कमलहरु स्वाभिमानपूर्वक वाँच्न पाउँनु पर्छ - JamarkoOnline

कमलहरु स्वाभिमानपूर्वक वाँच्न पाउँनु पर्छ

….भूपेन्द्रराज तिम्सिना…
मलाई अक्सर २ वटा कुरा अलि बढी मनमा आइरहन्छ । जिन्दगीको अनिश्चित यात्रामा अनगिन्ती इच्छा र चाहनाबाहक मान्छेका सवालमा मुख्य २ कुराले उसको यात्रा थाहैनपाई पूर्ण विराम लगाउन सक्छ भनेर मनमा कुरा खेल्छ । पहिलो त ‘यातायातका साधनले कहाँ कतिखेर ठोक्काएर ज्यान लिन्छ’ भन्ने । अनि अर्काेचाँही ‘कतिखेर मृगौला विग्रिएर जिन्दगीले विश्राम लिने’ भन्ने पक्ष मैले सोचेको जीवनका यो समयमा सवैभन्दा बढी वाधक तत्व हुन् । जो कतिखेर कसरी निम्तिन्छ पत्तै हुँदैन ।
यो लेख लेखिरहँदा म यी दुई कारक तत्वमध्ये मृगौला फेलियरकै जस्तै नियति भोगेर अस्पतालमा मृत्युसँग पौंठेजोरी खेल्दै गरेका मेरा अनन्य मित्र पत्रकार कमल पौडेल सम्झिएर निकै भावुक भएको छु । उहाँ अहिले ब्लड क्यान्सरसँग जुधिरहनु भएको छ । उहाँ सिभिल अस्पताल काठमाडौंमा हुनुहुन्छ । ०५५ सालताका काठमाडौंको ‘नेपाल समाचारपत्र’ दैनिकमा मैले काम थाल्दा त्यहाँ डेस्कमा रहेको एउटा हँसिलो, रसिलो, इमान्दार पत्रकारका रुपमा सुरुमै कमलजीलाई चिनेको थिएँ । मोरङकै लेटाङ घर भएको थाहा भएपछि हामी गाउँले सरह नजिक थियौं । सुरुमा दीपक रिजालसँग भेट हुँदा दीपकले कमललाई भेटाएर संवाददाता राख्ने नराख्ने कुराको जिम्मा कमललाई दिनुभएको थियो । कमलले एउटा नमूना समाचार लेखेर छोड्नु भनेर मलाई भन्नुभयो । मैले तत्काल त्यहीँ उभिएरै भूटानी शरणार्थीको समाचार लेखेर दिएँ । भोलीपल्ट बोलाएर ‘पथरी’ डेटलाइनमा समाचार लेख्न कमलले स्वीकृत दिनुभयो । म त्यो बेला राष्ट्यि पत्रिकामा काम गर्न पाएको अवस्थाले निकै खुसी थिएँ र कमलको सहयोगी भावनाप्रति उसैगरी मेरो मनले कृतज्ञता प्रकट गर्यो । मैले त्यो पत्रिकामा दमकमा समेत बसेर १५ वर्ष हाराहारी संवाददाताका रुपमा काम गरें । जव पत्रिका विराटनगरबाट प्रकाशित हुन छोड्यो, तव मैले व्यवसायिकताको हिसावले पनि त्यसमा काम गर्नुको खासै औचित्य देखिन र छोडिदिएँ । कमलजी पनि समाचारपत्र छोडेर विराटनगर वस्न आउनु भयो । प्राध्यापन पनि गर्नेगरी काठमाडौं छोडेर आएपछि मकालु टेलिजिनको समाचार प्रमुखका रुपमा काम थाल्नु भयो । अनि म उहाँकै कारण मकालु टेलिभिजनमा पनि उहाँसँगै जोडिएँ । अर्थात कमलजीसँग विगत २० वर्ष बढी समयदेखि म निरन्तर सँगसँगै छु । यस अर्थमा पनि कमलजीको पत्रकारिता मात्रै नभएर घर, परिवार र व्यवहारिक पक्षसँग पनि नजिक छु । सकारात्मक सोच भएको र समाज रुपान्तरणमा ध्यान दिने एउटा असल पत्रकारका हिसावले उहाँ मेरो गुरु हो । उहाँले म जस्ता सयौंलाई व्यवसायिक पत्रकार वन्ने अवसर दिनुभएको छ । सयौंलाई पत्रकारिता सिकाउनु भएको छ, कलेजमा पत्रकारिता पढाउनु भएको छ । अरुको दुःखको समाचार बनाएर सहयोग जुटाउने माध्यम बन्नुभएका कमल अहिले आफैं समाचार बनिरहनु भएको छ । एकजना ऐतिहासिक पत्रकार अहिले मृत्यु जित्नका लागि सहयोगी मनहरुको साथमा छ ।
