आज २ सय ८८ जनामा कोरोना, कुल २ हजार ९९ पुगे - JamarkoOnline

आज २ सय ८८ जनामा कोरोना, कुल २ हजार ९९ पुगे

पथरीशनिश्चरे, २० जेठ…
पछिल्लो २४ घण्टामा ४ स्वास्थ्यकर्मी सहित थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २ सय ८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । यो सँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।
संक्रमित हुनेमा रौटहटका ३८ जना, स्याङ्जा चापाकोटका ५ जना, झापा फलेबास महाशिला क्वारेन्टाइनका ५ जना, सप्तरी रामगढका १ जना, बर्दिया गुलरियाका ३ जना, बाँके खजुरा, नरैनापुर र राप्ती सोनारीका १७ जना, सुर्खेतका २७ जना, दैलेखका ९ जना, सल्यानका १८ जना, अछामका १० जना र बाराका १ जना रहेको देवकोटाले जनाए ।
त्यसैगरी अर्काे चरणको परीक्षणमा दाङका १७ जना, प्युठानका १ जना, कञ्चनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना, महोत्तरीका २ जना, रौटहटका ३६ जना, सर्लाहीका २१ जना, सिरहाका १७ जना, भक्तपुरका १ जना, धादिङका १ जना, कपिलवस्तुका १६ जना, नवलपरासी पूर्वका १ जना, नवलपरासी पश्चिमका १ जना, नुवाकोटका २ जना र रुपन्देहीका १० जनामा कोरोनाको संक्रमण देखिएको छ ।
काठमाडौँ मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । देशभरि क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ४५ हजार ३ सय ७५ र आइसोलेसनमा रहनेको संख्या १ हजार ८ सय २५ रहेको छ ।
२४ घण्टामा डिस्चार्ज हुनेमा थप ४५ जना रहेका छन् । शिक्षण अस्पतलमा उपचाररत मकवानपुरकी एक महिला, गुल्मी अस्पतालबाट १ जना, भीम अस्पतालबाट २५ जना, कपिलवस्तुका ९ जना, सुनसरीका १ जना र झापाका १७ जना डिस्चार्ज भएका हुन् । यसरी डिस्चार्ज हुनेको कुल संख्या २ सय ६६ रहेको छ ।
आजसम्म नेपालमा आरडीटी विधिबाट १ लाख १६ हजार ३ सय ४५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ७५ हजार ३ सय ४३ परीक्षणहरु गरिएको मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको ज्यान गएको छ ।

सम्बन्धित खवर