‘समय–संस्कृति’ निर्माण गर्ने कि ! - JamarkoOnline

‘समय–संस्कृति’ निर्माण गर्ने कि !

–युवराज बास्कोटा
परिवर्तन, रूपान्तरण र व्यवस्थापनलाई आत्मसाथ गर्दै नेपाली समाज समृद्धि हासिल गर्ने महान लक्ष्यका साथ अग्रसर छ । अझ युगीन राजनीतिक परिवर्तन र यसको संवैधानिक व्यवस्थापनका हिसावले हामी समाजवाद उन्मुख समाजको जग बसाल्ने संकल्पबाट अगाडि बढेका छौँ । यो आफैमा सुखी नेपाली ः समृद्ध नेपाल निर्माणको परिकल्पना हो, आजको राष्ट्रिय आकांक्षा हो । राजनीतिक स्थायित्व र सरकारको सुझबुझपूर्ण अहोरात्र क्रियाशीलताको निरन्तरताले समृद्धि हासिल गर्ने विषयमा हामीलाई आशा जगाएको छ । सरकारी कामकाजका योजनाको निर्वाध कार्यान्वयनले समयक्रममा यो अवश्यंभावी छ । समृद्धि सुनिश्चित छ ।
प्रश्न उठ्छ– यो समृद्धि भनेको के हो ? समृद्धिका अवयवहरू के–के हुन् ? मानिसको जीवनमा देखापर्ने समृद्धिका लक्षणहरू के–के हुन् ? समृद्धि हुनु भनेको आर्थिक रूपले हामी सवल हुनुमात्र हो र ? हाम्रा घरपायक र छरछिमेका पुल, कल्भर्ट, बाटाघाटा चौडा, फराकिला र कालोपत्र बनाउनु मात्र हो र ? महङ्गा गाडीमा हुइकिन सक्नु वा शहरबजार गर्नु मात्र हो त ? हाम्रा बालबालिकाले अङ्ग्रेजीमा फरऽऽ बोल्न सक्नु मात्र हो र ? आदि–आदि ।
समृद्धि हाम्रो आफ्नै दिनचर्या, जीवनशैली, खानपान, आहारबिहार, वरव्यवहार, हाम्रो बोली र भाषा, निर्धारित समयको पूर्ण परिपालना, परस्पर सौहार्द संवाद, एकअर्कामा सहयोग समन्वयात्मक भूमिका, एकापसबीच स्थापित सद्भाव र सहिष्णुता आदानप्रदान, स्थापित मूल्यमान्यताको कार्यान्वयन र यसको परिस्कृत अवस्था आदि होइन र ? विवेचना हुन आवश्यक छ ।
यी र यस्ता कैयौं विषयवस्तुहरू हुँदाहुँदै पनि आज यहाँ यो लेखक समय र समयको पूर्ण परिपालनाबारे पोखिन चाहन्छ । ‘समय–संस्कृति’ निर्माणको पक्षमा हामी प्रत्येक व्यक्ति स्वयंमा स्वयंका लागि अभियन्ता बन्नुपर्नेमा जोड दिन चाहन्छ ।
समयका हिसावले यो दुनियाँ हिजोजस्तो थियो, आज त्यस्तो पटक्कै छैन । आज जस्तो देखिएको छ, भोलि यहिँ रूपमा कही केही रहँदैन । धर्तीका सबै श्रृङ्खलाहरू फेरिएका छन्, पाउलिएका छन् । मानव अस्तित्वमा आएका सबै उकेरा र अवयवहरू फेरिएका छन्, बद्लिएका छन् । यो फेरबदल र बद्लाव समयकै देन हो । समयकै उपज हो । अद्यापि, हामी समयानुकूल आफूलाई चलाउन सकेका छैनौँ । कहिलेकाँही त लाग्छ– फेरिएको संरचनामा नफेरिएका हामीहरू भ्रमपूर्ण जिन्दगी बाँचिरहेका छौँ, समृद्धिका फगत कुरा गरिरहेका छौँ । समयप्रतिको सचेतना र यसले ल्याउने सफलताप्रति गम्भीर हुन सकिरहेका छैनौँ । समय सफलताको भ¥याङ हो, जीवनको सार हो र कर्तव्यपथ हो भन्ने विषयलाई ठीक ढंगले समाउन सकिरहेका छैनौँ । समयको परिपालना यथार्थमा वस्तुवादी चरित्र हो । मानिसको पद, प्रतिष्ठा, तह र दर्जा जे भए पनि आ–आफ्नो स्थान र हैसियतअनुसार जिम्मेवार बन्नु, जिम्मेवारीबोध गर्नु र इमानदार पेश हुनु पनि हो ।

