मैले ब्लड क्यान्सरलाई जितें - JamarkoOnline

मैले ब्लड क्यान्सरलाई जितें

कमल पौडेल

विराटनगरमा रहेको मकालु टेलिभिजनमा समाचार सम्पादक थिएँ । केही स्थानीय कलेजहरुमा पढाउँथें । ठूलो छोरा कलेजमा थिए । सानो छोरा स्कुलमा । सानी छोरी काखमै । सामान्यरुपमा हेर्दा मसँग के थिएन र ? वृद्धा आमाको काख थियो । पत्नीको साथ थियो । दाइहरुको आशिर्वाद थियो । परिवारको कान्छो छोरो । समग्रमा खुसी थिएँ । हुर्किँदै गरेका छोराछोरी हेरेर सपनाले पंख हालेको थियो ।

एकातिर म सपनाहरुको उडान उडिरहेको थिएँ, अर्कातिर क्यान्सरले शरीरमा जरा गाडिरहेको रहेछ । ज्वरोवाट सुरु भयो । जति औषधिले पनि घटेन । विराटनगरका धेरै नामुद चिकित्सकहरुलाई देखाएँ । टेलिभिजनमा आफै पनि स्वास्थ सम्बन्धी कार्यक्रम चलाउने भएकाले पनि चिकित्सहरु चिनजानमा थिए । कसैले टाइफाइडको औषधि खुवाए, कसैले के के हो के के ।

जब मेरो मुखभित्र घाऊ आएर निको हुन निकै कठिन भयो, तब मात्रै चिकित्सकहरुले मलाई ब्लड क्यान्सर भएको हुन सक्ने डायग्नोसिस गरे । क्यान्सरको नाम सुन्नासाथ म हस्पिटलमा नै ढलेंछु । पहिला नै शरीर निकै गलिसकेको थियो । एकाएक क्यान्सर सुन्न सक्ने शक्ति पनि मेरो शरीरमा थिएन । बेहोसीबाट म उठ्नुपथ्र्यो । उठें ।

मैले जन्मिएपछि मर्नुपर्छ भन्ने सानैमा बुझेको हुँ । तर, पनि आफ्ना जिम्मेवारी पूरा नगरी मर्न साह्रै कठिन हुँदोरहेछ भन्ने योपटक मात्रै बुझें । आफूसँग जोडिने अरुका सपनालाई वीचमा नै अलपत्र छाडिदिन साह्रै गाह्रो हुँदोरहेछ । मलाई क्यान्सर भएको सुन्दा मैले पटक्कै म मर्दैछु भन्ने सोचिनँ । म मरेपछि मेरो परिवारको अवस्था कस्तो हुन्छ होला भन्ने मात्रै सोचें ।

विराटनगरमा आशंका भयो । काठमाडौं आएपछि पुष्टि भयो, मलाई प्राणघातक प्रकृतिको क्यान्सर एक्युट माइलोइड ल्यूकिमिया (एएमएल) भएको रहेछ । मैले र मेरो परिवारले बुझेको कुरा एउटै थियो, क्यान्सर निको हुँदैन । न त म आफूलाई सम्हाल्न सकिरहेको थिएँ, न त छोराछोरी, पत्नी र आमाको सामुन्नेमा रुन सकिरहेको थिएँ । म उनीहरुभन्दा छलिएर बारम्बार रोएको थिएँ । रुवाइले क्यान्सर निको पनि त हुँदैनथ्यो ।

क्यान्सर विशेषज्ञ डा. विशेष पौडेलले पहिलो भेटमा नै एक महिनाभित्र तपाईंको जीवनमा जे पनि हुन सक्छ, भनेर मृत्युको छाँया अगाडि उभ्याइदिएका थिए । उनले भोलिपल्टै सिभिल हस्पिटलमा आएर भर्ना हुन सल्लाह दिए ।

मैले राम्रो गरी आँखा देखिरहेको थिइनँ । बाहिर निस्कँदा संसार अँध्यारो थियो । त्यो रात ज्वरो यति आएको थियो कि भोलिपल्टसम्म बाँच्छु भन्ने कल्पना गर्न पनि सकिनँ । ज्वरोले रगत पुरै उम्लिएको थियो, शरीर आगोको रापमा परेझै पोलेको थियो । त्यो रात बाँचे । भोलिपल्ट अस्पताल पुग्दा अर्को आपत सामुन्ने थियो । एउटा पनि बेड खाली थिएन । दिनभर डे केयरमा बस्नुपर्ने भयो । बेहोस भएँछु । कति समयपछि होस आयो, थाहा छैन । तर, चेत आउँदा वरिपरि आफन्तहरु मात्रै थिए । टाउको फुट्लाझै दुःखेको छ । ज्वरो नियन्त्रण गर्न औषधि र सुइले सकेन । वाक्क आउन खोज्छ । पसिनाले शरीर निथ्रुक्क छ ।

