नेपाली कवितामा गर्विलो नाम विमला तुम्खेवा - JamarkoOnline

नेपाली कवितामा गर्विलो नाम विमला तुम्खेवा

नेपाली कवितामा गर्विलो नाम हो विमला तुम्खेवा । ५० को दषकमै एउटा उचाइ लिएकी मोरंगको पथरी शनिश्चरे १ घर भइ हाल काठमाडौंमा बस्दै आएकी विमला तुम्खेवा कविता लेख्नकै लागी एकखाले पुरातन सोचसङ्ग विद्रोह नै गरेकी उनी आजको “मुलढोका”मा आफ्नो लेखन अनुभव बाड्दैहुनुहुन्छ ।===================================

१. लकडाउनको समय कसरी बिताउदै हुनुहुन्छ ?

– लेख्न पटक्कै सकेको छैन । फुल सिहार्दै योगा गर्दै अनि ७५ बर्षको अामा र ३ बर्षको छोरी छ उहाहरुलाई सम्हाल्दै समय बितिरहेछ उल्टो समय चाहिँ पुगेको छैन मलाई चाहिँ ।

२ लेखन थालनी कहिलेबाट सुरु गर्नु भो याद छ ?

लेख्न चाहिँ २०५० सालबाटै हो तर प्रकाशन २०५१ सालबाट भयो । त्यो बेला अहिले जस्तो सजिलो थिएन प्रकाशनको माध्यम सिमित थियो । गरिमा र मधुपर्कमा कविता छापियो भने त्यो कवि एकहिसाबले स्थापित हुन्थ्यो । लेखनको यात्रामा उबेला अर्कै संघर्ष र अानन्द थियो ।

३.नेपालमा नारी लेखक हुनु कतिको चुनौतीपूर्ण पुर्ण छ ?

सामाजिक ,राजनितीक , धार्मिक र परम्परागत अवस्थाहरुले अाज पनि महिलालाई अत्याचार र विभेद मात्र गरेको छ त्यसकारण महिलाले जहाँ कदम राख्यो त्यहा चुनौतीहरु त कति हो कति तर पछिल्लो दषकहरुमा नेपाली राजनितिको परिवर्तनसँगै महिलाहरु पनि राजनीतिको केन्द्र र अन्य महत्वपूर्ण क्षेत्रहरुको उच्च पदहरुमा पुगेका छन् यो राम्रो सुरुवात हो । तर पितृसत्ताको सोचलाई चिरेर अगाडि बढ्न महिलालाई जुनसुकै क्षेत्रमा एकदमै गाह्रो छ । साहित्यमा पनि महिला सर्जकले महिला भन्ने विषयलाई छोडेर मान्छे भएर लेख्ने र सोच्ने दिन कहिले अाउला ? मेरो दिमागमा पनि यस्तै प्रश्न कहिलेकाही अाउँछ त्यसकारण चुनौती त छ । तर अब यस्ता समस्याहरुलाई अवसर सम्झीएर अगाडि बढ्ने हो ।

४ . हामीले किन र केका लागि लेख्ने ?

– यो प्रश्न सदा झैँ अाम अायो । किन भन्ने प्रश्नमा मेरो हकमा लेख्नु भनेको सुर्ती खाने मान्छेले सुर्ती छोड्न नसक्नु जस्तै हो । के का लागि भन्ने प्रश्नमा चाहिँ लेख्दै जादा कालन्तरमा यो समाज र विश्वको निम्ति बन्दोरहेछ । जस्तै मन्धुम , गीता , बाईबल , कुरान , त्रिपिटक अादी महान ग्रन्थहरु लेखकले अाफ्नो लागि लेखेका थिए पछि यो समाजको निम्ति भयो ।

५ . कविता के रैछ ?

– कविता मान्छेको भावनाको उत्कृष्ट नमुना हो ।

६ . राम्रो कवि बन्न हामीले के गर्ने ?
– पहिलो अावश्यक तत्व चाहिँ कविताप्रति अभिरुचि नै हो अनि निरन्तर लेखीरहनु , लेखीरहनु लेखीरहनु र अध्ययनको दायरालाई व्यापक बनाउने , बाँकी कुरा कविले बाँचेको जीवन अनि उत्पन्न बोधले पनि अाफै कविता राम्रो हुनेछ ।

७ .यहाँको एउटा कविता राखिदिनुस् न ।

सच्याऊ यो ईतिहास
=============

मेरो जन्मलाई बहिष्कार गर्ने
पृथ्वीको प्रत्येक प्राणीलाई भन्न चाहान्छु
तिमीले मेटाउनै नसक्ने सत्य हुँ
मेरो बक्षस्थलबाट बग्दै गएका
यी दुधका धाराहरु संसार निर्माणकाे जग हो
म संसार चलाउने सृष्टि हुँ ।

