मास्कको कालोबजारी, म्याद सकिएका औषधि - JamarkoOnline

मास्कको कालोबजारी, म्याद सकिएका औषधि

पथरीशनिश्चरे, ४ चैत
मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका निजी स्वास्थ्य संस्था तथा औषधि पसलमा आज भएको अनुगमन्का क्रममा मास्कको कालोबजारी भएको तथ्य फेला परेको छ ।
पथरीशनिश्चरे नगरपालिका कार्यालयको अगुवाईमा डाक्टर, प्रहरी, पथरी उद्योग वाणिज्य संघका प्रतिनिधि सहितको संयुक्त अनुगमन् टोलीले आज नगरका ६ वटा स्वास्थ्य संस्थामा अनुगमन् गर्दा ४ वटा संस्थामा गैर कानूनी अवस्था फेला परेको छ । ४ नम्वर वडाको शनिश्चरे बजारमा रहेको शनिश्चरे डाइग्नोष्टिक सेन्टरमा कागजको मास्क ३० रुपैयाँ गोटाले विक्री भइरहेको टोलीले फेला पारेको नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाइन् । उनले १० रुपैयाँमा अन्यत्र विक्री भइरहेको मास्क ३० रुपैयाँमा बेचेर स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कालोबजारी नगर्न नगर्न कडा चेतावनी दिइएको वताइन् ।
टोलीको अनुगमन् आएको सुइको पाएपछि वडा नम्वर ९ तर्फ पर्ने शनिश्चरे हाटखोलाका २ वटा फार्मेसी आफैं वन्द गरेर सञ्चालक तत्काल सम्पर्क विहीन बनेका थिए ।
सञ्जुबाबा मेडिकल हल नामक पसल वडा नम्वर १ र २ मा एकसाथ सञ्चालन भएको पाइएको छ । १ नम्वरको मन्दिर लाइनमा रहेको पसलमा अर्काै व्यक्तिको प्रमाणपत्र राखेर सम्वन्धित विषयमा अध्ययन नगरेको व्यक्तिले औषधि विक्री गरिरहेको फेला परेको छ । सो पसल टोलीले तत्काल बन्द गराएको छ ।
१ नम्वर वडाको पथरी चोक उत्तरको शुभसंगीता फार्मेसीमा भनें धेरै प्रकारका औषधि म्याद सकिएको अवस्थाको फेला परेका छन् । त्यस्ता औषधि तत्काल फिर्ता गर्न सचेत गराइएको छ ।
त्यसैगरी, वडा नम्वर २ स्थित बुद्धचोकको सिटिजन फार्मेसीको दर्ताको कागजात फेला नपरेको र औषधि विक्री गर्ने पनि सम्वन्धित आधिकारिक व्यक्ति नरहेको पाइएपछि तत्काल पसल वन्द गराइएको छ । त्यहाँ मास्क समेत सकिएको बताइएको छ । टोलीले स्वास्थ्य क्षेत्रमा लापरवाही नगर्न र त्यस्तो लापरवाही दोहोर्याए कानूनी कारवाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।
अनुगमनका क्रममा, १ नम्वर वडाको दीर्घायू आयुर्वेदिक पसलमा केही मास्क रहेको र पथरी अस्पतालमा मास्क नभएको टोलीले वताएको छ । सञ्जुबाबामा पनि मास्क सकिएको पसलेले वताएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट बच्ने एउटा उपायका रुपमा नाक र मुख छोप्न मास्क प्रयोग गर्नुपर्ने भएका कारण बजारमा मास्कको अवस्थाका बारेमा बुझ्न समेत अनुगमन् गरिएको थियो । अनुगमन् गरिएका स्वास्थ्य संस्थामा कोरोनाबाट बच्ने उपायका बारेमा जानकारी गराइएको फ्लेक्स प्रिन्ट सेवाग्राहीले देख्ने ठाउँमा राख्नका लागि नगरले प्रदान गरेको छ ।
उता, राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरेले एक विज्ञप्ति जारी गरी नगरमा मास्क लुकाएर कालोबजारी गर्ने कार्य नरोकिए कडा कदम चाल्न बाध्य हुने उल्लेख गरेको छ ।

कोरोनामा जेसीजको सचेतना….
विश्वव्यापी रुपमा फैलि रहेको कोरोना भाईरस (कोभिड—१९) बाट बच्ने सन्देशका लागि पथरी जेसीजले जनचेतनामुलक ब्यानर राख्ने कार्यक्रम सम्पन्न गरेको छ ।
जस अन्तर्गत पथरीशनिश्चरे नगरको वडा नम्बर ४ को वडा कार्यलयका साथै सोहि वडाको कुशल चौक, वडा नम्बर ८ को बुद्ध मावि, वडा नम्बर ९ को वडा कार्यलय, वडा नम्बर ७ को वडा कार्यलयमा जनचेतनामुलक फ्लेक्स व्यानर राखिएको छ । त्यस्तै गरि हसन्दह स्वास्थ्य चौकी तथा वडा नम्बर ५ र ६ को कार्यलय, १ को पथरी हस्पिटल लगायतका बढि जनघनत्व हुने सार्वजनिक स्थलमा कोरो’नाको लक्षण र यसबाट बच्ने उपायबारे उल्लेख गरिएका जनचेतनामुलक व्यानर राखिएको हो ।
पथरी जेसीजका अध्यक्ष सन्तोष ढुङ्गेलले कोरोना भाईरसको बारेमा अनावश्यक अफवाह फैलाउनतर्फ नलाग्न आग्रह गर्दै सर्तकता अपनाउन सर्वसाधारणलाई अपिल गरेका छन् ।

सम्बन्धित खवर