यूएन र लुथरनबाट सिमसार अवलोकन - JamarkoOnline

यूएन र लुथरनबाट सिमसार अवलोकन

पथरीशनिश्चरे, २ साउन
राष्ट्संघीय ह्याविट्याट र लुथरन विश्व फेडेरेशन्का नेपालका उच्च अधिकारीहरुले मोरङको पथरीशनिश्चरे नगर क्षेत्रको भित्रको सिमसारयुक्त पर्यटनको सम्भावना अवलोकन गरेका छन् ।
राष्ट्संघीय ह्याविट्याटका नेपाल प्रवन्धक पद्मसुन्दर जोशी र लुथरन विश्व फेडेरेशन्का नेपाल निर्देशक डा. प्रविण मानन्धर सहितको टोलीले आज वडा नम्वर १ को शान्ति भूल्के सिमसार क्षेत्रको अवलोकन गरेको हो । टोलीले सिमसारयुक्त पर्यटनको सम्भावना रहेको वताएको छ ।
नगर प्रमुख दिलिपकुमार राईले नगरको वन तथा सिमसारयुक्त पर्यटनको सम्भावना प्रचुर रहेको जनाउँदै त्यसको प्रवद्र्धनमा दातृ निकायहरुले सहयोग पुर्याउने अपेक्षा व्यक्त गर्दै सिमसार क्षेत्रको अवलोकन गराए । नगरका प्रमुख प्रशासकीय अधिकृत अम्विकाप्रसाद धमला, नगर प्रवक्ता यामप्रसाद गुरागाईं, स्वास्थ्य संयोजक मुरारी आचार्य सहितका नगरका अधिकारीहसँग भेटघाट गरेका छन् । नगरमा रहेका धार्मिक सहितका ९ वटा सामुदायिक वन क्षेत्र सहित १ दर्जन सिमसार पोखरीहरु निर्माण भइसकेका छन् ।
झापाको दमक नगरपालिका, राष्ट्संघीय ह्याविट्याट र लुथरनले संयुक्त रुपमा दमकमा आयोजना गरेको तालिममा आएको बेला पथरीशनिश्चरेमा सिमसार संरक्षणमा नगरको प्रयास वुझ्न टोली यता आएको हो ।
पथरीशनिश्चरे जैविक विविधतामा धनी ः
सैलुङ ग्रिन सोसाइटी प्रालि काठमाडौंले जैविक विविधता अध्ययन तथा संरक्षण समाजको प्राविधिक सहयोगमा २ महिनाको अध्ययनबाट नगरको जैविक विविधताको नयाँ तथ्य फेला परेको छ ।
नगर क्षेत्रका ९ वटा सामुदायिक वन क्षेत्रको १ हजार १ सय ५० हेक्टर क्षेत्रको भूभागका साथै कृषियोग्य जमिनका केही ठाउँमा समेत अध्ययन भयो । त्यसमा ६ वटा जीव समूहलाई अध्ययनको विषय वस्तु वनाइयो । कोशीटप्पु पूर्वतर्फको भूभागमा यसप्रकारको फरक फरक जीव समूहको एकमुष्ठ पहिलो अध्ययनका रुपमा यसलाई अघि बढाउँदै पथरीशनिश्चरेको जैविक विविधतामार्फतको पर्यटन प्रवद्र्धनको सम्भावना उज्जवल रहेको गौतमले जनाए । जसमा १४ प्रजातिका उभयचर (भ्यागुता वर्ग) फेला परेको र मोरङका लागि त ५ प्रजातिका नौला भ्यागुता भेटिएको उनले वताए । त्यसमा पनि ३ प्रजातिका भ्यागुता नेपालकै नयाँ प्रजाति भएको पुष्टि नजिक पुगको उनले उल्लेख गरेका छन् ।
नगरमा जनप्रतिनिधि तथा वन संरक्षण अभियन्ताहरुमाझ अध्ययन सार्वजनिक गर्दै नगर क्षेत्रमा १ सय १२ प्रजातिका पंक्षी, २६ प्रजातिका पुतली, १८ प्रजातिका माछा र १७ प्रजातिका स्तनधारी फेला परेको तथ्यांक ल्याइएको छ । २६ प्रजातिका सरिसृप (घस्रने) मा ४ प्रजातिका भित्ती, १५ प्रजातिका सर्पमा ५ प्रजातिका विषालु, २ प्रजातिका कछुवा, २ प्रजातिको गोहोरो, ३ प्रजातिको भालेमुङ्ग्रो फेला पर्यो । यहाँ पनि पाइएको भित्ती वर्गमा पर्ने रुखको टोड्कामा बस्ने टोक्के त पूर्वी तराईमा मात्र पाइन्छ ।
१७ प्रजातिका स्तनधारी पाइएको छ । त्यसमा सवैभन्दा बढी चित्तल देखा पर्यो । अति संकटमा रहेको सालक पनि फेला परेको छ । लेटाङको सिमानातर्फ भालु समेत भेटिएको दावी छ । नेपालको यही क्षेत्रमा मात्र पाइने भनिएको पुड्के वँदेलको भनें थप अध्ययन गर्नुपर्ने भएको छ । वन र सिमसारयुक्त क्षेत्र भएकाले चराहरुको पक्ष निकै राम्रो देखिएको छ । हाँडिफोर, गरुढ, ब्राउन फिस अउल जस्ता लोपोन्मुख र महत्वका चराहरु यहाँ फेला परेका छन् । वनमा चोरी शिकारी रोक्नु पर्ने तथा जैविक विविधतालाई जोगाउन दुरगामी नीति आवश्यक पर्ने अध्ययन टोलीको सुझाव छ ।

सम्बन्धित खवर