बेड नभएपछि अवस्था देखेपछि अस्पतालले अन्त पठाउन पनि सकेन । अन्ततः कसैगरी मिलाएर अस्पतालले एउटा डबल क्याबिनवाला बेड मिलायो । अब मसँग हिँड्ने तागत सकिएको थियो । त्यहीँबाट ह्वील चेयरको यात्रा सुरु भयो ।

मनमा दुईवटा कुरा गडेका थिए, पहिलो डा. विशेष पौडेलले भनेको, एक महिनाभित्र तपाईको जीवनमा जे पनि हुनसक्छ । दोस्रो अस्पताल प्रशासनले भनेको, निजीमा उपचार गरे ६० लाखमाथि र सरकारीमा उपचार गरे ३० लाखमाथि खर्च हुन सक्छ ।

मैले सरकारी अस्पताल भएकाले सिभिल रोजेको थिएँ । ३० लाखभन्दा बढी उपचारमा खर्च हुन्छ भनिएको छ । बाँच्ने कुनै सुनिश्चितता छैन । मेरोजस्तो रोग लागेकाहरुमध्ये ६० प्रतिशत बिरामीको मृत्यु हुने तथ्यांकले देखाउँछ ।

उपचारमा नै घरवार सकिने भयो । बुढीआमा, ज्येष्ठ दाइ, छोराछोरीहरु सडकमा आउने भए भन्ने पीर मनमा छ । जे परिस्थिति आए पनि उपचार नगराई परिवारका सदस्यहरु छाड्ने अवस्थामा छैनन् । ज्वरोले शरीर पोल्छ, उपचार खर्चले मन पोल्छ । निद्रा कसरी पथ्र्यो र ?

यस्तोबेला मनमा पटक–पटक भगवानलाई प्रार्थना गरे, प्रभु म चाँडोभन्दा चाँडो मरौं, जसले मेरो उपचारमा धेरै खर्च नहोस् । मेरो परिवार बेघरबार हुन नपरोस् । मृत्युलाई त्योबेला पटक–पटक नजिक देखें । तर, मृत्युले मलाई उठाएन ।

मैले शीघ्र मृत्यु चाहिरहेका बेला मेरा शुभचिन्तकहरु मेरो आयु लम्ब्याउन जुट्नुभयो । बिरामी भएर अस्पताल भर्ना भएको तेस्रो दिन नै नेपाली पत्रकारहरुको अन्तरराष्टिय सञ्जाल (इञ्जा), डिसी नेपाल डटकम र इनेप्लिजको अगुवाइमा अमेरिकावाट मेरो स्वास्थ्य उपचारका लागि अभियान सुरु भयो ।

अमेरिकाबाट सुरु भएको यो अभियान दुई दिनभित्र नै विश्वव्यापी भयो । अमेरिकाबाट अभियान सुरु भएपछि मात्रै नेपालका धेरै सञ्चारकर्मी र आफन्तजनले यो समाचार थाहा पाए ।

पत्रकारिता आवाजविहीनहरुको आवाज हो भनेर कक्षामा हजारौं पटक आफैंले पढाएको कुरा पहिलोपटक व्यवहारमा आफ्नै जीवनमा भोग्दै थिएँ । अस्पतालमा आवाजविहीन भएर सुतिरहेका बेला मेरो मनको आवाज संसारभर फैलिएको थियो । मेरा केही साथीहरु करिव १५ दिन त भात पानी पनि नभनी आर्थिक सहयोग जुटाउन २४ घण्टासम्म खट्नुभयो । मेरा लागि मेरा ती प्रिय मित्रहरु यसरी जुटेको देखेपछि मैले सोचें, अब म बाँच्नुपर्छ । मेरा साथीहरुले मलाई यसरी गुमनाम मर्न दिँदैनन् । उनीहरुको विश्वास धर्मराउन मैले दिनुहुँदैन ।

साथीहरुमा म मर्दिन भन्ने विश्वास छ भने मैले मृत्युलाई नजिक आउन दिनुहुँदैन ।

उपचारका लागि सहयोग राशी यसरी उठ्दै गयो कि मलाई लाग्यो म त संसारले माया गरेको मान्छे पो हुँ त । संसारले माया गरेको मान्छे यसरी कायर मृत्यु मर्न सक्दैन ।

यो आत्मविश्वासले मलाई बाँच्न प्रेरित त ग¥यो, तर किमो दिन थालेपछि अर्को कहालीलाग्दो कष्टकर अवस्था सिर्जना भयो । एउटा हातमा पिकलाइन छिराइयो र त्यसलाई नसाको बाटोबाट मुटुको नजिकसम्म पु¥याइयो । त्यो लाइनबाट शरीरमा किमो पठाउन थालियो । एकपटकमा ४ हजार ८ सय एमजी । एक साइकलमा २९ हजार एमजी । किमो धान्नु चानचुने आत्मविश्वासले पुग्दैनथ्यो ।

