भारतीय अभिनेता इरफान खानको निधन - JamarkoOnline

भारतीय अभिनेता इरफान खानको निधन

पथरीशनिश्चरे, १७ बैशाख..
हिन्दी चलचित्रका सफल अभिनेता इरफान खानको उपचारका क्रममा भारतको मुम्बइमा निधन भएको छ ।
बलिउड अभिनेता खानको मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा ५४ वर्षको उमेरमा निधन भएको हो । दुई वर्षदेखि ‘न्युरोएन्डोक्राइन’ क्यान्सरसँग जुधिरेहका उनले ‘लाइफ अफ पाई’, ‘लन्चबक्स’, ‘पान सिंह तोमार’, ‘हिन्दी मिडियम’ ‘अंग्रेजी मिडियम’ लगायतका थुप्रै सफल चलचित्रमा अभिनय गरेका थिए ।
क्यान्सरसँग जुध्दै उनले ‘अंग्रेजी मिडियम’ को छायांकन पूरा गरे । सन् २०१८ मा आफूलाई ‘न्युरोएन्डोक्राइन क्यान्सर’ भएको थाहा पाउँदा लागेको झट्कादेखि शान्त हुँदाको महसुसका बारेमा उनको अनुभूति टाइम्स अफ इन्डियामा छापिएको थियो । वर्तमानको रीतलाई नियन्त्रण गर्ने प्रयास गर्नु हुँदैन भन्ने महसुस गरेका थिए ।
सुनील पोखरेल र इरफान नाटकका सँगैका विद्यार्थी….
दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामामा नेपालका चर्चित नाट्यकर्मी सुनील पोखरेल र उनी एउटै क्लासका विद्यार्थी थिए । सन् १९८४(१९८७ को ब्याच हो उनीहरुको । तीन वर्ष एउटै कक्षामा पढ्दा उनीहरु निकट भएका थिए ।
एकदम रमाइलो स्वभावका लगनशील इरफान सन् २००८ मा सुनील आवद्ध आरोहण गुरुकुलले अन्तर्रा्ष्ट्रिय नाटक महोत्सव गर्दा महोत्सवमा सुनीलको निमन्त्रणमा अतिथिका रुपमा पहिलो पटक उनी नेपाल आएका थिए । सुनील र उनकी श्रीमती निशा पनि उसको घर मुम्बई गएर एकसाता बसेर आएका थिए ।

सम्बन्धित खवर