सामुदायिक विद्यालयमा बढ्दैछ अङ्ग्रेजीमोह - JamarkoOnline

सामुदायिक विद्यालयमा बढ्दैछ अङ्ग्रेजीमोह

 

 

–भूमिप्रसाद पाठक..

मोरङको पथरी शनिश्चरे नगरपालिकाको क्षेत्रअन्तर्गत २७ वटा सामुदायिक विद्यालय र ३४ वटा संस्थागत विद्यालयहरू क्रियाशील रहेको तथ्याङ्क पाइन्छ । तिनीहरूमा बढीमा विभिन्न कक्षा १२ सम्मको अध्ययन–अध्यापन हुने गरेको भेटिन्छ । कतिपय अभिभावकहरूलाई आफ्ना बालबालिकाहरूलाई शिक्षादिक्षा दिलाउने सन्दर्भमा अङ्ग्रेजीमोह जागेको अवस्था छ । यसका लागि संस्थागत विद्यालय नै अभिभावकहरूको रोजाइमा पर्ने गरेको थियो । तथापि, पछिल्लो समयमा सामुदायिक विद्यालय विकास, समग्र शैक्षिक विकास, पाठ्यक्रम विकास, शिक्षा–शिक्षण विधिको विकास, अनुशासन, आचरण र नैतिकवान शिक्षादिक्षा आदिका कारणले सामुदायिक विद्यालयहरूले संस्थागत विद्यालयहरूलाई उछिनेर गति लिएको देखिएको छ ।

पथरी शनिश्चरे नगरभित्रका अधिकांश सामुदायिक विद्यालयहरूले आफ्नो नियमित पठनपाठनको भाषाको रूपमा अङ्ग्रेजी माध्यमलाई नै अनिवार्य अवलम्बन गर्दै आएका छन् । फलतः मानव महामारीका कारण जारी लक डाउनको समयमा पनि संस्थागतभन्दा पनि सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरू बढी भर्ना भएको तथ्यतथ्याङ्कले दर्शाएको छ । समाजमा अङ्ग्रेजीमोह पालेको अभिभावकहरूका लागि शैक्षिक गन्तव्यको रूपमा सामुदायिक विद्यालयहरू पर्ने गरेको देखिन्छ ।

मूलतः यो लक डाउनका समयमा पनि संस्थागत विद्यालयहरूले विद्यार्थीसँग लिइने गरेको शुल्कमा समेत छुट नदिएपछि यसबाट अभिभावकमा आर्थिक भार बढ्न गएको छ । यसबाट अभिभावकको जीवनमा थोपरिने समस्या र अभिभावकको अपेक्षित अङ्ग्रेजीमोह पनि सामुदायिक विद्यालयले नै उपलब्ध गराइदिएको कारण संस्थागतभन्दा सामुदायिक विद्यालय बालबालिकाको भर्नाका लागि रोजाई र खोजाइमा पर्ने गरेको छ । यतिबेला समाजवादको आधारशीला निर्माण गर्न कसिएको राज्यले पनि गरीब, विपन्न र लक्षित समुदायका छोराछोरीलाई बजारमा प्रचलित शिक्षा उपलब्ध गराउने उद्देश्य लिएअनुरूप सामुदायिक विद्यालयहरूको स्तरोन्नति भएको छ । सामुदायिक विद्यालयहरूमा तालिम प्राप्त शिक्षक–शिक्षिकाहरूबाट पठनपाठन हुने हुनाले पनि संस्थागतभन्दा बढी सामुदायिक विद्यालयको आकर्षणता बढेको हो ।

यहीँ सन्दर्भमा पथरी शनिश्चरे नपा वडा नं. १, एकताचौक बस्ने सामाजिक व्यक्तित्व गृहणी कमलादेवी ढकालले भनिन्– पञ्चायत माविमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन राम्रो भएका कारण आफ्ना छोरीलाई त्यहीँ पढाएको हो ।

यतिबेला कोरोना सङ्क्रमणले जनजीवन अस्तव्यस्त भइरहेको छ । ठीक यसैमा संस्थागत विद्यालयको चर्को शुल्क, पठनपाठनको भद्दापन, सुँगा रटानझैं रटाउने प्रवृत्ति, नैतिक मूल्यह्रासको शिक्षा र जीवन र जगतसम्बन्धी ज्ञानबोध गर्ने शिक्षाअभावका कारण अभिभावकहरूले सामुदायिक विद्यालयहरू नै रोज्ने गरेको गृहणी ढकालको माथिल्लो अभिव्यक्तिबाट पनि प्रस्ट हुन्छ ।

पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०७७र०७८ का लागि सम्पन्न नगरसभाबाट स्थानीय सरकारी कर्मचारी र शिक्षकका छोराछोरीलाई सरकारी विद्यालयमा अनिवार्य पढाउनुपर्ने नीति पास गरेसँगै स्थानीय समुदायमा पनि सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई पढाउनुपर्ने जाँगर बढेको देखिन्छ । अधिकांश विद्यालयहरूमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुन्छ । अनिवार्य ढङ्गले पढाई हुने विद्यालयहरूमा प्रतिनिधि विद्यालयका रूपमा क्रमशः पञ्चायत मावि, जनता मावि, सिंहबाहिनी मावि, बुद्ध मावि, बालकल्याण मावि, चन्द्रकिराँतेश्वर मावि हुन् ।

पथरी शनिश्चरे नपा वडा नं. १, पथरीमा अवस्थित पञ्चायत मावि, नगरको स्रोतकेन्द्रको रूपमा रहेको छ । विज्ञान सङ्कायमा नेपालकै र समग्र शैक्षिक कार्यक्रम एवं व्यवस्थापनमा प्रदेशकै सर्वोत्कृष्ट नमुना छनौटमा परेको यो विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ कक्षासम्म नियमित पढाई हुने गरेको छ । बिहान र दिउँसो गरी झण्डै २ हजार ५ सय विद्यार्थी सङ्ख्या रहेको यस विद्यालयमा कक्षा १० सम्म अङ्ग्रेजी र नेपाली दुबै भाषागत माध्यमबाट पठनपाठन हुने गरेको सोही विद्यालयका प्राचार्य अर्जुनकुमार बुढाथोकीले बताउनुभएको छ ।

प्राचार्य बुढाथोकीका अनुसार नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाका लागि बेग्लै भवन, तालिम प्राप्त दक्ष र अनुभवी शिक्षक–शिक्षिका, हेरचाह गर्ने कर्मचारी सहितको व्यवस्था हुँदै आएको छ । भरखरै मात्र बालअपाङ्गमैत्री कक्षकोठा निर्माणको काम अघि बढेको छ । यस विद्यालयमा प्राविधिक धारतर्फ सिभिल इञ्जीनियर, विज्ञान, कानुन, शिक्षा, मानविकी शैक्षिक सङ्कायहरू दुबै भाषागत माध्यममा सञ्चालनमा आएका छन् ।

यसकारण स्थानीयका लागि मात्र होइन, प्रदेशबाहिरका अभिभावकका लागि पनि पञ्चायत मावि अध्ययनको विषय बनेकोले आफूलाई पनि गर्व हुने गरेको प्राचार्यले बताए । उहाँका अनुसार विज्ञान र प्राविधिक शिक्षाकेन्द्रको रूपमा विकसित पञ्चायत माविमा दिनहुँजसो विद्यार्थीको चाप बढेको छ ।

पथरी शनिश्चरे नपा वडा नं. ३ मा रहेको जनता मावि कक्षा ८ सम्म अङ्ग्रेजी माध्यमबाट शिक्षा दिनेमा गत्तिलो उदाहरण बनेर प्रस्तुत भएको छ । यो विद्यालयमा आईसीटी प्रविधिमा प्रवेश गरेको कारणले पनि स्थानीय स्तरमा लोकप्रिय बनेको छ । प्रयोगशाला कक्ष, कम्प्युटर कक्ष, छुट्टै पुस्तकालय, आधुनिक प्रविधिमैत्री कक्षा कोठाको व्यवस्थापन भइरहेको जानकारी दिनुहुँदै विद्यालयका प्राचार्य पदमप्रसाद सापकोटाले जनता माविले अपेक्षित सफलता हासिल गरेकोमा खुशी व्यक्त गरे ।

प्राचार्य सापकोटाका अनुसार यहाँ अङ्ग्रेजी माध्यमबाट कक्षा ६, ७ र ८ मा छुट्टै कक्षा सञ्चालन हुँदै आएको कारणले विद्यालयमा विद्यार्थी सङ्ख्या बढेसँगै सस्याना बालबालिकाका लागि छुट्टाछुट्टै कक्षाहरू सञ्चालनमा ल्याइएको छ । कक्षा १२ सम्मको अध्ययन अध्यापन हुने जनता माविमा कक्षा ९ र १० मा इन्टर एक्टिङ फ्याट प्यानलमार्फत शिक्षण विधि सञ्चालन हुँदै आएको छ । नर्सरीदेखि कक्षा ५ सम्म पूरै अङ्ग्रेजी माध्यम कक्षा सञ्चालन हुँदै आएको र कक्षा १० सम्म नै अङ्ग्रेजी माध्यमलाई जोड दिएको अवस्था छ ।

