उर्लाबारीमा लकडाउनमा कडाई, आधा दर्जन सब्जीका गाडी नियन्त्रणमा - JamarkoOnline

उर्लाबारीमा लकडाउनमा कडाई, आधा दर्जन सब्जीका गाडी नियन्त्रणमा

..उर्लाबारी, ३ भदौ..
मोरङको उर्लाबारीमा लकडाउन थप कडा पार्ने क्रममा उर्लाबारीबाहिरबाट भित्रिने सब्जी तथा भारतबाट ल्याइदै गरेको मल सहितका गाडी आज नियन्त्रणमा लिएको छ ।
कोरोना भाइरस सर्न सक्ने अवस्था भएकाले नगरबाहिरबाट सब्जी तथा फलफुल नल्याउन गराइएको जानकारी उल्लंघन गर्ने आधा दर्जन बढी सब्जीका गाडी र भारतबाट मल ल्याएका गाडी नियन्त्रणमा लिइएको नगर प्रमुख खड्ग फागोले बताए ।
यसक्रममा, मास्कको प्रयोग नगर्नेहरुलाई उठबस गराउँदै मास्क अनिवार्य प्रयोग गर्न र अतिआवश्यक बाहेक काममा बाहिर ननिस्किन सम्झाइएको उनले आव्हान गरेका छन् ।
नगर प्रमुख फागोसहितको टोली अनुगमनमा निस्किई लकडाउन कडाई गरेको हो ।
इलाका प्रहरी कार्यालय उर्लाबारी, सशस्त्र प्रहरी वेश क्याम्प र उर्लाबारी नगर प्रहरी लकडाउन पूर्ण पालना गराउन सडकमा परिचालित छन् ।
यसैगरी, जिल्लाकै पथरीशनिश्चरेमा पनि विहान ६ देखि ९ बजेको समयमा अत्यावश्यक खाद्यान्न, सब्जी तथा फलफुल पसल बाहेक अन्य पसल नखोल्न जानकारी गराउँदै सुरक्षाकर्मी परिचालित छन् । तर पनि स्थानीयले प्रतिवन्धित पसल समेत सञ्चालन गरी लकडाउनलाई बेवास्ता गरिरहेका छन् ।

सम्बन्धित खवर