काँकडभिट्टा–इनरुवा रेलमार्ग बनाउन जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु - JamarkoOnline

काँकडभिट्टा–इनरुवा रेलमार्ग बनाउन जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु

झापा, २६ जेठ..
सरकारले निर्माणको योजना बनाएको मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको रेलमार्गका लागि जग्गा अधिग्रहण प्रक्रिया थालेको छ ।
काँकडभिट्टा–इनरुवा खण्डको १ सय ६ किलोमिटर लामो रेलमार्ग निर्माणका लागि झापा, मोरड र सुनसरी जिल्लाभित्रका लगभग ४ हजार कित्ताका करीव ६ सय ७३ बिघा १८ कठ्ठा जमिन अधिग्रहण गरिने उल्लेख छ । जसमा झापामा ३ सय ३ बिघा, मोरङमा २ सय ३० बिघा र सुनसरीमा १ सय ४० बिघा १८ कठ्ठा जमिन अधिग्रहण हुने रेल, मेट्रो रेल र मोनो रेल विकास आयोजनाका इन्जिनियर विनोद ओझाले जनाए । रेलमार्गका लागि अधिग्रहण गरिने जग्गाका धनीलाई मुआब्जा वितरणका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको जानकारी दिदै उनले भने,‘मुुआब्जा प्रक्रिया सुरु गरेसँगै रेलमार्ग निर्माणको कामले गति लिन थालिसकेको छ ।’
जसमध्ये सवैभन्दा पूर्वमा रहेको झापाको काँकडभिट्टाबाट सुरु हुने रेलमार्गका लागि जिल्ला प्रशासन कार्यालय झापा सहितका तिनवटै जिल्ला प्रशासन कार्यालय र पालिकाहरुले हकदावी गर्न रेल विभागले सूचना प्रकाशित गरेको ओझाले बताए । जेठ २४ मा सूचना प्रकाशित गरी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको जानकारी गराएको छ ।
जग्गा प्राप्ति ऐन, २०३४ अनुसार सूचना प्रकाशित भएको र यो मितिले ३५ दिनभित्र सम्बन्धित जग्गाधनीले सम्पर्क राख्नु पर्ने उल्लेख गरिएको छ । रेलमार्गमा पर्ने घर, टहरा, उद्योग, सहितका भौतिक संरचना तथा रुख विरुवा आदि समेतको विवरण खुलाएर आवेदन दिनुपर्नेछ । जग्गाधनी वा जग्गाको मोही वा निजको ऐनबमोजिम अधिकारप्राप्त वारेसले जग्गाधनी प्रमाणपुर्जा, मालपोत तिरेको रसिद तथा नेपाली नागरिकताको प्रमाणपत्रका साथमा सम्पर्क राख्न सूचनामा सूचित गरिएको छ ।

सम्बन्धित खवर