२३ वर्षपछि चिनिया राष्ट्पतिबाट नेपाल भ्रमण, आज नेपाल आइपुग्ने - JamarkoOnline

२३ वर्षपछि चिनिया राष्ट्पतिबाट नेपाल भ्रमण, आज नेपाल आइपुग्ने

काठमाडौं, असोज २५,
२३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङ आज नेपाल आउने भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चिनिया राष्ट्रपति सी आज नेपाल आउँदैछन् । दुई दिने राजकीय भ्रमणका क्रममा सी नेपाल आउन लागेका हुन् । हिजो भारत भ्रमणमा गएका सी आज अपराह्न नेपाल आइपुग्ने कार्यक्रम तय भएको छ । अपराह्न ४ः३० देखि ५ः३० बजेबीच त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्लनेछन् । उनको स्वागतका लागि राष्ट्रपति भण्डारी विमानस्थल जाने कार्यक्रम छ । प्रधानमन्त्री केपी ओली पनि सीको स्वागतका लागि विमानस्थल जाने सम्भावना छ । सीको भ्रमणको सन्दर्भमा राजाधानीलाई सिंगारिएको छ ।
काठमाडौँमा विशेष विमानबाट अवतरण गरी केही क्षणको विश्रामपछि चिनियाँ विशिष्ट पाहुनाले आफ्ना नेपाली समकक्षी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिको सम्मानमा आज नै राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ । भोलि राष्ट्रपति सीसँग प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले शिष्टाचार भेट गर्नेछन् ।

भोली बिहानैदेखि चिनियाँ विशिष्ट अतिथि सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति सीको भ्रमणलाई केन्द्रमा राखेर नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीद्वारा सुरक्षा व्यवस्था कडा पारिएको छ । विमानस्थलदेखि सोल्टी होटल र त्यहाँदेखि राष्ट्रपति कार्यालयसम्मको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्नुका साथै अग्ला घरहरूमा शुक्रबारदेखि नै सुरक्षाकर्मी तैनाथ गरिएको छ । सीको सवारीका बेला हेलिकोप्टरबाट समेत गस्ती गरिनेछ । राष्ट्रपति भण्डारीसँगको भेटघाटबाहेक सीका सबै कार्यक्रम होटल सोल्टीमा हुनेछन् ।

चिनियाँ राष्ट्रप्रमुखको नेपाल भ्रमण २३ वर्षपछि हुन लागेको हो । सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेका थिए । राष्ट्रपति सी विमानस्थलबाट सिधै सोल्टी होटल पुगेर केही समय आराम गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतलनिवास जानेछन् । भेटवार्ता साँझ ६ः३० का लागि तय गरिएको छ । भेटमा दुई देशीबीचको सम्बन्ध विस्तारका विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि राष्ट्रपति भण्डारीले होटल सोल्टीमा आयोजना गर्ने रात्रिभोजमा चिनियाँ राष्ट्रपति सी सहभागी हुनेछन् ।

नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति सीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षमध्येका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

सम्बन्धित खवर