नयाँ वर्षदेखि पाथीभरामा केबलकार निर्माण थालिने - JamarkoOnline

नयाँ वर्षदेखि पाथीभरामा केबलकार निर्माण थालिने

ताप्लेजुङ, २० चैत
ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सहजताका लागि आगामी नयाँ वर्षदेखि नै केबलकार निर्माणको थालनी हुने भएको छ ।
पाथीभरा माता देवी दर्शन केवलकार प्रालिले आगामी २०७६ सालदेखि नै निर्माणको कार्य थालनी गर्ने टुंगो लागेको हो ।
केबलकार निर्माणका लागि पाथीभरा माता देवी दर्शन केबलकार प्रालि र त्रिवेणी केबलकार प्रालिले टेण्डर प्रतिस्पर्धा गरिरहेका थिए ।
‘केही दिन अघि मात्रै दुई कम्पनीबीचको विवाद टुङ्गिएको छ, अब आउने नयाँ वर्षदेखि नै काम शुरु गर्ने तयारी छ’, पाथीभरा माता देवी दर्शन केबलकार प्रालिका कार्यकारी निर्देशक ईश्वरी पौडेलले वताए ।
त्रिवेणीका प्रबन्ध निर्देशक सुवास साङ्घाईले आफ्नो कम्पनी निर्माणका लागि नआउने जानकारी दिएर हात झिकेपछि पाभीभरा प्रालिले काम पाउने टुंगो लाग्न पुग्यो । पछिल्लो पटक पाथीभरा माता देवी दर्शन केबलकार प्रालिविरुद्ध अदालतसम्म पुगेको मुद्दा त्रिवेणीले फिर्ता लिएर पाथीभरामा केबलकार निर्माणबाट अलग्गिएको हो ।
गत जेठमा फुङलिङ नगरपालिकाको बैठकले पाथीभरा माता देवी दर्शन प्रालिलाई निर्माणका लागि अनुमति दिने निर्णय गरेको थियो ।
केबलकार अनुमतिसम्बन्धी कार्यविधि पारित गरेको नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (६) बमोजिम अनुमति दिएको उल्लेख गरेको छ । कार्यविधिका आधारमा नगरपालिकाले ११ लाख रुपैयाँ राजस्व समेत लिएको बताइएको छ ।
यस्तै, मन्त्री परिषदको बैठकले समेत पाथीभरा माता देवी दर्शन केबलकार प्रालिलाई केबलकार निर्माण हुने क्षेत्रको सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

सम्बन्धित खवर