जेसीजका अध्यक्षलाई गृहनगरमा ९ संस्थाको सम्मान - JamarkoOnline

जेसीजका अध्यक्षलाई गृहनगरमा ९ संस्थाको सम्मान

पथरीशनिश्चरे, १ माघ
नेपाल जेसीज वर्ष २०२० का लागि नवनिर्वाचित राष्ट्यि अध्यक्ष अशोक शंकरलाई उहाँको गृहनगर मोरङको पथरी शनिश्चरेका ९ वटा संस्थाहरुले आज सम्मान गरेका छन् ।
सवै पक्ष सम्मिलित नगरवासीहरुले गठन गरेको अशोक शंकर जिताऔं अभियान सहयोग समितिले आयोजना गरेको सम्मान कार्यक्रममा नगरको १ नम्वर वडा कार्यालयले आफ्नो वडाको अशोकले राष्ट्मा युवाको नेतृत्व गरेको भन्दै अभिनन्दनपत्रले अभिनन्दन नै गरेको छ । त्यसका साथै, पथरी वहुमुखी क्याम्पस, पञ्चायत मावि, लायन्स क्लब अफ पथरीशनिश्चरे, शान्ति सामुदायिक वन उपभोक्ता समूह, पथरी फिटनेश क्लबले सम्मानपत्रले सम्मानित गरेको छ । सम्मान गर्ने अन्य संस्थामा, हेल्लो पथरी इन्भेष्टमेन्ट, सुनचाँदी व्यवसायी संघ पथरीशनिश्चरे र नेपाल कम्यूनिष्ट पार्टी पथरीशनिश्चरे १ नम्वर वडा कमिटी रहेको छ ।

 

नगरको वडा नम्वर १ निवासी ३७ वर्षीय शंकर गत पुस ९ देखि १२ सम्म चितवनको रत्ननगरमा सम्पन्न नेपाल जेसीजको ४६ औं राष्ट्यि महाधिवेशनबाट अन्य २ प्रतिष्पर्धीलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका थिए । उनलाई जिताउने अभियानमा पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको संयोजकत्वमा मुल समिति गठन भएको थियो । नगरपालिका प्रमुख दिलीपकुमार राई संयोजक रहेको सल्लाहकार समिति समेत गठन गरि कसिलो एकताका साथ नगरवासी लागिपरेका थिए । सो प्रसंग उल्लेख गर्दै नवनिर्वाचित अध्यक्ष शंकरले नगरको शानलाई पनि अझ उचो राख्दै युवाहरुलाई सेतो कपडा लगाएर दागबाट जोगिइ व्यक्तित्व र नेतृत्व विकासमा लागिपर्ने अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नगरका युवाहरुका लागि पनि आफुले केही गरेर अगाडि लाने उल्लेख गरे ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राईले नगरका अन्य साझा विषयहरुमा पनि शंकरलाई जिताउने अभियानमा जस्तै एकवद्ध भएर अघि बढ्नसके नगरको चौतर्फी विकास हुने विश्वास व्यक्त गरे । उनले नगरमा खानेपानीको व्यवस्थापनका कुरामा पनि यस्तै एकता जुटेको र वाँकी आवश्यक योजनाहरुमा पनि त्यस्तै एकता आवश्यक रहेको भन्दै एकताको आव्हान समेत गरे । उनले जेसीज अध्यक्ष जिताउन गरेको एकता देशलाई नै सन्देश दिनेखाले रहेको चर्चा गरे ।

कार्यक्रममा सल्लाहकार सदस्य एवम् संविधानसभा सदस्य चण्डीप्रसाद राई, समाजसेवी दिननाथ तिम्सिना, पथरी वहुमुखी क्याम्पस प्रमुख चेतन पौडेल, पत्रकार विवेक न्यौपानेले चिनिन मुस्किल रहेको नगरको नाम जेसीजको राष्ट्यि अध्यक्षका कारणबाट देश तथा विदेशका चिनिन पाएकोमा खुसी व्यक्त गरे । सृजनशील तथा सफल व्यवसायी युवाको पहिचान वनाएर जेसीजको नेतृत्व समेत लिन सफल अशोकलाई गौरवका रुपमा लिँदै पथरीशनिश्चरे नगरपालिका कार्यालय र पथरी उद्योग वाणिज्य संघले छुट्टै कार्यक्रमको आयोजना गरी उनलाई सम्मान गर्ने जनाएको छ ।

सम्बन्धित खवर