प्रवृत्ति…
अधिकांश हामी हिजोआज कुनै न कुनै खालको राजनीतिक भूमिका, सामाजिक अभियान, सांस्कृतिक जागरण, आर्थिक उपार्जनका गतिविधिहरूमा जोडिएका छौँ, हुन्छौँ । औपचारिक वा अनौपचारिक कहिँ न कहिँ हाम्रो आबद्धता हुन्छ नै । योबाहेक सामाजिक सम्बन्ध र घरेलु सम्बन्धले पनि हामीलाई चलाइरहेको हुन्छ । हामी चलिरहेका छौँ ।
आबद्ध पार्टी वा संघसंस्थाद्वारा आयोजित बैठक, भेला, सभा, सम्मेलन, समारोह होस् ! वा, कुनै पनि प्रकृतिको औपचारिक कार्यक्रम ! हामी सामान्य मात्र होइन, निकै ढिला गरेर कार्यक्रम स्थलमा पुग्ने र सहभागिता मात्र जनाउने काम गर्दै आएका छौँ । अपवादबाहेक सार्वजनिक पद प्रतिष्ठा आर्जन गरेका ठूला दारका मानिसहरू पनि समयका सन्दर्भमा उदाहरण बन्न सकेका छैनन् । कार्यक्रम आरम्भका लागि निर्धारित समयमा बल्ल घरबाट निस्कने, गन्तव्य नपुग्दै बाटबाटै अलमलिने हाम्रो स्वभावका कारण पनि यस्तो हुन पुगेको हो । यो एक ढंगले अभ्यासमा आइसक्यो । क्रमशः हाम्रो संस्कार नै बन्ने हो कि भन्ने खतरा बढेको छ । आफू ढिला हुने अनि अपवादबाहेक अधिकांशले नेपाली समय यस्तै हो भनेर सिंगो नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय अपमान गर्ने काम हामी स्वयंले गर्दै आएका छौँ । एकातिर समयानुसारको कार्यक्रम कुरेर बस्नेप्रतिको अपमान, उसको मानमर्दन, उसको समयप्रति अन्याय र अर्कोतिर आफ्नो बिचलन पोख्न अपनाइने नेपाली समयका नाममा नेपाल र नेपालीको अन्तर्राष्ट्रिय अपमान ! यो पनि समृद्धिको सूचक हो ? समाजवाद उन्मुख हाम्रो जीवनशैली हो ? हामीले चाहेको समृद्धि यहिँ हो ? यसलाई कसरी र कहाँ मापन गर्ने ? अनुत्तरित प्रश्नको उत्तर स्वयंले खोज्नुपर्ने भएको छ ।
सामान्यतया राष्ट्रियसभा नियमावलीमा शून्य समय र विशेष समयको व्यवस्था भए पनि अहिलेसम्म विशेष समयको मात्र अभ्यास हुँदै आएको छ । हाम्रो चालचलन र जनजिब्रोमा चाहिँ नेपाली समयको यो सूचाकांक कसरी आयो ? समृद्धिका बाहक हामी प्रत्येकले स्वयंमा जवाफदेही बन्न आवश्यक छ ।

