हास्य कलामा फक्रिँदै सुमन - JamarkoOnline

हास्य कलामा फक्रिँदै सुमन

 

..दिप्सन लुइटेल..
काठमाडौं, ७ भदौ..

हास्य क्षेत्रमा सुमन कार्की परिचित नाम हो । उनलाई कसैले ‘कमेडी च्याम्पियन’को प्रतियोगीका रूपमा चिन्छन् । कसैले ऋषि धमलाको क्यारिकेचरबाट चिन्छन् ।

जे होस्, एक दशक लामो सङ्घर्षबाट सुमनले हास्य क्षेत्रमा परचिय बनाइसकेका छन् ।

ओखलढुंगामा जन्मिएर मोरङमा हुर्किएका सुमनलाई हास्य क्षेत्रमा कुनै रुचि थिएन । चलचित्र धेरै हेर्ने भएकाले होला, उनलाई त चलचित्रको हिरो बन्नु थियो- निखिल उप्रेती जस्तै । निखिलले चलचित्रमा गरेजस्तै ‘उल्टी-सुल्टी’को अभ्यास गर्ने, निखिलले बोलेजस्तै संवाद बोल्ने ।

हास्य कलाकार बन्ने रहर नभए पनि उनलाई ‘मेरी बास्सै’ खुबै मनपर्थ्यो । मेरी बास्सैमा पनि उनलाई सीताराम कट्टेल ‘धुर्मुस’ले निर्वाह गर्ने ‘वडाध्यक्ष’को भूमिका मनपर्थ्यो । उनको नक्कल गर्थे सुमन ।

 

एक दिन विद्यालयमा हुने कार्यक्रममा उनले नाटक गर्नुपर्ने भयो । नाटकमा सुमनको भूमिका जँड्याहाको थियो । सुमनले शिक्षकलाई मेरी बास्सैका वडाध्यक्षको क्यारिकेचर सुनाए । शिक्षकलाई मनपर्यो र भने, ‘तिमीले नाटकमा यही क्यारिकेचर गर्नू ।’

सुमनले कार्यक्रममा ‘वडाध्यक्ष’ले बोल्ने शैलीमा नै प्रस्तुति दिए । संवाद पनि सबै दुरुस्तै । सुमन भन्छन्, ‘मलाई त दर्शक कहाँ हाँस्छन् भन्ने पनि पत्तो थिएन । त्यही पनि सबैले राम्रो भन्नुभयो ।’

त्यहाँ पाएको प्रशंसाले सुमनलाई कमेडीमा रुचि बढ्यो । सुमनले विभिन्न क्यारिकेचर सिके । कमेडी सिरियलहरू हेर्न थाले र नक्कल गर्न थाले ।

कमेडीको रस पस्दै गएपछि सुमनलाई रेडियोमा कार्यक्रम चलाउने रहर जाग्यो । त्यसैले रेडियोमा बोल्न पनि सिके । र, मोरङको एक रेडियोमा काम सुरु गरे । त्यहाँ सुमनले कमेडी कार्यक्रम नै चलाउने गर्थे ।

०००

मोरङको रेडियोमा काम गरेको २ वर्ष बित्दै थियो । सुमनले स्नातकसम्मको पढाइ पूरा गरे । अब उनलाई जागिर खाने भन्दा पनि पढ्ने रहर भयो । त्यसैले स्नातकोत्तर पढ्ने योजनासहित उनी काठमाडौं छिरे ।

सुमन भन्छन्, ‘रेडियोमा २ वर्ष काम गर्दा मलाई रेडियोमा काम गर्ने मन मरिसकेको थियो । त्यसैले अब पढ्छु भनेर काठमाडौं आए ।’
काठमाडौं आउनेवित्तिकै सुमनले ‘रेडियो अडियो’को विषयमा पत्तो पाए । हास्य विधाको यस रेडियोमा त हास्य क्षेत्रका दिग्गज व्यक्तित्वलाई भेट्न पाइन्छ भन्ने सुने ।

सुमन पुन: रेडियोमा तानिए । हास्य कलाकार भेट्न रेडियो अडियो छिरेका सुमन त्यहाँ जागिरे भए । अहिलेसम्म पनि सुमन त्यहाँ विभिन्न कार्यक्रम चलाउँछन् । उनले रेडियो अडियोमा झण्डै एक दर्जन कार्यक्रम चलाउँछन् ।

कलाकार भेट्न रेडियो अडियो छिरेका सुमनलाई झण्डै ३ वर्ष पहिला एउटा गज्जबको संयोग जुर्‍यो । हास्य विधाका भेट्रान कलाकार हरिवंश आचार्यसँग सुमनले स्टेज शेयर गर्ने मौका पाए ।

हरिवंशको पुस्तक ‘हरिबहादुर’को प्रचारका लागि विभिन्न ठाउँ पुग्दा सुमन पनि हरिवंशसँगै भए । सुमनले त्यहाँ ऋषि धमला बनेर हरिवंशलाई प्रश्न प्रहार गरेका थिए ।

