सृजना क्षेत्रको विकासमा अघि बढ्ने ः नगर प्रमुख राई - JamarkoOnline

सृजना क्षेत्रको विकासमा अघि बढ्ने ः नगर प्रमुख राई

पथरी शनिश्चरे, ७ मंसिर
मोरङको पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले नगर क्षेत्रको कला र साहित्यको विकासका लागि नगरपालिका कार्यालयले सहयोग पुर्याउने वताएका छन् ।
एभरेष्ट आर्ट फ्यूजनको मुख्य र सीएम कन्दङ्वा स्मृति कोषको सहआयोजनामा आज सञ्चालित सृजना चौतारी कार्यक्रमको १४ औं श्रृंखलाको उद्घाटनका क्रममा प्रमुख अतिथि नगर प्रमुख राईले सो कुरा बताएका हुन् ।
उनले बरिष्ठ चित्रकार एवम् कला समीक्षक मुकेश मल्ललाई सम्मानपत्रले सम्मानित समेत गरेपछि नगर क्षेत्रमा बढेको कला क्षेत्रको वातावरणको प्रशंसा गर्दै नगरलाई सृजनात्मक बनाउने कुरामा आफ्नो सधैं साथ रहने जनाएका थिए ।

कार्यक्रममा, नगरका पुराना लोक गायक वीरध्वज शिवाले गीत, दमक झापाका प्रकाश आङ्देम्बे र पथरीशनिश्चरेका भूपेन्द्रराज तिम्सिनाले गजल, बेलबारीकी ढाकाकुमारी पराजुली र पथरीशनिश्चरेका रोहित पराईले प्रभावकारी रुपमा कविता प्रस्तुत गरेका थिए ।
नगर प्रमुख राई तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी सदस्य सरोजा खड्गी सहितले ५ जना प्रस्तोता तथा वडा नम्वर ३ को पाथीभरा भजन किर्तन मण्डली र पिपलचोक संगीनी समूह एवम् त्यसका अगुवाहरुलाई सम्मानपत्रले सम्मानित गरेका छन् । साथै एभरेष्ट आर्ट फ्यूजनले यस वर्ष संचालन गरेको सृजनात्मक देउसी भैलो कार्यक्रममा सहभागिलाई प्रशंसापत्र समेत वितरण गरिएको छ ।
सो कार्यक्रम अघि बरिष्ठ चित्रकार एवम् कला समीक्षक मुकेश मल्लले समसामयिक कलामाथिको परिचर्चा गरेका थिए ।
साथै नगर प्रमुख राईले नगरको वडा नम्बर ८ मा अवस्थित प्रभात सामुदायिक युवा क्लबको रजत महोत्सवको उद्घाटन् गर्दै सृजना क्षेत्रलाई आफुले प्रोत्साहन गर्ने जनाएका थिए । त्यहाँ रचना वाचन सहितका साताव्यापी कार्यक्रम अघि बढेको छ ।

सम्बन्धित खवर