‘डिसइक्फेक्टेड’ गराउन औषधि छिट्दै, राहत पनि संकलन - JamarkoOnline

‘डिसइक्फेक्टेड’ गराउन औषधि छिट्दै, राहत पनि संकलन

 

पथरीशनिश्चरे, २० चैत…
मोरङको पथरी शनिश्चरेमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण अभियान अन्तर्गत नगरका सार्वजनिक स्थानहरुमा भाइरसमुक्त क्षेत्र ( ‘डिसइक्फेक्टेड’) गर्न ब्लिचिङ औषधि छिट्ने काम आजबाट सुरु भएको छ ।
भाइरसबाट ‘डिसइक्फेक्टेड’ क्षेत्र बनाउन नगरबाट वडा नम्वर १ को पथरी वजार क्षेत्रबाट औषधि छिटन् काम थालिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए । जसमा नगरका समाजसेवी युवाहरु सुविन पराजुली, रोशन पराजुली, रविन कार्की, भेषराज मिश्र सहित औषधि छिट्ने काममा खटिएका छन् ।
यसैबीच, नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन खडा गरेको राहत कोषमा सहयोग जुट्ने क्रम अघि बढेको छ ।
‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को एनआइसी एशिया बैंकको खातामा विहीवार विहानसम्म १ लाख ८५ हजार रुपैयाँ जम्मा भएको छ ।
जहाँ जहाँ जो जोबाट सहयोग आएपनि नगरस्तरीय सो समितिमार्फत एकद्वार प्रणालीमा मात्रै राहत व्यवस्थापन र वितरण गरिने समिति संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईले बताए । नगरपालिकाको विपद व्यवस्थापनको समेत बजेटमा थप कोष जम्मा गरी वडा वडामा राहत उपलब्ध गराइने छ । राहत उपलब्ध गराउन इच्छुक जो कोहीलाई समितिले सञ्चालन गरेको राहत कोषको ०८४४१५००२७७५६००२ नम्बरको खातामा रकम जम्मा गर्न आव्हान समेत गरिएको छ । २ दिनको अवधिमा हालसम्म पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेतले व्यक्तिगत रुपमा १ लाख १ हजार दिएपछि अन्य सहयोग जुट्ने अभियान अघि बढेको हो ।
१ नम्बर वडाको मनकामना सहकारीले २१ हजार, २ नम्वर वडाको लर्डबुद्ध सहकारी संस्थाले २० हजार १, ९ को महिला जातृति सामुदायिक वन उपभोक्ता समूहले १५ हजार, हाल इजरायलमा रहेका ३ नम्बरका सागर तुम्वापोले १५ हजार, ९ का रोशन खरेलले १० हजार ९ कै महेन्द्रचोक जेसीवी सञ्चालक टिमले ३ हजार रकम जम्मा गरेका छन् । कतिपय वडामा खाद्यान्न समेत संकलन भएको छ । ९ नम्वर वडामा २८ हजार नगद र ७ क्विन्टल चामल, ५ लिटर तेल, किलो नून भेला भएको वडाध्यक्ष भानुभक्त राईले जनाए ।
यसैबीच, ५ नम्वर वडाध्यक्ष जोगबहादुर धिमालले आफ्नो तर्फबाट तथा आफ्नो १ सय बोरा चामल प्रदान गर्ने बताएका छन् । १० नम्वर वडाध्यक्ष सागर राईले आफ्नो १ महिनाको भत्ता राहतका लागि दिने घोषणा गरेका छन् । १० नम्वरकै सदस्य अनोज घिमिरे, ७ नम्वर सदस्य काशीराज राई र २ नम्वर सदस्य पर्शुराम न्यौपानेले पनि जनही १०, १० हजार रकम राहतका लागि प्रदान गर्ने घोषणा गरिसकेका छन् ।

सम्बन्धित खवर