सप्तकोशीमा नियमित पानीजहाज चलाइने - JamarkoOnline

सप्तकोशीमा नियमित पानीजहाज चलाइने

सुनसरी, २७ मंसिर
नेपालकै सवैभन्दा ठूलो नदी सप्तकोशी तथा यसका सहायक नदीहरु अरुण र दुधकोशीमा नियमित पानी जहाज संचालन गर्न सरकारी तबरबाट निर्णय भएको छ ।
जलमार्ग संचालन गर्न आवश्यक पूर्वाधार निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत नेपाल पानीजहाज कार्यालयमा सरोकारवालाहरु बीच त्यस्तो निर्णय भएको छ ।
छलफलका क्रममा तत्काल काम शुरु गर्ने गरी चतराघाट–तुम्लिङटार र दोलालघाटसम्म नै सहज जलमार्ग बनाउने सहितका महत्वपूर्ण निर्णयहरु भएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । त्यसका लागि तत्काल जहाँजहाँ समस्या देखिएका छन् ती ठाउँको सर्भे गरी ढुंगा फुटाउने, पानी एकीकृत गर्ने गरी यथासीघ्र काम शुरु गरिने उनले जानकारी गराए ।
पहिलो चरणमा बराहक्षेत्र, त्रिवेणी, माइबेनी, हलेदे, पखालेखोला, मचुवापुलसम्म र दुधकोसीतर्फ चुवार, भसुवा, रानीटारसम्मको मार्गमा काम गरिने जनाइएको छ ।
प्राविधिकलाई तत्कालै सम्बन्धित ठाउँमा पुगेर तुरुन्तै डिजाईन स्टिमेट तयार गरी नदीहरुमा पानीको सतह बढ्नु अगाडि नै उल्लेखित कामहरु सम्पन्न गरिने सहमति भएको छ ।
तीन करोड रुपैँया लाग्ने अनुमान गरिएको उक्त काम आगामी माघ दोस्रो हप्ताभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको अध्यक्ष राईको भनाई छ । उक्त कार्य सम्पन्न भएमा आन्तरिक एवं बाह्य पर्यटकहरु भित्रिने र यात्रुहरुलाई समेत सहज हुने बराहक्षेत्र धामका सहायक प्रहरी निरीक्षक भिमबहादुर भुजेलले अथ्र्याए ।

सम्बन्धित खवर