त्यो पल सम्झिँदै सुमन भन्छन्, ‘रेडियो अडियोमा सुमनले ऋषिको क्यारिकेचर गर्ने हल्ला फैलिइसकेको थियो । त्यो कुरा हरिवंशले पत्तो पाउनु भएछ । उहाँले फोन गरेर भाइ म हरिवंश आचार्य भन्दा त म सर्ल्याक-सुर्लुक नै भएको थिएँ ।’

हरिवंशले ऋषि धमला बन्ने अफर गरेपछि सुमनले नकार्ने कुरै भएन । त्यसमाथि उनलाई परिचय बनाउने ठूलो अवसर थियो । उक्त टुरबाट उनले राम्रै माहोल बनाए ।

गत वर्षको गाईजात्रामा सुमनले दिएको प्रस्तुति पनि निकै भाइरल नै भयो । त्यहाँ पनि सुमन ऋषि धमला बनेका थिए । उत्तर दिन तैनाथ थिए, क्यारिकेचर किङ सुवोध गौतम ।

‘जनता हान्न चाहन्छ’ नाम दिइएको उक्त प्रहसनलाई धेरैले रुचाए । यहाँबाट पनि सुमनको परिचय चुलियो ।

०००

‘धमलाको क्यारिकेचर गर्ने केटो’ भन्ने परिचयबाट सुमन सन्तुष्ट थिएनन् । उनलाई केही नयाँ गर्ने मन थियो । उनी यस विषयमा सोचिरहेका थिए ।

त्यही समय आइदियो, कमेडी च्याम्पियन । सुमनले सोचे- ‘यो प्रतिभा देखाउने गतिलो प्लेटफर्म हुन सक्छ ।’

क्यारिकेचर मात्र होइन, स्ट्याण्डअप गरेर पनि हसाउन सक्छु भन्ने विश्वासले सुमन च्याम्पियनको प्रतियोगितामा सहभागी हुन पुगे । आखिर सुमनले त्यहाँ गएर पनि आफूलाई प्रमाणित गरे ।

अडिसन राउण्डदेखि नै सुमनले गतिलो छाप बनाए । कमेडी च्याम्पियनमा सुमनले दिएको ‘खलासी’, ‘ट्राफिक’, ‘युट्युबर’, ‘राष्ट्रवादी नेता’लगायतका प्रस्तुति निकै भाइरल भए ।

सुमनले च्याम्पियनको टाइटिल जितेनन् । भोट कम हुँदा उनी उत्कृष्ट ५ बाट बाहिरिए । तर, त्यहाँबाट उनले धेरै शुभचिन्तक तथा प्रशंसक कमाएका छन् ।

सुमन भन्छन्, ‘च्याम्पियनबाट मैले सोचेभन्दा राम्रो सफलता पाएँ । मलाई चिन्नेहरुको दायारा फराकिलो भएको छ । कमेडी च्याम्पियनले गर्दा ममा धेरै नै परिवर्तन पनि आएको छ ।’

कमेडी च्याम्पियनले आफ्नो हाँस्य करिअरमा गतिलो इँट्टा थपिदिएको सुमन बताउँछन् । ‘कमेडी च्याम्पियनले इँट्टा थपिदिएको छ । तर, सिकाई अझै बाँकी नै छ ।’

अबको यात्रा

सुमनलाई हास्य क्षेत्रमा त काम गर्नु नै छ । त्यससँगै अन्य क्षेत्रमा पनि आएका अवसरहरू उनले छोड्नेछैनन् ।

सुमन रेडियो अडियोमा काम गर्दै छन् । कोरोनाका कारण अहिले स्टेज कार्यक्रम रोकिएको छ । अवस्था सामान्य हुनासाथ उनले विभिन्न स्टेज कार्यक्रम पनि भ्याउनेछन् ।

यस्तैमा, सुमन कमेडी च्याम्पियन टिमले नै गर्न लागेको ‘घरघरमा कमेडी’ नामक रियालिटी शोमा जज बन्दै छन् । त्यो मात्र होइन, सुमनले विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’को नेपाली संस्करण होस्ट पनि गर्दै छन् ।

सुमन आफूमाथि गरिएको विश्वासलाई पूर्ण रूपमा पूरा गर्ने बताउँछन् । सुमनले भने, ‘मलाई उहाँहरूले विश्वास गर्नुभएको छ । उहाँहरूको विश्वासलाई मर्न दिनेछैन ।’

अनि चलचित्रको हिरो बन्ने रहर ?

यस प्रश्नमा सुमन भन्छन्, ‘चलचित्रमा काम गर्ने रहर मरेको छैन । तर, हिरो नै हुनुपर्छ भन्ने पनि छैन । आफूलाई सुहाउँदो भूमिका पाएँ भने पक्कै चलचित्रमा पनि काम गर्नेछु ।’

साभार ः शिलापत्र अनलाइन

सम्बन्धित खवर