गुनासो नगर्न उपप्रमुखको आग्रह - JamarkoOnline

गुनासो नगर्न उपप्रमुखको आग्रह

पथरीशनिश्चरे, २७ पुस
मोरङको पथरीशनिश्चरे नगरपालिकाको उपप्रमुख यमुना विष्ट बास्तोलाले नगरमा शिक्षा, स्वास्थ्य सहितका विकास निर्माण कार्यमा कडाइको साथ अनुगमन गर्दा गुनासो गर्न नहुने बताएकी छिन् ।
पथरीशनिश्चरे–२, स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको विषेश साधारण सभामा मन्तव्यको क्रममा नगरका गतिविधि जोड्दै उपप्रमुख वास्तोलाले सो कुरा बताएकी हुन् । नगरपालिकामा स्थापित नगर अस्पताल नगरपालिका, स्थानीयबासी र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पहलमा दुई जना एमबीबीएस डाक्टर र स्वास्थ्य उपचारको सामाग्री ल्याएकोमा एउटा कर्मचारीले मैले ल्याएको हुँ भन्नु हाँस्यास्पद हुने उनको भनाइ थियो ।
केही दिन अघि सिथिल अवस्थामा रहेकी वडा नम्वर ३ की बृद्ध महिला गोमादेवी गौतमलाई तत्काल स्वास्थ्य अवस्था जाँच गर्नुपर्ने अवस्था भएपछि अस्पतालको डाक्टर बृद्धको घरमा लानु परेको अवस्थालाई अनाहकमा टिप्पणी गरिएकोमा त्यसो नगर्न समेत उनको सुझाव छ । गौतमको शनिवार निधन समेत भएको उनले वताइन् ।
पथरीशनिश्चरे नगरको हरियाली सामुदायिक वन नेपालकै उत्कृष्ट पुरस्कार र नमूना बन्न सफल भएकोमा उनले बधाई शुभकामना दिदै थप प्रगतिको लागि शुभकामना दिएकी थिइन । वनको विकासको लागि नगरपालिका सहायोग गर्न तयार रहेको बताइन ।
सामुदायिक वनको अध्यक्ष काबुलबहादुर मगरको सभापतित्वमा भएको बिशेष साधारण सभामा ३ नम्बर वडाका अध्यक्ष डम्बर बहादुर चेम्जोङ, वन विज्ञ विष्णुप्रसाद ज्ञवाली लगायतले शुभकामना व्यक्त गरेका थिए ।
सामुदायिक वनको विषेश साधारण सभाले हरियाली सामुदायिक वन लिमिटेड कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेर पर्यटन विकासमा लाग्ने निर्णय भएको छ । जसको लागि वनको पूर्व अध्यक्ष देवीप्रसाद भेटवाल अध्यक्ष, सचिव रमेश दाहाल, सदस्यहरुमा रीता गिरी, सुमित्रा थाङ्देन, अशोक साम्पाङ राई, रोहित वास्तोलाको ६ सदस्यीय समिति गठन भएको छ ।

सम्बन्धित खवर