अादि अनादिकालदेखि
तिमी मेरै यौनको मादकताले सृजना भईरहेछौं
कल्पना गर त –
मैले हाँस्न छोडिदिएको दिन के हुन्छ ?
के हुन्छ यो चली अाएको सृष्टि ?
मेरो हृदयमा करुणा सकियो भने
के हुन्छ तिम्रो अस्तित्व ?
के हुन्छ यो संसारको स्वरुप ?
एकपल्ट तिमीले सोच्न जरुरी छ ।
जबर्जस्ती मलाई बन्धक बनाएर परिबन्दको जञ्जिरमा
अाफुलाई शक्तिशाली सम्झने प्रत्येकले बुझ
तिम्रो जीवनको संरचना मेरो यौनको उन्माद हो
र,
तिमीले म माथी गरेको अत्याचारको प्रत्येक शृङ्खला
ईतिहासको भद्वा मजाक हो ।
नसोच म कमजोर छु
तिम्रो अच्याचारले समाप्त गर्न सक्दैन मलाई
मेरो अस्तित्व यो धर्ती र अाकाशजस्तै अटल छ ।
तिम्रा प्रत्येक कुकर्मको प्रमाण हो मैले बाँचेको जीवन
ईतिहासमा साक्षी छ गान्धारी
सबुत छ इतिहासमा सतिप्रथा
सबुत हो सीताको वनबास
सबुत हो योगमायाको जलसमाधि
सबुत हो यो प्रत्येक स्वास्नीमान्छेको दर्दनाक जीवन
सबुत हो प्रत्येक बलात्कृत छोरी र अामा
सबुत हो बोक्सी करार गरिएको वर्तमान ।

तिम्रो अत्याचारविरुद्व मलाई बौलाउन मन छ ।

हाँक दिन्छु यो बेथितिको विरुद्ध
कस्तो दोहोरो चरित्र हो यो समाजको ?
यति नाटक त हत्याराले पनि गर्दैन ?
शङ्का लाग्छ मलाई मेरो शिरको यो रातो सिन्दुर
कुनै वीरङ्गनाको हत्या षड्यन्त्रको सबुत हो
खुनले लतपतिएको त्यही लासमाथी
तिमीले हत्या गरेको झुटको प्रमाण हो ।

सच्चाऊ यो इतिहासलाई
जसले स्वास्नीमान्छेलाई मान्छे सोचेन
सच्याऊ तिम्रा प्रत्येक गल्ती
सच्याऊ , मानवता विरुद्धको प्रत्येक सभ्यता
खुनैखुनको लासमाथि
झुटको सत्ता चलाएर बाँच्ने तिम्रो हक छैन
बुझ म कमजोर छैन
तिम्रो छली शासनलाई म केवल पानीको फोका देख्छु ।

अहँ,
सहने छैन तिम्रो दमन
मलाई जेलझै लाग्छ यहाँको प्रत्येक सभ्यता र संस्कृति
मलाई सास फेर्न पनि मुस्किल भईरहेछ
धमिरा लागिसकेको माटोको ढिस्कोजस्तो
मेरो जन्मदिनमा मनाउनु पर्दैन कुनै उत्सव
गर्नु पर्दैन कुनै नाटक
भर्खरै अस्पतालमा कति मारिदैछन् होला गर्भमै छोरीहरु
भर्खरै कति मारिए होलान् यो धर्तीमा छोरीहरु
यो बीभत्स हत्या शृङ्खलाले म पागल भईसकेको छु
कस्तो तिमीलाई नदुखेको ?
कसरी गर्न सकेको अाफ्नै अामा र छोरीको हत्या ?
मलाई उसको चित्कारको कल्पना गर्दा पनि
अाङ सिरिङ्ग भएर अाउँछ

सच्याऊ ,
सच्याऊ ईतिहासले छोरीमाथि गरेको प्रत्येक अन्यायलाई
बन्द गर छोरीलाई गर्भमै हत्या गर्न
कल्पना गर
जसरी तिमीले छोरीहरुको हत्या गरिरहेछौ
त्यसरी नै छोरीहरु यो दुनियाँमा जन्मन छोडे भने
यो संसार कस्तो हुन्छ ???????
********************************
(फोटो सजावट : प्रदिप योङ्हाङ लिम्बू , धरान )

साभार ः “मुलढोका”का लागि साहित्यकार प्रकाश दिप्सालीसँगको कुराकानी ।

सम्बन्धित खवर