उद्यमशीलता विशेष: कागजको पेन्सिलबाट कोठामै लाखौँको आम्दानी - JamarkoOnline

उद्यमशीलता विशेष: कागजको पेन्सिलबाट कोठामै लाखौँको आम्दानी

उद्यमशीलता विशेष: कागजको पेन्सिलबाट कोठामै लाखौँको आम्दानी

जो जागिरे मानसिकतालाई चुनौती दिँदै अघि बढिरहेकी छिन् । नाम हो, सुमना न्यौपाने ।

 

-कृष्ण ढुङ्गेल

देशका अधिकांश युवा एउटा बेरोजगारी नामको भूमरीमा जकडिएका छन् । त्यही बेरोजगारीको राप र तापमा पिल्सिएर विदेशिने युवाहरूका संख्या ५० लाखमाथि रहेको तथ्यांकहरूले देखाउँछन् । रोजगारीको अवसरहरू सिर्जित नगरिएको भन्दै हरेक सरकारले आलोचन बेहोर्दै आउनु परेको सत्य पनि सर्वविदितै छ । तर अब यहाँ एउटा प्रश्न जन्मन सक्छ, के सरकारले सिर्जित गरेका रोजगारीकै कारण आजका शक्तिशाली र सम्पन्न देशहरू अहिलेको अवस्थामा पुगेका हुन् त ? यो प्रश्नको उत्तर खोज्ने जिम्मा तपाईँको नै भयो ।

उद्यमशीलताका हरेक श्रृंखलामा मैले भन्दै आएको कुरा हो, हामी नोकरीको मानसिकताभन्दा माथि उठ्न अझै सकेका छैनौँ । समाज, परिवार हुँदै व्यक्तिमा जागिरको मानसिकता उच्च छ । तर, रोजगारी गर्नैपर्छ भन्ने मानसिकतालाई भत्काउँदै स्वरोजगार र रोजगारी सिर्जना गर्नतर्फ अग्रसर अनुहारहरू न्यून छन् । र, त्यो न्यून अनुहारको भीड जति बढ्दै जानेछ, त्यती नै देश आत्मनिर्भर बन्दै जान्छ, यो कुरा पक्का हो ।

आजको यस उद्यमशीलताको विशेष श्रृंखलामा त्यही न्यून अनुहारमध्येको एक अनुहारको कुरा गरिनेछ, जो जागिरे मानसिकतालाई चुनौती दिँदै अघि बढिरहेकी छिन् । नाम हो, सुमना न्यौपाने ।

सुमना न्यौपाने भक्तपु्रकी स्थानीय हुन् । विगतमा विभिन्न संस्थामा आवद्ध भएर काम गरेकी सुमनासँग कस्मेटिक पसलको अनुभव पनि ताजा नै छ । अहिले उनै सुमना घरेलु उद्योगको माध्यमबाट उद्यमशीलताको बाटोमा अग्रसर बनेकी छिन् । आफू त स्वरोजगार बनेकी छिन् नै साथै अन्य महिलाहरूलाई पनि रोजगार बनाएकी छिन् ।

गत वर्षको कुरो हो, सुमनाको हातमा कुनै जागिर थिएन् । न त कुनै उद्यम नै । तर उनमा चेतना थियो, सकुन्जेल केही न केही त गर्नैपर्छ । तर गर्ने के ? फेरि पनि जागिरकै खोजीमा निक्लने ? नोकरी नै गर्ने ? यस्ता प्रश्नमा उनको मन कतै अल्झिएको थियो ।

फेरि पनि जागिरमै अल्झिने सुमनामा मन भएन । तर गर्ने के ? भन्ने प्रश्नले उनलाई एउटा मोडमा लगेर उभ्याइदियो, जहाँबाट सुरु भयो फाइनलाइन पेन्सिल उद्योगको कथा ।

कथा युट्युवबाट सुरु हुन्छ । घरमा रहँदाको बचेको समय टिभीले खान्छ । युट्युबले खान्छ । तर कहिलेकहीँ कस्तो भइदिन्छ भने उही बचेको समय खेर गइरहेको भान परिरहँदा पनि केही गजब्ब भइदिन्छ । त्यस्तै गज्जबको कुरा भयो सुमनासँग पनि । उनी भिडियो हेर्दै थिइन्, जहाँ पेन्सिल बनाउने तयारी सिकाउँदै थिइन् एक चाइनिज महिला । उनलाई भिडियो गज्जब लाग्यो । भिडियोभन्दा गजब्ब लाग्यो त्यो पेन्सिल बनाउने कला । उनलाई लाग्यो– ‘यति त म पनि घरमै बसेर गर्न सकिहाल्छु नि !’