प्रतिकुलता थपिँदै गए । पिकलाइन राखिएको हातमा इन्फेक्सन भयो । सुन्नियो । किमोको वीचमा नै निकालेर पिकलाइन अर्को हातमा सारियो । एकातिर सारिएको हातमा पनि इन्फेक्सन होला भन्ने पीर, अर्कोतिर इन्फेक्सनसँगै ज्वरो चढ्यो । किमो दिन थालेपछि तीनपटक त बेहोस भएँ, श्वास लिनसमेत गाह्रो भएपछि अक्सिजनको सहारा लिनुपर्यो । ज्वरो १०६ डिग्रीसम्म पुग्यो, जसलाई नियन्त्रण गर्न दैनिक ५० हजारभन्दा बढी खर्च भयो ।

जेनेतेन दुई साइकल किमो धानें । तेस्रो किमो दिने बेलामा अर्को प्रतिकुलता आयो । यो बेलासम्ममा मेरो अस्पतालको बसाइ १ महिना १० दिन भएको थियो ।

नेपालमा लकडाउन सुरु भयो । किमोका लागि दिइने औषधि बजारमा छैन । साथीहरु सर्वत्र दौडिए । सोर्सफोर्स लगाए । धन्य ५० हजार पर्ने औषधि १ लाख ४ हजार तिरेर पाइयो । लकडाउनसँगै खानपानमा समस्या भयो । यसै पनि बान्ता भएर खाना नसक्ने मलाई आफन्तको घरबाट खान आउने क्रम पनि रोकियो । क्यान्टिनको खानामा भर पर्नुपर्ने भयो । यो अवस्थामा कति दिन त केही नखाई बस्न बाध्य भएँ । कति दिन दालमात्रै पिएर ज्यान पालें ।

अस्पतालको बसाइ जति बढ्दै जान्थ्यो, त्यहाँ उपचारार्थ भर्ना भएका बिरामीहरु आफन्तझैं लाग्न थाले । मेरा त धेरै साथी र शुभचिन्तकहरु थिए । तर, अधिकांश बिरामीहरु खर्चको अभावमा शीघ्र उपचार पाइरहेका थिएनन् । कति आफन्तझैं भएका बिरामीहरु मृत्युवरण गरिरहेका थिए, जसले मनलाई झन् विचलित बनाउँथ्यो । हिजो पीडाहरु साझेदारी गरिरहेको साथी आज यो संसारमा हुँदैनथ्यो । कति विचित्र लाग्थ्यो । कति मन अतालिन्थ्यो ।

कतिपय बिरामीहरुको मृत्युका बारेमा त सँगै रहेकी पत्नीले पनि मलाई जानकारी गराइनन्, किनकि उनी मेरो मन नआत्तिओस् भन्ने चाहन्थिन् । कतिपय मृत्युहरु रुवाबासीका कारण मात्रै थाहा पाउँथें । कतिपय बिरामीहरुलाई आइसीयुतर्फ दौडाउँदा दौडाउँदै लिफ्टमा नै बितेको सुन्थें । मनमनै प्रार्थना गर्थें, भगवान म यो अस्पतालमा मर्न चाहन्न । म बाँच्न चाहन्छु र निको भएर संसारलाई सुनाउन चाहन्छु, क्यान्सरलाई जित्न सकिन्छ ।

करिव ४ महिनाको उपचार र अस्पताल बसाइपछि हाललाई क्यान्सरलाई पराजित गरेको छु र आराम गरिरहेको छु । शरीरमा क्यान्सरको सेलको उपस्थिति छैन । बोन म्यारोको रिपोर्टले यही भन्छ । नियमित फलोअपमा रहनुपर्छ । औषधिमा मात्रै मासिक ४० हजार जति खर्च हुने अस्पताले जनाएको छ । अब बाँचेर काम गर्नु छ, त्यो उपचार खर्च जुटाउनुछ । तपाईहरुको विश्वासलाई पूरा गर्न क्यान्सर जितेको कथा सुनाउनु छ । सहृदयीहरुलाई धन्यवाद ज्ञापन गर्नु छ ।

सम्पूर्ण सहयोगी र शुभेच्छुकहरुप्रति सदैव ऋणी रहनेछु । मलाई यो जीन्दगी तपाईहरुले दिनु भएको हो । तपाईहरु जसरी मेरो आवाज बन्नुभयो, म जीवनभर अरुको आवाज बन्ने प्रण गर्छु ।

– कीर्तिपुर, काठमाडौं 

साभार ः अनलाइन खबर

सम्बन्धित खवर