पाँचवर्षीय योजनामाथि छलफल - JamarkoOnline

पाँचवर्षीय योजनामाथि छलफल

पथरीशनिश्चरे, २५ फागुन
मोरङको पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरको एउटै मात्र सामुदायिक क्याम्पस पथरी बहुमुखी क्याम्पसले पाँचवर्षीय रणनीतिक योजना बनाएर लानु राम्रो सुरुवात भएको वताएकी छन् ।
क्याम्पसले राखेको पाँचवर्षीय रणनीतिक योजना तथा क्याम्पसको अवस्था विश्लेषण विषयक कार्यशालामा प्रमुख अतिथिका रुपमा बोल्दै उनले विद्यार्थीको संख्या पनि बढाएर गुणस्तरीय शिक्षाका लागि चौतर्फी रुपमा लाग्नु पर्ने पनि बताइन् । क्याम्पसको अक्षयकोषलाई व्यवस्थित गर्दै लानु पर्ने पनि उनले सुझाव दिइन् ।
सोही दिन उनले वडा नम्वर ३ स्थित सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको ढाकातान तथा सिलाई कटाई तालिम कार्यक्रममा सहभागि हुँदै सिपमुलक तालिमले नगरवासीलाई आत्मनिर्भर वनाउने वताइन् ।
कार्यक्रममा, प्रदेश सांसद कृष्णकुमारी राईको प्रमुख आतिथ्यताबीच तालिमको उद्घाटन् भएको थियो । सो ३ महिने तालिमका लागि सांसद राईले १ लाख र अर्का प्रदेश सांसद सावित्रा रेग्मीले ५० हजार रुपैयाँ विनियोजित गरेका छन् । स्थानीयको व्यवहारिक सिकाई एवम् तालिम सञ्चालनका सक्रिय सो केन्द्रका लागि नगरपालिकाले ७ लाख ५० हजार रुपैयाँको दुना टपरी मेसिन प्रदान गर्ने भएको छ ।
यसैगरी, १० नम्वर वडा कार्यालयको ५० हजार रुपैयाँको बजेटमा दलित लक्षित कानूनी परामर्श तथा कुखुरापालन सम्वन्धी ३ दिने तालिम सञ्चालन भएको छ । सोही वडाकी कार्यपालिका सदस्य मैनादेवी फूयाँल आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन् भएको थियो ।

सम्बन्धित खवर