डाँस खोलाको बाढीबाट क्षति हुँदै - JamarkoOnline

डाँस खोलाको बाढीबाट क्षति हुँदै

पथरीशनिश्चरे, ५ साउन==
वर्षाका कारण खोला तथा खोल्सीमा आएको बाढीका कारण मोरङको पथरी शनिश्चरे क्षेत्रमा पुर्याएको क्षतिको नगरपालिका कार्यालयले अनुगमन् गरेको छ ।
नगर प्रमुख दिलीपकुमार राईको अगुवाईमा वक्राहा खोलामा आएको बाढीबाट केही ठाउँमा भएको कटानको अनुगमन् भएको छ । साथै उनले संघीय सरकारले सञ्चालन गर्ने तटवन्धको योजन अनुरुप प्रदेशका सांसद सहितको प्राविधिक टोलीलाई बक्राहा क्षेत्रको अवलोकन समेत गराएका छन् ।
जसमा, प्रदेश १ का सांसद लीलाबल्लभ अधिकारी तथा योजना कार्यान्वयन गर्ने निकायका डिभिजन कार्यालयका इन्जिनियर सहितको टोलीले अवलोकन गरेको छ । टोलीले भोली त्यस्तै प्रकारको तटवन्धको योजना रहेको डाँस खोलाको पनि अवलोकन गर्ने नगर प्रमुख राईले बताए ।
यसैगरी, उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा कार्यपालिका सदस्य मैनादेवी फूयँल आचार्य सहितको टोलीले आज वडा नम्वर १० स्थित डाँस र मोरङ्गी खोलाको कटान क्षेत्रको अनुगमन् गरेको छ । जसमा जिरिजिखिम्ती पुल उत्तर र दक्षिणको जग्गा तथा ऐयावारीको त्रिवेणी चोक पश्चिममा पैनीको बाँध कटान भएको छ ।
त्यस्तै, वडा नम्वर २ स्थित छयालिसविघे उत्तरमा लाटीहोली किनारको सुकुम्वासी वस्तीमा पनि केही डुवान भएको क्षेत्रको अनुगमन् भएको छ । पानीको निकासको उचित प्रवन्ध हुन नसक्दा बुद्धचोक दक्षिणको पथरी डाइनिया सडकखण्ड समेत डुवानमा परेको छ ।

सम्बन्धित खवर