राहत सहयोगका लागि आव्हान - JamarkoOnline

राहत सहयोगका लागि आव्हान

 

पथरीशनिश्चरे, १८ चैत..
मोरङको पथरीशनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन आव्हान गर्दै बैंक खाता खोलेको छ ।
समितिका संयोजक नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको आजको बैठकले एनआइसी एशिया बैंक पथरी शाखामा खाता सञ्चालनको निर्णयपछि खाता खोलिएको छ । जहाँ जहाँ जो जोबाट सहयोग आएपनि सो समितिमार्फत एकद्वार प्रणालीमा मात्रै राहत व्यवस्थापन र वितरण गरिने समिति संयोजक राईले बताए । बैठकले, राहत उपलब्ध गराउन इच्छुक जो कोहीलाई समितिले सञ्चालन गरेको राहत कोषको ०८४४१५००२७७५६००२ नम्बरको खातामा रकम जम्मा गर्न आव्हान समेत गरिएको उनले उल्लेख गरे ।
पथरीशनिश्चरेमा फाउण्डेशनबाट पीपीइ ….
अमेरिका नेपाल मेडिकल फाउण्डेशनको पहलमा पथरीशनिश्चरे नगरमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) उपलब्ध गराइएको छ ।
कोरोना संक्रमणबाट सुरिक्षत भएर उपचार गर्ने नगर अस्पतालका स्वास्थ्यकर्मीका लागि १० थान विशेष पीपीइ, १० थान फुलबडी सेफ्टी गाउन र १० थान इएन वान ४९ मास्क उपलब्ध भएको हो । फाउण्डेशनका अध्यक्ष पथरी शनिश्चरे नगर निवासी डाक्टर भूपेन्द्रकुमार वस्नेतको पहलमा ती सामग्री आएका हुन् ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका जनसम्पर्क सल्लाहकार रामकुमार बस्नेतले मंगलबार नगर प्रमुख दिलीपकुमार राई, पथरी नगर अस्पताल व्यवस्थापन समिति अध्यक्ष यामप्रसाद गुरागाईं सहितलाई नगर अस्पतालमा हस्तान्तरण गरेका छन् । ती सामग्री पथरी नगर अस्पतालमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मी र नगरले सञ्चालन गरेको एम्बुलेन्सका चालकलाई प्रदान गरिने जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए । नगर अस्पतालले कोरोना संक्रमणको आशंका भएकाहरुका लागि १० बेडको आइसोलेसन वार्ड समेत तय गरेको छ ।

सम्बन्धित खवर