पथरीशनिश्चरेको पर्यटन प्रवद्र्धनमा मेचीकाली स्कुटर यात्रा - JamarkoOnline

पथरीशनिश्चरेको पर्यटन प्रवद्र्धनमा मेचीकाली स्कुटर यात्रा

पथरी शनिश्चरे, १७ पुस
मोरङको पथरी शनिश्चरेका २ जना सामाजिक व्यक्तित्वहरुले आफ्नो नगरको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्दै भ्रमण वर्ष २०२० को सफलतामा टेवा पुर्याउन आजबाट मेची महाकाली स्कुटर यात्रा थालेका छन् ।
पथरीशनिश्चरे ९ का ५३ वर्षीय मदनबहादुर अधिकारी र ३९ वर्षीय सुरेन्द्र थापाले आजबाट मेचीमहाकाली मोटरसाइक (स्कुटर) यात्रा थालेका हुन् । एक कार्यक्रमकाबीच संविधानसभा सदस्य चण्डीप्रसाद राई, नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहितले नगरपालिका कार्यालयबाट शुभकामना सहित उनीहरुलाई टीका र खादा लगाएर विदाई गरेका छन् ।
सो अवसरमा नगर उपप्रमुख वास्तोलाले अधिकारी र थापाले थालेको यात्राले पथरीशनिश्चरे नगरको पर्यटन प्रवद्र्धन सहित मुलुककै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास राख्दै खुसी व्यक्त गरिन् । उनीहरुलाई नगरको विदाई अघि ९ नम्वर वडा कार्यालयले समेत विदाई गरेको थियो । वडाध्यक्ष भानुभक्त राई, सचिव दीर्घराज राय सहितले विदाई गरेका थिए ।
पथरीशनिश्चरे नगरपालिका कार्यालय, वडा नम्वर १, ४ र ९, सामुुदायिक वन सहितको केही आर्थिक सहयोगमा यात्रा तय भएको छ । आफुहरुको यात्राका लागि २ लाख बढी खर्च लाग्नेमा सो रकम भनें अपुग रहेको जनाएका छन् । सामाजिक गतिविधिमा सक्रिय अधिकारी र थापाले नगरको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन एउटै मोटरसाइकलमा यात्रा थालेको जनाए । यात्रामा पर्यटकीय ठाउँहरुको अवलोकन गर्दै त्यहाँको फोटो र भिडियो संकलन गरेर अन्यत्रको पर्यटनको सम्भावनाको अनुभवनलाई आफ्नो नगरका ल्याएर जोड्ने उनीहरुले लक्ष्य बनाएका छन् । आफुहरुले नगरको शान्तिभूल्के सिमसार सहितका सिमसारयुक्त वन पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने टोलीका अगुवा अधिकारीले वताए ।

व्यक्तिको योगदानबाट राष्ट्को योगदान मजबुत हुने सोचका साथ उनीहरु पथरीशनिश्चरेहुँदै मेची पुलबाट महाकालीका लागि प्रस्थान गरेका छन् । आज सुनसरी पुगेर वास वस्ने कार्यक्रम रहेको छ । मे. ८ प १२९० नम्वरको स्कुटरमा आफुहरुले मेचीमहाकाली गरेर २० दिनमा घर आइपुग्ने अनुमानित योजना बनाएको उनीहरुले वताए ।

सम्बन्धित खवर