भनिन्छ, कुनै पनि काम गर्न सक्छु भनेर ठान्नु भनेको आधा काम फत्ते गर्नु बराबर हो । बाँकी आधा भने व्यक्तिको लगनशीलता र निरन्तरतामा भर पर्ने कुरा हो । सुमनामा लगनशीलता र निरन्तर लाग्ने अठोटमा कुनै कमी थिएन ।

उनी भिडियोमा मात्र अल्झिरहिनन् । उनलाई त आफ्नो सोचलाई निरन्तरता दिनुथियो । निरन्तरतास्वरूप यस विषयमा जानकारहरूसँग सल्लाह गरिन र आवश्यक जानकारी तथा ज्ञानको संकलन गरिन् । उनको यो सोचलाई साकार पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथीभाइले भरपूर सहयोग गरे । अन्ततः उनले आफ्नै घरमा पेन्सिल बनाउनका लागि आवश्यक मेसिन र लिडहरू ल्याउन सफल भइन् ।

सुरुको खर्चको बारेमा बोल्दै सुमना भन्छिन्, ‘तीन मेसिन, लिड र अन्य स्रोतहरूको सम्पूर्ण खर्चले तीस लाख नाघ्यो । जुन मैले सोचेभन्दा धेरै ठूलो रकम थियो । सबैभन्दा ठूलो कुरा त सोच नै रहेछ ।’

औपचारिक रूपमा गत फागुनबाट फाइन लाइनको पेन्सिल उत्पादनको यात्रा सुरु भयो । तर यस सम्बन्धी ज्ञानको उनमा कमी थियो । सुरुका दिनहरूमा त अधिकांश पेन्सिलहरू बिग्रिए, लिडहरू खेर गए । तर समयक्रमसँगै त्यसमा सुधार आयो । जसका त्रुटिहरू अहिलेका अवस्थामा ९० प्रतिशतले न्यूनीकरण भएको उनै सुमना जानकारी दिन्छिन् ।

 

थोरै पेन्सिलका कुराः

सुमनाको कोठाबाट निर्मित पेन्सिलहरू फरक किसिमका छन् । हामीले सामान्य प्रयोगमा ल्याउने पेन्सिलभन्दा त बिल्कुल फरक ।

के छ त फरक ?

 अहिलेको विश्वको प्रमुख मुद्दामध्येको एक हो– पर्यावरण । हो, फाइन लाइनका पेन्सिलहरू वातावरण मैत्री रहेका छन् । यसमा काठको प्रयोग हुँदैन । यानिकि रुखविरुवाको संरक्षणमा सानै सही, यसको भूमिका रहन्छ ।

अब प्रयोगचाहिँ के को हुन्छ त ?

फाइन लाइनका पेन्सिलहरूमा ती वस्तुहरूको प्रयोग गरिन्छ जो हामी एक पटक प्रयोगमा ल्याएपछि फल्न बाध्य हुन्छौँ र त्यसले पर्यावरणलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा असर पुर्याउँछ । हो, विशेषतः फाइन लाइनका पेन्सिलहरूमा काठको ठाउँमा पेपरको प्रयोग गरिन्छ । एक पटक प्रयोगमा आइसकेका पेपर, पत्रपत्रिका आदि ।

बजार कहाँ ?

 मुख्यत: तीन प्रकारका पेन्सिल उत्पादन हुन्छन् फाइन लाइन पेन्सिल उद्योगबाट । सादालोक्ता र भेल्भेट ।

तुलनात्मक रूपमा सादाभन्दा भेल्भेट  र भेल्भेटभन्दा लोक्ताबाट निर्मित पेन्सिल महँगो हुन्छ । जसअनुसार यसको बजार पनि फरक भएको बताउँछिन् सुमना । सादा र भेल्भेट पेन्सिलहरू स्कुलहरूमा जान्छन् । फाइन लाइनकै पेन्सिल चलाउने मन्टेस्वरी तथा स्कुलहरूको संख्या बढ्दो छ । त्यस्तै लोक्ताका पेन्सिलहरू भने विशेषतः आकर्षक प्याकिङका साथ ठमेल पुग्छन् । यसरी हेर्दा सामान्य प्रयोगमा ल्याइने पेन्सिलभन्दा सस्तादेखि तीभन्दा धेरै महँगा पेन्सिलहरूको उत्पादन गर्छ फाइन लाइनले । जसको मूल्यअनुसारको बजार पनि फरक छ ।

फाइन लाइन घरेलु उद्यमशीलताको एउटा नमूना हो । र, सुमना न्यौपाने एक बिम्ब । सुमनाले कागजको पेन्सिल बनाउने घरेलु उद्योगको माध्यमबाट ८ जनालाई पूर्ण र आंशिक रूपका रोजगारी दिलाइरहेकी पनि छिन् । उनी जागिरे मानसिकताबाट बाहिर निस्किएर एउटा समृद्धिको बाटोमा केही पाइला हिँडिसकेकी बिम्ब हुन् ।

तस्विर: आशिष मिश्र

साभार ः एभरेष्ट टक

 

सम्बन्धित खवर