राहत संकलन बढ्दै, पथरीशनिश्चरे नगरले छुट्यायो ३० लाख - JamarkoOnline

राहत संकलन बढ्दै, पथरीशनिश्चरे नगरले छुट्यायो ३० लाख

 

पथरीशनिश्चरे, २१ चैत..

मोरङको पथरीशनिश्चरे नगरमा दैनिक ज्यालामजदुरी गर्नेका लागि राहत संकलन कार्य अघि बढेको अवस्थमा नगरपालिका कार्यालयले राहत कोषका लागि ३० लाख रुपैयाँ छुट्याएको छ ।
कार्यपालिकाको आजको आकस्मिक बैठकले कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको बन्द (लकडाउन) का कारण समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्ने विपन्न परिवारलाई राहतका लागि नगरपालिको विपद व्यवस्थापन कोषबाट ३० लाख रुपैयाँ व्यवस्थापन गर्ने निर्णय गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले वताए ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको बैठकले राहत व्यवस्थापनको काम धमाधम भइरहेको उल्लेख गर्दै कार्यविधि अनुरुप वडा वडाबाट आएको तथ्यांकलाई हेरेर यथासिघ्र राहतका रुपमा खाद्यान्न वितरण गर्ने निर्णय भएको छ ।
बैठकले, नगरस्तरीय राहत व्यवस्थापन तथा वितरण कार्यका लागि नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरेको छ । समितिको सदस्यहरुमा, ८ नम्बर वडाध्यक्ष बाबुराम दहाल, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङ र पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत रहेका छन् । यसका साथै वडाको सम्पर्क व्यक्तिका रुपमा प्रत्येक वडाका वडाध्यक्षलाई तोकिएको छ । प्रत्येक वडामा पनि वडाध्यक्षको संयोजकत्वमा कोरोना भाइरस जोखिम न्यूनिकरण तथा राहत समिति गठन गरिएको छ ।
कार्यपालिका बैठक अघि ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को बैठक बसी राहतको योजना बनाएको थियो । नगर प्रमुख राईको संयोजकत्वको ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को खातामा जम्मा भएको नगद तथा वडा वडामा जम्मा भएको खाद्यान्न सहितको राहतलाई वडा वडाका उपयुक्त स्थानहरुबाट भीडभाड नगरी वितरण गर्ने योजना रहेको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको बन्द (लकडाउन) का कारण समस्यामा परेका पथरी शनिश्चरे नगर क्षेत्रका दैनिक ज्यालामजदुरी गर्ने विपन्न परिवारका लागि वडा वडामा राहत संकलन भइरहेको छ ।
यस क्रममा वडा नम्वर ९ मा ७ सय किलोग्राम चामल, ५ लिटर खानेतेल, १० किलो नून वडावासीबाट संकलन भएको वडाध्यक्ष भानुभक्त राईले जनाए ।
यसैगरी, आज वडा नम्वर १० स्थित ओमसिआर जम्बुलिङ बज्र गुम्बाले १० नम्वर वडा कार्यालयमार्फत २० हजार रुपैयाँ बराबरको खाद्यान्न राहत उपलब्ध गराएको छ ।
कार्यक्रममा, गुम्बाका भवुलसिंह तामाङ, चन्द्र तामाङ सहितले वडाध्यक्ष सागर राईमार्फत वडाको ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ लाई सो राहत हस्तान्तरण गरेका छन् । जसमा, ३ सय किलोग्राम चामल, १,१ केजीका ३० पोका दाल, आधालिटरको ३० पोका तेल, ३० केजी नून र ३० वटा साबुन रहेका छन् ।
यसैगरी, ४ नम्वर वडामा ध्रुवकुमार बराइलीबाट १ सय किलोग्राम चामल, प्रतिज्ञा विश्वास मण्डलीबाट १ सय ५० पोका नून र संयुक्त वडास्तरीय महिला समितिबाट ७५ किलोग्राम चामल, १ काटन तेल हस्तान्तरण भएको छ । ती सामान कोरोना विपद व्यवस्थापन तथा राहत वितरण वडा समितिलाई हस्तान्तरण गरिएको समिति संयोजक एवम् वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले बताए ।
अन्य वडामा पनि खाद्यान्न सहितको राहत संकलन कार्य भइरहेको छ ।
यसैबीच, नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन खडा गरेको राहत कोषमा आजसम्म २ लाख ३५ हजार १ सय रुपैयाँ जम्मा भएको छ । ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को एनआइसी एशिया बैंकको खातामा हालसम्म २ लाख ३५ हजार १ सय रुपैयाँ जम्मा भएको हो । ५ संस्था र ६ व्यक्तिमार्फत सो राहत संकलन भएको हो । २ नम्वर अध्यक्ष यामप्रसाद गुरागाईं सहितका वडाका पाँचैजना सदस्यले जनही १० हजारका दरले ५० हजार रुपैयाँ राहत कोषमा प्रदान गर्ने आज घोषणा गरेका छन् । जसमा कार्यपालिका सदस्य अरुणा राई, वडा सदस्य अग्नी गुरुङ, सीता भुषास र पर्शुराम न्यौपाने छन् । ७ नम्वर सदस्य काँशीराज राई र १० नम्वर सदस्य अनोज घिमिरेले जनही १० हजार रुपैयाँ बैंक खातामा जम्मा गरिसकेका छन् । १० नम्वर वडाध्यक्ष सागर राईले आफ्नो १ महिनाको भत्ता र कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले १० हजार प्रदान गर्ने घोषणा गरेका छन् ।
जहाँ जहाँ जो जोबाट सहयोग आएपनि नगरस्तरीय सो समितिमार्फत एकद्वार प्रणालीमा मात्रै राहत व्यवस्थापन र वितरण गरिने समिति संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईले जनाए । राहत उपलब्ध गराउन इच्छुक जो कोहीलाई समितिले सञ्चालन गरेको राहत कोषको ०८४४१५००२७७५६००२ नम्बरको खातामा रकम जम्मा गर्न आव्हान समेत गरिएको छ ।

दाताहरुको नामावली ……..
१, दीपक वस्नेत, (पथरी शनिश्चरे, १) १ लाख १ हजार
२, लर्डबुद्ध सहकारी (प श, २ ) २० हजार १
३, महिला जातृति सामुदायिक वन (प श, ९) १५ हजार
४, सागर तुम्वापो (प श ३, हाल इजरायल) १५ हजार
५, रोशन खरेल (प श, ९) १० हजार
६, महेन्द्रचोक जेसीवी सञ्चालक टिम (प श, ९) ३ हजार
७, मनकामना सहकारी संस्था लि. (प श १) २१ हजार
८, काँशीराज राई ( प श ७, ) १० हजार
९, अनोज घिमिरे ( प श १०, ) १० हजार
१०, हरिराज प्याकुरेल ( प श १) ५ हजार १ सय
११, उत्साही साना किसान सहकारी संस्था (प श)
( कृषि विकास बैंकमार्फत) २५ हजार

सम्बन्धित खवर