श्रीमानले गरे श्रीमतीको काज किरिया - JamarkoOnline

श्रीमानले गरे श्रीमतीको काज किरिया

झापा, ६ असोज
हिन्दू परम्परा अनुसार श्रीमतीको निधन हुँदा श्रीमानले काज किरिया (दशगात्र कर्म) गर्नु पर्दैन भन्ने मान्यता भएपनि झापाको कनकाईमा भनें श्रीमानले श्रीमतीको काज किरिया गरेका छन् ।
कन्काई नगरपालिका – ५ टेक्रा निवासी ३७ वर्षीया अमृता पाठकको भदौ २७ गते निधन भएपछि उनका श्रीमान् दीर्घराज पाठक अहिले अमृताको दशगात्र कर्ममा रहेका छन् ।
उनीसँगै अमृताकी एक छोरी अंकिता र जेठानी दिदी तुलसा पनि दशगात्र कार्यमा सरिक भएका छन् ।अमृताको निधनपछि उहाँका जेठाजु डेगराज पाठक दशगात्र कार्यमा बस्ने तयारी भएपनि श्रीमतीको मायाकै कारण आफू दशगात्र कर्ममा बसेको दीर्घराजले वताए । १२ वर्षीय छोरो अभिषेकको उपनयन नभएका कारण आफैं श्रीमतीको दशगात्र कार्यमा बसेको उनले जनाए ।
श्रीमतीको दशगात्र कार्यमा बसेर दीर्घराजले समाजमा समानताको उदाहरणीय कार्य गरेको स्थानीय गोविन्दबहादुर कार्कीले उल्लेख गरेका छन् । यता वैदिक सनातन धर्म संरक्षण समितिका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले श्रीमतीको काजकिरिया श्रीमानले गर्दा हिन्दूशास्त्रमा कुनै बाधा नहुने तथा दशगात्रको सम्पूर्ण कार्य सफल हुने तर्क अघि सारेको कुरा ‘हाम्रो तोगाछी’ले उल्लेख गरेको छ ।

सम्बन्धित खवर