नम्वरका वडाध्यक्ष सागर राई, इश्वर फार्मेसीका इश्वरी सापकोटा, समाजसेवी नाम्येहङ राई, नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य र वल्र्डलिंकका राजन तिम्सिनाले १,१ सय केजी चामल प्रदान गरेका छन् । त्यसैगरी, ७ नम्वर वडासदस्य काँशीराज राई, शिक्षक भुवन पिठाकोटे, जेसीजका प्रदिप फूयाँल तथा सञ्जय राईबाट ५०,५० केजी चामल प्रदान भएको छ । क्यापरोज मन्टेश्वरीकी शर्मिला वाइवाले ५० केजी चामल र २० केजी दाल, लक्ष्मी भट्टराईले ५० केजी चामल र ५० वटा साबुन प्राप्त भएको उल्लेख छ । लेटाङस्थित जाँतेकी सपना राईले ५० केजी चामल र १० लिटर तेल उपलब्ध गराएकी छन् ।
यसका साथै उर्लाबारीस्थित कृषालय एग्रोग्रेट प्रालिले सो अभियानमा खट्नेहरुका लागि ३ सय थान मास्क उपलब्ध गराएको छ । कोरोनाको जोखिमबाट बच्ने सन्दर्भमा १० नम्वर वडा कार्यालयले १० नम्वर वडास्थित ‘प्रहरीको साथी म’ लाई निःशुल्क बिमा गरिदिने भएको छ । साथै ‘फुड बैंक’को व्यवस्थापनमा पनि सघाएको छ ।

 

सम्बन्धित खवर