समयोपर…
समय आउँछ पर्खिदैन, बगेको खोला फर्किदैन । समयोपर भन्नका लागि त यस्ता सयौं उद्गारहरू छन् ः जस्तो– समय धनभन्दा पनि बढी मूल्यवान छ । पृथ्वीमा समय सर्वाधिक बलवान् र महङ्गो वस्तु हो । प्रत्येकका लागि समय एकपटक आउँछ, पटकपटक आउँदैन । एकपटक हाम्रो हातबाट फुत्केको समय फर्केर फेरी आउँदैन । समय सधैँभरि सीधा दिशामा हुन्छ, बाङ्गोटिङ्गो हुन जान्दैन । आजको हाम्रो समयले यहिँ वर्तमानलाई मात्र होइन, भोलीको आगतलाई अथवा भविष्यलाई असर गर्छ । समय एउटा वेग वा गति हो, जो निरन्तर आफ्नै हिसावले अगाडि बढिरहेको हुन्छ । न हामीले समयलाई रोक्न सक्दछौं न त छेक्न सक्दछौं । हामीले नचाहँदा नचाहँदै पनि समयअनुसार चल्नुपर्दछ । समय कसैको वशमा छैन, कसैको इच्छाले रोकिने र पर्खिने गर्दैन । समयअनुसार सबै वस्तु, पदार्थ र प्रकृति परिवर्तन हुन्छन् । समयलाई चिन्ने र समयानुकूल चल्न सक्ने व्यक्तिले जहिले पनि आफ्नो लक्ष्य पूरा गर्न सक्छ । समयको कदर नगर्ने व्यक्तिले कहिल्यै पनि सफलता हासिल गर्न सक्दैन र त्यस्तो व्यक्तिको जीवनको कुनै अर्थ पनि रहँदैन । यति हुँदाहुँदै पनि यसलाई कार्यान्वयन गर्ने सकिएको छैन । हामी किन चुकिरहेका छौँ ? जिज्ञासा मनभरि उब्जन्छ ।
प्रशस्तै ज्ञान र सूचनाले भरिएको संसारलाई बुझ्न अहिले तिब्र गतिमा प्रविधिको प्रयोग भइरहेको छ । विज्ञान र अनुसन्धानको प्रतिफलस्वरुप यो आफैमा अद्यावधिक हुने क्रममा छ । अर्थात् समय वेगवान् छ, परिवर्तनशील छ । हाम्रै आँखाअघि विकसित प्रविधि र यसको पहुँचमा पनि क्रमशः परिवर्तन भइरहेको छ । यस्तो बेलामा प्रविधिको सहयोगमा यसको आवश्यक मात्रामा प्रयोग र समयको व्यवस्थापन गर्न सकिएन भने आफ्नै दैनिकीले आफैलाई थेचार्ने निश्चित प्रायः देखिन्छ ।
समय रोकिनु भनेको प्रक्रिया अवरूद्ध हुनु हो । बालक जवान हुने प्रक्रिया रोकिनु हो । विद्यार्थी असल नागरिक हुने प्रक्रिया रोकिनु हो । ठीक समयमा औषधी नपाए बिरामी देहावसानको शिकार हुनु हो । समयको ख्याल नहुँदा जागिरे साथीको जागिर छुट्नु हो । समयोपर ध्यान नपुगे हवाई यात्राबाट रोकिनु हो । सेवाग्राही र सेवाप्रदायी सबैले दुःख र धोका पाउनु हो । समयमा स्याहारसम्भार नभएर खेतबारी बाँझो हुनु हो । समयानुसार उत्पादन नभएर उद्यमीले उद्योग गर्न नसक्नु हो ।
यसका अतिरिक्त आऽऽ नेपाली समय यस्तै हो भनेर ‘समय संस्कृति’ को बिचलनबाट अघि बढेका हामी नेपालीले समयलाई पढ्न, बुझ्न र ग्रहण गर्न समयकै थुप्रै फैसालाहरूलाई सोध्न सकिन्छ । समय कति चीरस्थायी र मूल्यवान् छ, त्यो एक मिनट मात्र प्रशवकालीन पीडामा रूमलिएकी महिलालाई सोधौँ त ! केही मिनट ढिला हुँदा जहाज छुटेको यात्रुलाई सोधौँ त समय के हो ? एक सेकेन्डको मात्र महत्व थाहा पाउन, त्यो व्यक्तिलाई सोधौँ त, जो बम बिस्फोटको घटनाबाट भर्खरै बाँच्न सकेको छ । घण्टौं कुर्न सक्ने हामीले भोके पेट भर्न गिटी बालुवा गर्ने मजदुरलाई सोधौँ त– समय के हो ? अथवा एकअर्कामा भेट नभएका प्रेमी र प्रेमिकालाई सोधौँ त– समय के हो ?
‘समय संस्कृति’ को बिचलन होइन, प्रतिस्थापन गर्ने अभियान अनिवार्य छ । मानव समृद्धिको सूचक समयको पूर्ण परिपालन नै हो भन्ने कुरा विगतबाट सिक्दै आगतलाई सम्मान गर्नुपूर्व जिम्मेवारीबोधका साथ वर्तमानमा उभिन सक्नु आजको आवश्यकता बनेको छ ।

(लेखक, नेकपा प्रदेश नं. १ का सदस्य हुनुहुन्छ । )

सम्बन्धित खवर