लेटाङ नगरको कामप्रति नेकपाको असन्तुष्टी - JamarkoOnline

लेटाङ नगरको कामप्रति नेकपाको असन्तुष्टी

लेटाङ, १९ पुस
उत्तरपूर्वी मोरङको लेटाङ नगरपालिकाले जनताको आशा अनुसार काम गर्न नसकेको भन्दै नेकपा नगर कमिटी लेटाङले ध्यानाकर्षण गराइ उपलब्धीमुलक काम गर्न सुझाव समेत दिएको छ ।
नेकपा लेटाङका स्थानीय नेताहरुले पार्टी कार्यालय लेटाङमा पत्रकार सम्मेलनमा नगरबासीसँग सम्बन्धित बिभिन्न १३ वटा बुदाँहरु प्रस्तुत गर्दै नगर प्रमुख शंकर राई तथा नगर कार्यापालिकालाई ध्यानाकर्षण गराएको छ । स्थानीय तहको निर्वाचन भएको लामो समय बितिसक्दा पनि नगरबासीले महसुस गर्ने किसिमले काम गर्न नसकेको र नगरपालिकाको संरक्षणमा बेथिति मौलाएको भन्दै यथासक्य समाधान गर्नुपर्ने बताइएको छ । नेकपा नगर अध्यक्ष कृष्ण लम्सालले नगरपालिकाबाट नीतिगत तथा आर्थिक भ्रष्टाचार भएको भन्दै छानबिन गर्न प्रेस विज्ञप्तिमार्फत माग अघि सारेका छन् । उनले प्राकृतिक श्रोत र साधनको हिसाबले मोरङ कै सबैभन्दा धनी रहेको लेटाङ नगरपालिकाले स्रोत र साधनको समेत संरक्षण र परिचालन गर्न नसकेको आरोप लगाएका छन् ।
संघीय तथा प्रदेश सरकारबाट आएको बजेटसमेत नगरपालिकाको ढिलासुस्ती र आलटालको कारण बजेट फिर्ता तथा फ्रिज भएकोप्रति प्रेस बिज्ञप्ति मार्फत खेद व्यक्त गरिएको छ । बिज्ञप्तिमा नगरपालिकाको नीति तथा कार्यक्रम तय गर्दा नीति नियम बिपरित ठूलो शीर्षकमा अवन्डा शीर्षकमा बजेट छुट्याई अपारदर्शी ढंगबाट रकम खर्च गरिएको कारण ठूलो रकम बेरुजु गर्ने नगरपालिकाको रुपमा लेटाङलाई चिनाएको समेत आरोप लगाईएको
छ । बिज्ञप्तिमा नगर प्रमुख नै अध्यक्ष रहेको लेटाङ साना शहरी खानेपानीलाई अनिर्णयको बन्दी बनाएको, कानेपोखरी लेटाङ सडकको मर्मतको नाममा रकम दुरुपयोग गरेको, नगर शिक्षा कार्य्बिधि मार्फत शिक्षामा राजनीति घुसाएको, खोला ठेक्काबाट पाउनु पर्ने रकम ठेकेदारबाट अझसम्म नउठाएको तथा कम मुल्यमा ठेक्का लगाएको समेत आरोप लगाइएको छ ।
नगरपालिकाले खरिद गर्ने सामग्रीहरु सार्बजनिक खरिद ऐन बिपरित खरिद गर्ने गरिएको तथा जनप्रतिनिधिहरुले नै स्थानीय बिकास निर्माणहरुमा ठेकेदारको रुपमा भूमिका खेल्ने गरेको र काम बिग्रिएपछि उपभोक्ता समितिलाई दोस लगाउने गरिएको पनि विज्ञप्तिमा जनाइएको छ । नगरपालिकाले दिगो विकास लक्ष्य अनुरुप काम गर्न नसकेको र नगरबासीको भबिष्यमाथि खेलबाड गरेको भन्दै तत्काल छानबिनको दायरामा ल्याउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने नगर अध्यक्ष लम्सालले बताएका
छन् ।
लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले भनें आरोप प्रमाणहीन र मिथ्या भएको बताएका छन् । नगरपालिका क्षेत्रमा हुने सबै क्रियाकलापहरु नगर कार्यपालिकाको निर्णयबाट हुने जनाउँदै नगर प्रमुख राईले नगरपालिकाको काममा अनियमितता भएको भए नेकपाले आफ्ना जनप्रतिनिधिहरुबाट कारबाहीको सुरुवात गर्नुपर्ने जवाफ दिएका छन् ।

सम्बन्धित खवर