सिभिल अस्पतालको बेडबाट क्यान्सरपीडित पत्रकारको बकपत्र - JamarkoOnline

सिभिल अस्पतालको बेडबाट क्यान्सरपीडित पत्रकारको बकपत्र

मनमा धेरै भावहरू आउँदै क्षितिजमा बिलाउँछन् । निन्द्रा फिटिक्कै लाग्दैन । भोक भनेको कुन चरीको नाम हो, थाहा छैन । घरि यता कोल्टे फेर्‍यो, घरी उता । छिनछिनमा ज्वरो १०३ डिग्रीभन्दा माथि आउँछ ।

जब ज्वरो बढ्छ, श्रीमती आँखामा टिलपिल टिलपिल आँसु लिएर अगाडि उभिन्छिन् । नर्सहरू आउँछन् । रगत तान्छन् । घोच्ने छेड्ने त सामान्य जस्तै भइसक्यो ।

जिउ चिलाएर खपिसक्नु छैन । डाक्टरहरू भन्छन्, एन्टिवायोटिकको असर हो । दुई सयभन्दा बढी डाक्टरको अन्तर्वार्ता गरेको मलाई मेडिकल भाषा बुझ्न गाह्रो हुन्छ ।

२५ वर्षे पत्रकारिताको दौरान कतै दायाँ–बायाँ गरिएन । गरेको भए मैले दाताहरूसँग हात पसार्नुपर्ने थिएन । समाजमा कर्तव्र्यनिष्ट र इमान्दार त भइयो, तर कमाउन सकिएन । तर, त्यही इमान्दारिताका कारण साथीहरू मसँग यति उदार हुनुभएको रहेछ भन्ने लाग्छ ।

तर, भगवान पनि कति निष्ठुरी ! हरेक दिन बिहान सबेरै उठेर सेवापूजा, जप गर्ने म भगवानप्रति धेरै निष्ठा भएको मान्छे हुँ ।

परिवारिक पृष्ठभूमि पनि त्यस्तै । दशौं लाखमा एकजनालाई लाग्ने रोग किन मलाई नै लाग्यो ?

जब २२ दिन अगाडि बिराटनगर लाइफगार्डका डाक्टरले मलाई ब्लड क्यान्सरको करिब–करिब एकिन गरे । म त्यहीँ मूर्छा परें ।

डा. कैलाश श्रेष्ठको कोठामा डा. अरविन्द देवले डब्ल्यूबीसी उच्च देखेर पहिले नै शंका गरिदिएको भए २२ दिन अगाडि नै मेरो उपचार सुरु हुन्थ्यो । यद्यपि उहाँले टाइफाइडको शंका गर्नुभयो । रिपोर्ट पनि त्यस्तै आयो । एकपछि अर्को एन्टिवायोटिक थप्दै जाँदा म झन शिथिल भएँ । काम ज्वरो आउने, टाउको दुख्ने क्रम जारी रह्यो ।

बिस्तारै गिजामा इन्फेक्सन भयो । डाक्टरलाई दाँत देखाएँ । उहाँले पनि कुनै शंका गर्नुभएन । फोहोरले गर्दा भनेर फेरि एन्टिवायोटिक थपियो ।

जब माघ २८ गते बेलुका ५ बजेतिर मेरो रोगको पहिचान भयो, म त्यहीँ मुर्छा परें । सबैतिर अन्धकारै अन्धकार भयो ।

जसोतसो लर्बराउँदै घर पुगें । श्रीमतीलाई सुनाएँ । श्रीमती रुन थालिन् । ८७ वर्षकी आमा रुन थाल्नुभयो । म आफैं पनि भक्कानिएँ । कहाँ जाने, के गर्ने ? कसरी उपचार गर्ने ? मन अत्तालियो । अब मेरा दिन सकिएछन् जस्तो लाग्यो । २० महिनाकी छोरी र उनको भविष्य सम्झिएँ । अनि मैले छोरीका लागि जसरी पनि बाँच्नुपर्छ भन्ने लाग्यो । छोराहरू त ठूलै भएका छन्, जसोतसो गरिखालान् ।

मैले सकेसम्म आफूलाई सम्हालें । भोलिपल्ट २९ गते बिहानको उडानबाट छोराछोरी, श्रीमतीसहति हामी काठमाडौं आयौं ।

अब कता जाने ? भरतपुर जाने कि, भक्तपुर जाने कि ? हरिसिद्धि जाने कि ? हामी अन्योलमा पर्‍यौं । अन्ततः हामी अल्का हस्पिटल पुग्यौं ।

हामीमा अझै पनि झिनो आशाको त्यान्द्रो बाँकी थियो कि डाक्टरले तपाईंलाई ब्लड क्यान्सर भएको छैन भनिदिउन् । तर, हाम्रो आशा क्षणभरमै निराशामा बदलियो । डा. विशेष पौडेलले बिराटनगरकै रिपोर्टलाई नै सदर मानी ब्लड क्यान्सर भएको एकिन गर्नुभयो । मन खङ्ग्रङ्ग भयो । यो तपाईंको दुर्भाग्य हो भन्नुभयो ।

हामीले डा. पौडेलकै सल्लाह अनुसार सिभिल हस्पिटलको हेमाटोलोजी वार्डको २३८ नम्बर बेडमा बसेर उपचार सुरु गर्यौं ।

यतिबेला जिन्दगीको खास महत्व बुझिरहेछु । अनि आफ्नै वरिपरि मृत्यु घुमिरहेझैं लागिरहेछ ।

तथापि, मुलुकभित्र र मुलुक बाहिरका साथीभाइ र शुभेच्छुकहरूले मेरो बारेमा जुन चिन्ता र चासो देखाउनुभएको छ, त्यो देखेर मृत्यु धेरै टाढा भागिसक्यो भन्ने लाग्छ । अब मलाई क्यान्सरले जित्न सक्दैन । ऊ मेरा साथीभाइ र शुभेच्छुकलाई देखेर पराजित भइसकेको छ ।

आत्तिरहेको समयमा मेरा पछाडि शुभेच्छुकहरू हुनुहुन्छ भन्ने आभास भएपछि साहस पलाउन थाल्यो । मेरो आर्थिक सहयोगका लागि स्वस्फूर्त रूपमा शुभेच्छुकहरूले सहयोग जम्मा गरेको देख्दा म भावविभोर भएँ । जतिजति रकम थपिँदै गयो, मेरा आँखाबाट हर्षका आँसु बर्सिए । मन झन् झन् दह्रो हुँदै गयो ।

मेरो उपचारमा विभिन्न ठाउँबाट प्राप्त भएको सहयोगले ममा आशा बढाएको छ । म सबैको ऋणी भएको छु । तपाईंहरूले दिएको सहयोगको राशि जसरी बढ्दै गएको छ, मेरो आयु पनि त्यसैगरी थपिंदै गएको छ जस्तो महसुस भएको छ । तपाईंहरूको सद्भाव कै कारण केमोले पनि मलाई गलाउन सकेको छैन ।

अरु पीडामा पर्दा सहयोगी हातहरू जुटाउन लागिपर्ने म अहिले आफैं लाचार भएको छु ।

तपाईंहरूको सहयोग र आशीर्वादले क्यान्सरलाई जितेर फेरि पत्रकारितामा आउनेछु । तपाईंहरूलाई धन्यवाद भन्नका लागि फेरि टेलिभिजन स्क्रिनमा देखिनेछु ।

साभार ः अनलाइन खबर

(मकालु टेलिभिजनका कार्यरत पत्रकार पौडेल क्यान्सर पीडित हुन्)

सम्बन्धित खवर