पथरी शनिश्चरे नपा वडा नं. ९ मा रहेको यस विद्यालयमा कक्षा नर्सरीदेखि १० सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन आरम्भ गरिएको अवस्था छ । २०६६ सालबाट कक्षा १ देखि सुरू गरिएको अङ्ग्रेजी माध्यमको पढाई कक्षा १० सम्म पु¥याइएको जानकारी दिनुहुँदै विद्यालयका प्राचार्य जगतमणि गौतमले २०७५ को एस. ईं. ईं. परीक्षा नतिजामा सामुदायिक विद्यालयतर्फ सर्वाधिक राम्रो नतिजामा ल्याएको खुशी व्यक्त गरे । ग्रामीण परिवेश हुँदाहुँदै पनि यहाँ दुबै भाषागत माध्यमबाट पठनपाठन हुने गरेको विद्यालयका नियमित शिक्षक अष्टमान राईंले बताउनुभयो ।

पथरी शनिश्चरे नपा वडा नं. ८ मा रहेको बुद्ध मावि वि. सं. २०२४ सालमा स्थापना भएको नगरकै सर्वाधिक पुरानो अर्थात् ज्येष्ठ विद्यालय हो । बुद्ध ज्ञानआर्जनका लागि यहाँ आउने मसिना बालबालिकाले कक्षा नर्सरीदेखि ३ सम्म अङ्ग्रेजी माध्यमबाट पढ्ने गरेका छन् । स्थानीय समुदाय र अभिभावकको चाहनाअनुरूप वर्षेनी भाषा माध्यमलाई बढाउँदै लगिएको छ ।

नेपाल सरकारद्वारा निर्धारण गरिएका पुस्तक तथा पाठ्यसामग्रीहरू स्थानीय अभिभावकको चाहनाअनुरूप वितरण हुँदै आएको विद्यालयका प्राचार्य बोधराज सिग्देलले बताउनुभयो । अङ्ग्रेजी माध्यम सुरूवातसँगै यस विद्यालयमा ५० जना विद्यार्थी सङ्ख्याको भर्ना बढेकोले दक्ष शिक्षक–शिक्षिकाद्वारा पठनपाठनमा जोड दिएको प्राचार्य सिग्देलले सगर्व स्थानीय कथा कहलाउनुभयो । कक्षा नर्सरीदेखि देखि १२ सम्म नियमित पढाइ हुने यो विद्यालयले संस्थागत विद्यालयभन्दा पनि उत्कृष्ट परिणाम दिएको उहाँले भन्नुभयो ।

पथरी शनिश्चरे नपा वडा नं. ७, कीर्तिपुरमा रहेको बालकल्याण माविमा यहीँ शैक्षिकसत्रबाट कक्षा नर्सरीदेखि १० सम्म पठनपाठन हुने गरेको छ । नेपाली र अङ्ग्रेजी दुबै माध्यमबाट प्रारम्भिक कक्षाहरूमा पढाई हुने यो विद्यालय कीर्तिपुर क्षेत्रका लागि बालकल्याण मावि रोजाई र खोजाइमा पर्ने गरेको जानकारी विद्यालयका प्रअ रोहिणी घिमिरेले दिनुभयो । समयसापेक्षा शिक्षा शिक्षण व्यवस्थापनका लागि कम्प्युटर कक्षा सञ्चालनमा ल्याएसँगै प्रोजेक्टर र मल्टीमिडियामार्फत पठनपठान हुँदै आएको प्रअ घिमिरे जनाउनुभयो ।

पथरी शनिश्चरे नपा वडा नं. ७ मा रहेको चन्द्रकिराँतेश्वर मावि किराँतीचौकमा रहेको एकमात्र स्थापित सामुदायिक विद्यालय हो । दक्ष शिक्षकको अभावले अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्न नसकिएको हो । यसमा पनि विद्यालयको पढाई र व्यवस्थापन राम्रो भएका कारण संस्थागत विद्यालय छोडेर यहाँ आउने विद्यार्थीको सङ्ख्या पनि उल्लेख भएको विद्यालयका गणित शिक्षक महेन्द्र ढुङ्गानाले टेलिफोनमार्फत भन्नुभयो । अरू विद्यालयजस्तै क्रमशः अङ्ग्रेजी माध्यममा पठनपाठन योजना रहेपनि माविमा शिक्षकको दरबन्दी नभएकोले कक्षा सञ्चालनमा मुस्किल रहेको उहाँको कथन रहँदै आएको छ । एस. ईं. ईं मा सर्वाधिक आकर्षक नतिजा ल्याउन सफल यो विद्यालयले विकासको सम्भावना बोकेको विद्यालयको रूपमा चिनिन्छ ।
ः पथरीशनिश्चरे, मोरङ

सम्बन्धित खवर