युवाबाट प्रहरीलाई मास्क र तरुणबाट चोकमा बाल्टी - JamarkoOnline

युवाबाट प्रहरीलाई मास्क र तरुणबाट चोकमा बाल्टी

 

पथरीशनिश्चरे, ११ चैत
कोरोना भाइरसबाट वच्ने सचेतनाका साथ मोरङको पथरीशनिश्चरेमा राष्ट्यि युवा संघ नेपालले प्रहरीलाई मास्क वितरण गरेको छ भनें नेपाल तरुण दलले हातधुने व्यवस्था मिलाएको छ ।
संघले, नगरभित्र रहेको प्रहरी चौकी कुशेचौरी, सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरे, सशस्त्र प्रहरी भुटानी सुरक्षा बेस क्याम्पका सुरक्षाकर्मीलाई आज ६० थान मास्क वितरण गरेको छ । लडकडाउनको अवस्था भएपनि जनताको सुरक्षाका लागि सुरक्षाकर्मीलाई हौसल प्रदान गर्न मास्क वितरण गरिएको संघका नगर सहसंयोजक नवीनजङ कार्कीले जानकारी दिएका छन् ।
संघले हिजो जेष्ठनागरिक तथा सामाजिक सुरक्षाभत्ता बितरण गरिरहेका बैंकहरुमा गएर बैंकका प्रवन्धकलाई सेनिटराइज र मास्क निशुल्क वितरण गरेको छ । उपस्थित जेष्ठनागरिकहरुलाई यसको हातधुने तरिका र सेनेटराइजको प्रयोगको विधि सिकाइएको थियो । संघको वडा नम्बर १ साखा कमिटीले पथरी बजारको विभिन्न स्थानमा हातधुने स्थल निर्माण समेत गरेको छ ।
यसैगरी, नेपाल तरुण दलले पनि हिजो पथरी बजारका केही स्थानमा साबुनपानीले हातधुने व्यवस्थापन गरेको छ । भूपेन्द्र रणपहेलीको संयोजकत्वमा विभिन्न ठाउँमा पानी हाल्ने बाल्टि, हेण्डवास तथा साबुन र पानी राखेको छ । ट्राफिक कार्यालय, बसपार्क तथा शनिश्चरे लगायतका ठाउँहरुमा २० थान बाल्टी, हेण्डवास लगायतका सामग्री राखिएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति गणेश खड्का, नेपाली काङ्ग्रेस पथरीशनिश्चरे नगरसचिव दुर्गाप्रसाद भट्टराई, युवा नेता धनकुमार तामाङ, वडा नम्बर १० का वडाध्यक्ष सागर राई, विद्यार्थी नेता रोशन पराजुली, सुविन पराजुली सहितको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर