कोरोना जोखिम न्यूनिकरण र राहत व्यवस्थापन समिति - JamarkoOnline

कोरोना जोखिम न्यूनिकरण र राहत व्यवस्थापन समिति

 

पथरीशनिश्चरे, १७ चैत..
मोरङको पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईको संयोजकत्वमा कोरोना भाइरस जोखिम न्यूनिकरण तथा राहत व्ययवस्थापन समिति गठन भएको छ ।
नगरपालिकाको समन्वयमा इलाका प्रहरी र पथरी उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको आज बसेको बैठकले नगर प्रमुख राईको संयोजकत्वमा ६ सदस्यीय समन्वय समिति गठन गरिएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले बताए । नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलीपकुमार गिरी र नगरपालिका कर्मचारी लुकनाथ पोखरेलाई सदस्यमा चयन गरिएको छ । प्रत्येकबीच कम्तिमा डेढ मिटरको दुरी तय गरी नगर प्रमुख राईको अध्यक्षतामा बैठक बसेर छलफल गरिएको थियो ।
बैठकले, प्रत्येक वडाबाट दैनिक ज्यालादारी मजदुरको संख्या २ दिनभित्र संकलन गरी नगरपालिकामा पठाउने र उनीहरुका लागि वडासँगको समन्वयमा एकद्धार प्रणालीबाट राहत व्यवस्थापन तथा वितरण गर्ने पनि निर्णय भएको छ । वडाहरुमा वडाध्यक्षको संयोजकत्वमा दैनिक ज्यालादारी मजदुरको पहिचान गरी राहत व्यवस्थापनका लागि समिति समेत गठन गरिने छ । चैत १ गतेयता विदेशबाट घर फर्किएका नागरिकको विवरण वडा कार्यालयमार्फत संकलन गर्ने पनि बैठकले निर्णय गरेको छ ।
यसका साथै कोरोनाको ‘लकडाउन’लाई कडाईका साथ पालना गर्न लगाउने तथा अत्यावश्यक पर्ने खाद्यान्न, सागसब्जी, दुध, फलफुल, औषधिको सुरक्षित व्यवस्थापन गर्ने कुरामा बैठकले जोड दिएको छ ।
बैठकले, यसका साथै नगरपालिका, वडा क्षेत्रमा कोरोना संक्रमणबाट वच्ने औषधि छर्किएर निर्मलिकरण (डिसइन्फेक्टेड) गराउने समेत निर्णय गरेको छ । बैठकमा नगरका वडाध्यक्ष सहितको सहभागिता रहेको थियो । विपतको यो समयमा अति विपन्नको राहतका लागि आव्हान समेत गर्दै विपद व्यवस्थापन समितिमार्फत नगरले समेत राहत व्यवस्थापन गर्ने नगर प्रमुख राईले जनाएका छन् ।
यसैबीच, समन्वय समितिका सदस्य दीपक वस्नेतले राहत कोषका लागि व्यक्तिगतरुपमा १ लाख १ हजार रुपैयाँ प्रदान गर्ने बैठकमा घोषणा गरेका छन् ।

सम्बन्धित खवर