शरणार्थीलाई कञ्चनजंघाको राहत - JamarkoOnline

शरणार्थीलाई कञ्चनजंघाको राहत

पथरीशनिश्चरे, १३ बैशाख..
कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको बन्दाबन्दी ( लकडाउन) का कारण समस्यामा परेका मोरङको पथरीशनिश्चरेको शिविरमा रहेका भूटानी शरणार्थीहरुलाई स्थानीय कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको संयोजनमा राहत वितरण गरिएको छ ।
समितिको पहलमा तेस्रो देश गएका भूटानी शरणार्थी, नेपालीहरुबाट सहयोग संकलन हुँदा पछिल्लो पटक शिविरका १ सय ४७ परिवारका लागि आज १ हजार ७ सय केजी चामल वितरण गरिएको छ । ३ जनासम्मको परिवारलाई प्रति परिवार १० केजी र सो भन्दा बढी सदस्य संख्या रहेको परिवारलाई १५ केजीका दरले चामल तथा दाल र नून १,१ केजी र तेल १ लिटरका दरले प्रदान गरिएको छ ।
शिविर व्यवस्थापन समितिमार्फत राहत वितरण गरिएको कञ्चनजंघा दैवीप्रकोप व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले जनाए ।
समितिले यसअघि पनि अन्य १ सय ८ परिवारका लागि राहत वितरण गरेको जनाउँदै अध्यक्ष ढुंगानाले हालसम्म २ सय ५५ परिवारलाई राहत वितरण गरिएको बताए । राहतका लागि १ लाख ८७ हजार २५ रुपैयाँ सहयोग संकलन भएको पनि उनले जनाए । मास्क नहुनेलाई मास्क समेत वितरण गरिएको छ । जसमा अमेरिकामा रहेका सो शिविरका हेम गिरीले १० हजार, अमेरिकामा रहेका जिरिखिम्तीका प्रदीप कटुवालले १० हजार, विदेशमा रहेका सम्शेर निरौलाले २० हजार, जिरिखिम्तीका निकेश दहालले ५ हजार, वसन्त कार्कीले ५ हजार सहितको सहयोग जुटेको थियो । तेस्रो देशमा रहेका मानव खनाल, ओम गौतम, डिल्लीमान वस्नेत, लक्ष्मी संग्रौला, मनिष संग्रौला, भीम पौडेल, विदुर निरौला सहितले सहयोग पठाएका हुन् । समितिको अभियानलाई शिविर सचिव चम्पासिंह राईले प्रसंसा गरेका छन् ।
समितिले शरणार्थीलाई राहत र ९ वटा निकायलाई सुरक्षा सामग्री वितरण गर्ने क्रममा सक्रियता देखाएको छ । ती निकायका पालिकाहरुमा जानकारी गराई सुरक्षा सामग्री हस्तान्तरण गरिएको उल्लेख छ ।
समितिले प्रहरी चौकी गछिया, शसस्त्र बेस क्याम्प सलकपुर, प्रहरी चौकी विराटचोक, इलाका प्रहरी कार्यालय बेलबारी, सशस्त्र प्रहरी बल लक्ष्मीमार्ग, शरणार्थी बेस क्याम्प, शनिश्चरे बेस क्याम्प, इलाका प्रहरी कार्यालय पथरी र डाँसमोरङ्गी सामुदायिक वन उपभोक्ता समूहलाई कोरोना भाइरसको संक्रमणबाट जोगिने सुरक्षा सामग्री प्रदान गरेको छ । यी ९ निकायमा गरी मास्क ४ सय ४५ थान, ग्लोब २ सय २० जोडी, हेड क्याप १ सय ८२ थान, सेनिटाइजर १५ थान र साबुन १५ थान वितरण भएको छ । सो अभियानमा अध्यक्ष ढुंगानाका साथै कोषाध्यक्ष हरि निरौला, सदस्य सुजन कटुवाल सहितले ९ वटा निकायमा पुगेर सामग्री हस्तान्तरण गरेका हुन् ।
उता, नगरको ४ नम्बर वडाका जनप्रतिनिधिहरुले ३ सय केजी चामल राहत स्वरुप उपलब्ध गराएका छन् ।
वडाध्यक्ष गोविन्दबहादुर भण्डारी तथा सदस्यहरु अम्बरबहादुर बराइली, खड्गबहादुर सुस्लिङ, दिलु मगर र तुलसा दर्जीले व्यक्तिगततर्फबाट ३ सय केजी चामल खरिद गरिएको हो । नगरबाट छुटपुटका लागि पछिल्लो पटक वितरित ५० घर परिवार सहित जनप्रतिनिधिको राहत समेत गरी हालसम्म दैनिक ज्यालामजदुरी गर्ने विपन्न ३ सय ७३ लाई चामल, दाल, तेल, नून र साबुन राहत विरतण गरिएको छ ।
यसका साथै वडाको विपद व्यवस्थापन कोषको २० हजार रुपैयाँ पनि राहतका लागि छुट्याइएको वडाध्यक्ष भण्डारीले जनाए ।
पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले सञ्चालन गरेको ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को ‘एनआइसी एशिया बैंक’को खातामा हालसम्म ३३ लाख ४९ हजार ५ सय ४५ रुपैयाँ जम्मा भएको छ ।

सम्बन्धित खवर