पर्यटन प्रवद्र्धनका लागि मेचीकाली यात्रा पुरा - JamarkoOnline

पर्यटन प्रवद्र्धनका लागि मेचीकाली यात्रा पुरा

पथरीशनिश्चरे, २४ पुस
मोरङको पथरीशनिश्चरेका २ जना सामाजिक व्यक्तित्वहरुले नगरको पर्यटन क्षेत्रको प्रचार प्रसार गर्दै भ्रमण वर्ष २०२० को सफलतामा टेवा पुर्याउन थालेको मेची महाकाली मोटरसाइकल यात्रा महाकाली पुगेको छ ।
आफ्नो नगरको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै भ्रमण वर्षको प्रवद्र्धनमा टेवा पुर्याउने उद्धेश्यकका साथ पथरीशनिश्चरे ९ का ५३ वर्षीय मदनबहादुर अधिकारी र ३९ वर्षीय सुरेन्द्र थापाले पुस १७ गतेबाट मेचीमहाकाली मोटरसाइकल यात्रा थालेका थिए । उनीहरुले पूर्वपश्चिम मुख्य सडक र आसपासका पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गर्दै यात्राको सातौं दिन महाकालीको चाँदनी दोधारा समेत पुगेर यात्रा सम्पन्न गरेका हुन् । भ्रमण वर्षको सन्दर्भको यो यात्राले आफुलाई उत्साहित बनाएको उनीहरुले बताए । साथै उनीहरुले पर्यटकीय क्षेत्र नेपालको पर्यटन प्रवद्र्धनका लागि सवै पक्ष लाग्नु पर्ने समेत जनाए । उनीहरुले एउटै मोटरसाइकलमा यात्रा गरेका हुन् ।

उनीहरुले सिमसारयुक्त वन पर्यटनको अब्बलस्थलका रुपमा रहेको पथरीशनिश्चरे नगरको पर्यटन सम्भावनाको प्रचार प्रसार गरेका छन् ।
उनीहरुलाई संविधानसभा सदस्य चण्डीप्रसाद राई, नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहितले नगरपालिका कार्यालयबाट शुभकामना सहित विदाई गरेका थिए ।
सो अवसरमा नगर उपप्रमुख वास्तोलाले अधिकारी र थापाले थालेको यात्राले पथरीशनिश्चरे नगरको पर्यटन प्रवद्र्धन सहित मुलुककै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास राख्दै खुसी व्यक्त गरेकी थिइन् । उनीहरुलाई नगरको विदाई अघि ९ नम्वर वडा कार्यालयले समेत विदाई गरेको थियो ।
पथरीशनिश्चरे नगरपालिका कार्यालय, वडा नम्वर १, ४ र ९, सामुुदायिक वन सहितको केही आर्थिक सहयोगमा यात्रा तय भएको थियो ।
सामाजिक गतिविधिमा सक्रिय अधिकारी र थापाले नगरको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन मोटरसाइकलमा यात्रा थालेको वताएका थिए । यात्रामा पर्यटकीय ठाउँहरुको अवलोकन गर्दै त्यहाँको फोटो र भिडियो संकलन गरेर अन्यत्रको पर्यटनको सम्भावनाको अनुभवनलाई आफ्नो नगरमा ल्याएर जोड्ने उनीहरुको लक्ष्य रहेको छ ।

व्यक्तिको योगदानबाट राष्ट्को योगदान मजबुत हुने सोचका साथ उनीहरुले पथरीशनिश्चरेबाट मेचीपुल पुगेर यात्रा पश्चिम मोडेका थिए । यस क्रममा यात्राको दोस्रो दिन प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राई, सांसद कृष्णकुमारी राई सहितलाई भेटी यात्राको बारेमा जानकारी गराएका थिए ।

सम्बन्धित खवर