‘आस्था, जहाँ बोलेर जित्न सकिन्न, त्यहाँ जितेरमात्र बोल्नु पर्दथ्यो’ - JamarkoOnline

‘आस्था, जहाँ बोलेर जित्न सकिन्न, त्यहाँ जितेरमात्र बोल्नु पर्दथ्यो’

चर्चामा आएका सबै कुरामा प्रतिकृया दिनैपर्छ भन्ने लाग्दैन । त्यसैले ‘आस्था काण्ड’मा केही बोलिएन । किनभने यो ‘भूलचुक लिनेरदिने’ शर्तमा साम्य होला भन्ने लागेको थियो ।

तर कुरो ‘पक्राउ’ र ‘प्रतिरोध’सम्म पुग्यो । धेरै शुभचिन्तकहरुको सुझाव आयो, सहकर्मीलाई अप्ठेरो पर्दा बोल्नुपर्छ । केहीले त ठाडै प्रश्न गर्नु भयो, ‘तपाईं पक्षमा कि बिपक्षमा ?’

सबै कुराको पक्ष र बिपक्षमात्र हुंदैन, कुनै कुनै बिषयलाई सत्य र असत्यको आंखाले पनि हेर्नुपर्छ । र, ‘सत्य’पनि एउटै हुँदैन, तिन प्रकारको हुन्छ । तपाईंले मानेको सत्य, मैले मानेको सत्य र खास सत्य !

खास सत्य के हो भने आस्था राम्री गायीका हुन् । हामीसंग मिलनसार छिन् । गायक दाई हरिबहादुर राउतकी छोरी हुनुको नाताले सम्मान पनि गर्छिन् । तर हक्की स्वभाव हुनुको नाताले बेलाबेला बिबादमा पनि पर्छिन् । युवा जोश भएकाले संयमता र सेलिब्रेटी दायीत्वबोध गुमाउछिन् ।

एयरपोर्ट काण्डपनि त्यसैको परिणाम हो । केही सुरक्षाकर्मीमा पनि शालिनता र शिष्टताको अभाव छ । त्यो प्रहरी संगठनले मनन गरेर सुधार गर्नु पर्ने बिषय हो । हामी कलाकारले पनि आफुलाई सुधार्नु जरुरी हुन्छ । अरुलाई उज्यालो दिनेले आफु जल्न सक्नुपर्छ । प्रहरीकै गल्ती भएपनि आस्थाले त्यो प्रकृतिको शब्द र शैली प्रयोग गर्नु हुन्नथ्यो । अर्थात् जहां बोलेर जित्न सकिंदैन, त्यहां जितेरमात्रै बोल्नु पर्दथ्यो । आस्थाको गल्ती यहींनिर भयो ।

यो गल्ती हो, अपराध हैन । प्रहरीले गल्तीलाई गल्तीकै तहबाट हेरोस् । आस्थाको वारेन्ट र पक्राउले प्रहरीको उचाई बढ्दैन । आस्थाले पनि आफ्नो स्वभावगत गल्तीलाई नदोहोरÞ्याउने संकल्प गरुन् । घटनासंग जोडिएकी महिला प्रहरी एक कर्तब्यपरायण राष्ट्रसेवक हुन् । उनको कर्तब्य, ईमान र स्वाभिमानमा पनि कुनै आंच आउनु हुन्न ।

यो घटनाबाट सबै सेलिब्रेटी र सुरक्षाकर्मीले एउटा शिक्षा लिनुपर्छ । कलाकार जति शालिन भयो, उसको उचाई त्यति नै बढ्छ । सुरक्षाकर्मी जति संयमित बन्यो, उसको सम्मान त्यति नै हुन्छ ।
साभार ः मनोज गजुरेलको गजुरियल ब्लगबाट

सम्बन्धित खवर