मैले लामै समय पत्रकारिता गरिरहँदा सोच्ने गर्छु कि, यति लामो समयसम्म निष्ठापूर्वक पत्रकारिता गर्दै हजारौंको जीवन वचाउने समाचार समेत लेख्दै आएको मान्छे अहिले आफ्नो जीवन वचाउनका लागि सहयोगी हातहरुको सहारामा छ । समाजका लागि गरेको लामो त्याग आखिर पत्रकारिताको पूर्ण व्यवसायिकता अनि यसप्रतिको सम्मानको अभावमा सडक सरह वेसहारा छ । मैले उहाँको नम्वरमा फोन गरें । छोराले फोन उठाए । डाक्टरले बाबालाई कसैले भेट्न र बोल्न नदिनु भनेको छ भने । बान्ता आइरहेर उठ्न र वस्न नसक्ने कमजोर अवस्था बनेको रछ । मैले भक्कानिएर धेरै कुरा बोल्नै सकिन र फोन राखिदिएँ । १ महिना यतादेखि उहाँ थलिनु भयो । बोनम्यारो फेर्ने समेत ३० लाख बढी रकम उपचारमा चाँहिने अवस्था रछ । त्यसमा आफ्नौ औकातले भ्याउने अवस्था नभएपछि व्यक्तिगतरुपमा र पत्रकार महासंघमार्फत उपचारमा सहयोगको याचना गर्नुपरेको कुराले मनमा कहिल्यै नमेटिने दाग रहने गरी चिमोट्यो । समाज परिवर्तनका संवाहकहरुको जीवन अरुको दयामा वाँच्नु पर्ने वाध्यता यो मुलुकमा छ । सृजनशील क्षेत्रका इमान्दार मानिसहरु राजनीतिक दाउपेच भन्दा टाढा रहनु नै अभिषाप बनिरहेको छ । श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको विषय वर्षेनी उठाइएपनि अधिकांश सञ्चारमाध्यममा त्यो लागू हुने अवस्था अहिलेसम्म बनेको छैन । एउटा सामान्य ज्यामीले भन्दा कम तलबमा काम गर्न वाध्य रहेको अवस्था यो घटनाले आफैं स्वतः प्रष्ट्याउँछ । महासंघले पत्रकार उपचार कोषको कुरा ल्याएपनि त्यो खासै प्रभावकारी छैन ।
मान्छेमा निष्ठुरता मौलाउँदै गएको छ । सँगसँगै सहानुभूति वढेको पनि अवस्था छ । मैले नेपाल समाचारपत्रमै कमलजीसँगै लामो समय सहकार्य गरेर हाल अमेरिकामा रहनु भएको किशोर सापकोटाको फेसवुक स्टाटस पनि हेरिरहेको छु । उहाँले कमजलीको उपचारको सहयोग जुटाउन मनमा हुटहुटी पलाएर चारतिर सहयोगको संयोजन गरिरहनु भएको छ । धेरैतिरबाट धेरैजनाले सहयोग गरेका सुखद पोष्टहरु उहाँले प्रस्तुत गरिरहनु भएको छ । मलाई लाग्छ उहाँको उपचारमा ३० लाख रकम सहयोगबाट जुट्ट जुट्छ । तर उहाँको कहाँ लगेर हुन्छ, उपचार प्रभावकारी रुपमा हुनुपर्छ, त्यो महत्वपूर्ण कुरा हो । अनि पत्रकार उपचार कोषलाई प्रभावकारी रुपमा स्थापित गर्न सकियो भनें मात्र अरु कमलहरु विरामी पर्दा उपचारमा साथ मिल्छ । सरकारले नै यसखाले अक्षय कोषको एक पटक प्रवन्ध गरिदिए पत्रकारिता पेशाप्रति पत्रकारहरुको आत्मैदेखिको सम्मान जाग्छ । नत्र हिलोमा फुलिरहेका हजारौं सुन्दर कमलहरु उही हिलौनै नामेट भइरहने नियति रही रहन्छ । अनि अरुको दयामा बाँच्नु पर्ने गलत परम्पराले मान्छे हुनुको महत्व घटाउँछ । मान्छेलाई हिनताबोध बढाउँछ । कमल पौडेलको सीघ्र स्वास्थ्यलाभको कामना ।

साभार ः ब्लाष्ट टाइम्स दैनिक

सम्बन्धित खवर