४ हजार ३ सय बढीलाई राहत, एकैदिन साढे ६ लाख बढी रकम संकलन - JamarkoOnline

४ हजार ३ सय बढीलाई राहत, एकैदिन साढे ६ लाख बढी रकम संकलन

 

पथरीशनिश्चरे, २६ चैत..
कोरोना भाइरसको संक्रमणबाट जोगिन गरिएको बन्द (लकडाउन) का कारण बढी समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्नेका लागि मोरङको पथरी शनिश्चरे नगरपालिकाले १० वटा वडामा ४ हजार ३ सय बढीलाई राहत वितरण सम्पन्न गरेको छ
आज वडा नम्वर १ मा १ हजार १ सय २८ परिवारलाई राहत वितरण गरिएको छ ।
स्वास्थ्य सतर्कताका साथ सामाजिक दुरी कायम गरी साबुनपानीले हात धुन लगाइ सेनिटाइजर लगाइदिएर ‘कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समिति’, राहत व्यवस्थापन तथा वितरण समिति र वडास्तरीय समिति मार्फत राहत वितरण गरिएको हो ।
यस अघि वडा नम्वर २ मा ४ सय ३०, ३ मा २ सय २३, ४ मा २ सय ९६, ५ मा ५ सय ५९, ६ मा ५ सय ६९, ७ मा १ सय ४७, ८ मा २ सय २२, ९ मा १ सय ८६ र १० मा ५ सय ८२ घर परिवारलाई राहत वितरण गरिएको छ । नगरमा राहत पाउनेको कुल संख्या ४ हजार ३ सय ४२ रहेको राहत व्यवस्थापन तथा वितरण समितिले जनाएको छ ।
२ जनासम्मको परिवारलाई प्रति परिवार १२ केजी चामल, २ भन्दा बढी सदस्य रहेका परिवारलाई २५ केजी चामल तथा सवैका लागि प्रति परिवार २ केजी दाल, १ केजी नून, १ लिटर खानेतेल र २ वटा साबुन राहतका रुपमा वितरण भएको छ ।

कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिका संयोजक नगर प्रमुख दिलीपकुमार राईको संयोजन तथा समिति सदस्य तथा राहत व्यवस्थापन तथा वितरण समिति संयोजक नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा राहत वितरण भएको छ ।
जसमा समन्वय समितिका सदस्य दीपक वस्नेत, राहत व्यवस्थापन तथा वितरण समिति सदस्यहरु २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, ८ नम्वर वडाध्यक्ष बाबुराम दहाल, ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङका साथै १ नम्बर वडाध्यक्ष बाबुराम एङ्देन, ३ नम्वर वडाध्यक्ष डम्बरबहादुर चेम्जोङ, ४ नम्वर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, ५ नम्वर वडाध्यक्ष जोगबहादुर धिमाल, ७ नम्वर वडाध्यक्ष कपिलमणि ढकाल, ९ नम्बर वडाध्यक्ष भानुभक्त राई, १० नम्वर वडाध्यक्ष सागर राईको वडा वडामा अगुवाई रह्यो । यसमा समन्वय समिति सदस्य राजनीतिकर्मी चन्द्रकुमार राई र दुर्गाप्रसाद भट्टराईका साथै कार्यपालिका सदस्य, वडा सदस्य, वडास्तरीय राहत वितरण समितिका सदस्य, कर्मचारी, ‘प्रहरीको साथी म’ नामक समिति, समाजसेवी, युवा सहितको सहभागिता रहेको थियो ।
विभिन्न व्यक्ति तथा संघ संस्थाले समेत प्रदान गरेको नगद तथा खाद्यान्न र नगरको विपद व्यवस्थापन कोष अन्तर्गतबाट एकद्वार प्रणालीमा राहत वितरण गरिएको नगर प्रमुख राईले जनाए ।
समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन खडा गरेको राहत कोषमा हालसम्म ८ लाख १७ हजार १ सय १२ रुपैयाँ जम्मा भएको छ । जसमा हालसम्म सवैभन्दा बढी प्याव्सनमा आवद्धमध्ये २० वटा संस्थागत विद्यालयबाट ५ लाख ५४ हजार १ सय ११ रुपैयाँ जम्मा भएको छ । आज सो रकम नगरको समन्वय समितिमा हस्तान्तरण भएको छ । त्यसमध्ये बाल्मिकी स्कुलले १ लाख २ हजार, एभरेष्ट स्कुलले १ लाख प्रदान गरेको छ । विद्यालय, शिक्षक र कर्मचारीबाट समेत गरी सो रकम जम्मा भएको प्याव्सनका नगर अध्यक्ष उपेन्द्र कँडेलले जनाए ।
नोबेल अस्पताल विराटनगरका सञ्चालक डा. सुनील शर्माले व्यक्तिगत रुपमा १ लाख ११ हजार रुपैयाँ नगदै प्रदान गरेका छन् । नगर समन्वय समिति संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राई सहित प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला र जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यलाई आज विराटनगरमा सो रकम हस्तान्तरण गरेका छन् ।

सम्बन्धित खवर