कोरोनाको सजकताका लागि अत्यावश्यक सेवा मात्र सञ्चालन - JamarkoOnline

कोरोनाको सजकताका लागि अत्यावश्यक सेवा मात्र सञ्चालन

पथरीशनिश्चरे, १० चैत…
विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण भीडभाडमार्फत अफ फैलिन सक्ने कुरालाई ध्यानमा राखेर मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले अत्यावश्यक सेवाहरु मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न आजको नगर कार्यपालिकाको बैठकले त्यस्तो निर्णय गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । नगर अस्पताल, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र, एम्बुलेन्स सेवा, खानेपानी, फोहोरमैला सहित संघीय सरकारले तोकेको १७ प्रकारका अति आवश्यकीय क्षेत्रका कामहरु मात्र विना भिडभाडमा सञ्चालन गरिने बैठकले निर्णय गरेको उनले बताए ।
बैठकले नगर भित्रका साप्ताहिक हाट बजारलाई तत्कालका लागि वन्द गर्ने निर्णय गरेको छ ।
कोरोनाको आशंका भएका विरामीहरुका लागि थप सुरक्षित वनाएर उपचारका लागि पठाउन पथरी नगर अस्पतालमा १० शैयाको आइसोलेसन वार्ड निर्माण गरिदै गरेको पनि बैठकमा जानकारी गराइएको छ । आवश्यक ठाउँमा हेल्थ डेक्स समेत खडा गर्ने पनि निर्णय गरिएको छ ।
यसक्रममा नगर प्रमुख दिलीपकुमार राईले आज मिक्लाजुङको टाँडीमा प्रदेश सरकारले बनाएको क्वारेन्टाइन वार्डको पनि निरीक्षण गर्दै नगरमा त्यसखाले वार्ड व्यवस्थित गर्न पहल भइरहेको जनाए ।
नगर अस्पतालमा दैनिक रुपमा ६० प्रतिशत नियमित औषधि खाइरहने र २० प्रतिशत रुघा खोकीका विरामी आउने गरेको डाक्टर साकारबाबु घर्तीले जानकारी गराए । यसक्रममा हिजो १ जना र आज २ जना विदेशबाट आएकाले पनि स्वास्थ्य परीक्षण गराएको उनले वताए । तर उनीहरुमा कोरोनाको संक्रमणको जस्तो कुनै लक्षण नदेखिएको र सामान्य अन्य प्रकारकै जाँचका लागि आएको उल्लेख गरे । १, १ जनाका दरले मात्र विरामीलाई पठाएर भिडभाड हुन नदिने वातारण मिलाउँदै उपचार गराइएको छ । स्वास्थ्यकर्मीका लागि सुरक्षाका सामाग्री र सेनिटराइज अस्पताले निर्माण गर्दै गरेको छ । अस्पतालले ओपीडी सेवालाई कम गर्दै आकस्मिक सेवालाई २४ घण्टा नै सञ्चालनको योजना बनाएको छ ।
यसका साथै, बैठकले नगरवासीलाई अत्यावश्यक काममा बाहेक घर बाहिर हिडडुल नगर्न तथा अत्यावश्यक काम परेमा पनि सुरक्षित तरिका अपनाएर जानका लागि अनुरोध गरेको छ । साथै नगरका हाल कुनै पनि योजना तथा भिडभाड हुनेखाले कार्यक्रम नगर्न तथा नगरवासीलाई पनि त्यसखाले काम नगर्न आव्हान गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट वच्ने उपाय सहितको जनचेतनाका लागि स्थानी सञ्चारमाध्यममा थप सूचना दिने र वडा वडामा माइकिङ गर्ने पनि वैठकले निर्णय गरेको छ ।
नगरपालिका र वडा कार्यालयमा पनि आफ्नो अत्यावश्यक कामका लागि मात्र जाने र भीडभाड नगर्न समेत नगरवासीमा अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । अतिआवश्यकीय वस्तुहरुको कालोबजारी तथा कृत्रीम अभाव सिर्जना नगर्न समेत नगरका व्यवसायीमा अनुरोध गर्ने निर्णय भएको छ ।
यसैबीच, आजै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजकत्वको अनुगमन् टोलीले नगर अस्पतालमा आइसोलेसनको तयारी र विरामीको आउने अवस्थाका बारेमा जानकारी लिएको थियो ।
यसैबीच, पथरी उद्योग वाणिज्य संघको सोमबारको बैठकले खाद्यान्न जस्ता अत्यावश्यकीय सामग्री वाहेकका पसलहरु केही समयका लागि वन्द समेत गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको छ । बजारमा कालाबजारी र कृत्रीम अभावन सिर्जना नगर्न समेत व्यवसायीहरुलाई अनुरोध गर्दै एक विज्ञप्ति प्रकाशित गरेको छ । संघका अध्यक्ष दीपक वस्नेत र महासचिव अशोककुमार राईद्धारा हस्ताक्षरित विज्ञप्तिमा आफ्नो घर आफ्नै क्वारेन्टाइनका रुपमा आआफ्नै घरमा सुरक्षित तबरले वस्न व्यवसायिकहरुलाई आग्रह गरेको छ ।

सम्बन्धित खवर