सप्तकोसीमा सरकारले नै पानी जहाज चलाउने - JamarkoOnline

सप्तकोसीमा सरकारले नै पानी जहाज चलाउने

पथरीशनिश्चरे, २० माघ
सरकारले कोसी व्यारेजदेखि भारतको कोलकातासम्म पानीजहाज यातायात सञ्चालनका लागि छलफल अघि बढाएको छ ।
सप्तकोसीमा पानीजहाज चलाउन जहाज खरिद गर्ने र कार्यालय स्थापना गर्ने निर्णय भएको तथा कोसी ब्यारेजदेखि–कोलकातासम्म पानीजहाज चलाउने तयारीका लागि नेपालले भारत सरकारसँग छलफल गरिरहेको छ ।
जस अन्तर्गत, पानी जहाज चलाउन आवश्यक तयारीबारे आज प्रधानमन्त्री कार्यालयमा सरोकारवाला निकायबीच छलफल भएको छ । पानीजहाज चलाउन आवश्यक तयारी र सहकार्य–संयोजनबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रधानमन्त्री कार्यालयका सचिवहरू र सरोकारवाला मन्त्रालयका प्रतिनिधिबिच प्रस्तुति दिएको हो । छलफलमा प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिर ढुंगाना र दीपेन्द्रनाथ शर्मा, सरोकारवाला मन्त्रालयहरू भौतिक, पूर्वाधार तथा यातायात, सङ्घीय मामिला, अर्थ, ऊर्जा, जलश्रोत र सिँचाइ तथा परराष्ट्र मन्त्रालयका सहसचिवहरू सहभागी भएका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको योजना र अनुगमन महाशाखा प्रमुख तथा प्रवक्ता मधुकुमार मरासिनीले पानीजहाज चलाउन तत्काल गर्नुपर्ने काम र जिम्मेवारीबारे प्रस्तुति दिएका थिए ।
यता, १ नम्वरको प्रदेश सरकारले नीति तथा कार्यक्रममा कोसीटप्पु, बर्जुताल, तालतलैया इटहरी, वराह क्षेत्र, रामधुनी, विष्णुपादुका, बुढासुब्बा, पिण्डेश्वरी क्षेत्रलाई बराह विजयपुर सर्किट तथा हलेसी छिन्ताङ, बराहपोखरी, साल्पापोखरी, मनकामना, माईपोखरी र पाथीभरा क्षेत्रलाई शक्तिपीठ सर्किटका रूपमा विकास गर्ने प्रस्ताव अघि सारेको छ । सरकारले चतरा–किमाथांका र चतरा–सुनकोसी जलमार्ग सञ्चालनको सम्भाव्यता अध्ययन गर्न नीति तथा कार्यक्रममा समावेश गरी डिपिआरका लागि बजेटसमेत छुट्याएको पर्यटन मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले अरुण तथा तमोर, कोसीमा पानीको क्षेत्र विस्तार गरे प्रसिद्ध तीर्थस्थल, हलेसी, धनकुटाको छिन्ताङ देवी, ताप्लेजुङको पाथीभरा जलमार्गबाट यात्रा गर्न सकिने सम्भावना रहेको महसुस गर्र्दैछ ।
जल यातायातको मनोरम ठाउँ देखेपछि कोसी नदीमा विभिन्न कम्पनीले धमाधम मिनी पानीजहाज ल्याएर यातायात सेवा सञ्चालन गर्दै पर्यटकलाई आकर्षित गरिरहेका छन् । एक वर्ष अघिदेखि नेपाल रिभर ट्रान्सपोर्ट कम्पनीले कोसी नदीमा व्यावसायिक बोट सञ्चालन सुरु गरेको थियो । सप्तकोसीको चतरा पूर्वक्षेत्रका विभिन्न जिल्लामा जाने मिनी पानीजहाज र जेटबोटको पार्किङस्थल बनेको छ । चतराबाट दूधकोसी हुँदै जरायोघाट, अरुण हुँदै तुम्लिङटार र तमोर हुँदै मूलघाटसम्मको यात्रा सहज बनाउन चारवटा सुविधासम्पन्न मिनी पानीजहाज सञ्चालनमा ल्याइएको छ । सवैभन्दा ठूलो एक सयजना यात्रु बोक्ने शौचालयसहितको सिसा भएको सिटमा पानी नपस्ने अत्याधुनिक सुविधासहितको पानी जहाज पनि त्यहाँ छ । बराह क्षेत्र मरिन एन्ड रिसोर्टस् प्रालिले सो सहित अर्काे २५ सिटे जहाज भित्र्याएको छ । कम्पनीले अब थप चारवटा जहाज पनि ल्याउने तयारी गरेको त्यसका सञ्चालक नविन पौडेलले बताए । करिब आठ करोड १२ लाख रुपैयाँमा जहाज ल्याइएको छ । यसको पोर्ट चतरामा निर्धारण गरिएको छ ।
धरानबाट २५ मिनेटमा पुगिने चतराबाट १० किलोमिटर हाराहारीको सिम्ले पानी जहाजबाट पाँच मिनेटमै पुग्न सकिन्छ ।
उच्च पहाडी क्षेत्रमा यातायात सञ्चालनका लागि १० सिटे दुईवटा जेटबोट ल्याउने तयारी भएको छ । पूरै कभर भएको भित्रैबाट अगाडिको १० मिटरसम्म बाटोको अवस्था जानकारी पाइने मेसिन सो जेटबोटमा जडान गरिने छ । सरकारले दूधकोसी हुँदै दोलालघाट, अरुण हुँदै तुम्लिङटार र तमोर हुँदै पाथीभरासम्मको नदीको बाटोमा हुने अवरोध क्लियर गरे यी १० सिटे जहाज लान सकिने प्रालिको ठहर छ । त्यहाँको जलयात्रा निकै आनन्द लिने अनुभव संगाल्दै मोरङको पथरीशनिश्चरेस्थित पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले त्यसले पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने ठहर गरे ।

सम्बन्धित खवर